भर्खरै :

नेमकिपा केन्द्रीय समितिको बैठक सम्पन्न, आजबाट ३२ औँ परिषद्

भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकले शुक्रबार र शनिबार आयोजित पार्टीको ३२ औँ केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरिने प्रतिवेदन सुझावसहित पारित ग¥यो ।
बैठकमा अध्यक्ष रोहितले नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले आफ्नो महाधिवेशनमा नियोजितरूपमै सिद्धान्त तथा नीतिबारे कुनै छलफल नगराएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि पार्टीको महाधिवेशनमा पार्टीको सिद्धान्त र नीतिबारे बहस हुन्छ । एमाले र नेकाको महाधिवेशनमा कुन व्यक्ति कुन पदमा जाने भन्नेमा मात्र केन्द्रित भयो ।”
नेकपा (एमाले) ले माक्र्सवादको उच्चारणसमेत गर्न नचाहेको उल्लेख गर्दै उहाँले एमालेको महाधिवेशनमा क्रान्ति शान्तिपूर्ण वा सशस्त्र भन्ने वैचारिक बहस हुनुपथ्र्यो, समाजवाद कसरी स्थापना गर्न सकिन्छ भन्नेमा छलफल हुनुपथ्र्याे भन्नुभयो ।
अध्यक्ष रोहितले जनतालाई छक्याएर मत लिनमात्र एमाले र माओवादीले आफ्नो पार्टीको नाममा कम्युनिस्ट राखेको उल्लेख गर्दै भन्नुभयो, “कम्युनिस्ट पार्टीमा व्यक्तिवाद वा पुँजीवादलाई प्रश्रय दिइन्न ।”
उहाँले प्रजातन्त्रको नाममा संरा अमेरिकाले छुट्टै सङ्गठन बनाउन खोजेको र विश्वका विभिन्न देश साम्राज्यवादविरोधी खेमामा नजाओस् भनी संरा अमेरिकाले प्रजातन्त्रको सम्मेलन गरेको तर्क गर्नुभयो । उहाँले प्रजातन्त्रको नाममा ्््््््््््््कम्युनिस्ट र कम्युनिस्टविरोधी छुट्याउन खोज्नु गलत भएको भन्दै कम्युनिस्टहरू झन् प्रजातन्त्रवादी हुन्छन् भन्नुभयो ।
अध्यक्ष रोहितले संरा अमेरिका ठूलो प्रजातान्त्रिक देश र त्यहाँको जीवनपद्धति राम्रो भन्ने भ्रम हुनु राजनीतिक अन्धविश्वास भएको उल्लेख गर्दै भन्नुभयो, “संरा अमेरिकाबारे आलोचनात्मक दृष्टिकोण आवश्यक छ ।”

उहाँले भन्नुभयो, “नेमकिपाका कार्यकर्ताले अरूले नगरेको राम्रो काम गर्ने हो । गाउँगाउँमा सफाइ आन्दोलन सञ्चालन गर्नुपर्छ, जनतालाई शिक्षित पारी सांस्कृतिक परिवर्तन ल्याउनु आवश्यक छ ।”
कार्यकर्ताले महिलाका सुख र दुःखको विषयमा चिन्तनमनन गर्नुपर्ने भन्दै अध्यक्ष रोहितले संसदीय समितिका कतिपय महिला पदाधिकारी योग्य नभएको बताउनुभयो । उहाँले बुद्धिजीवीले आफ्नो ज्ञान र अनुभव कार्यकर्ता र जनतासम्म पु¥याउनुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “विद्यालयको काम कुनै कार्यालयको निम्ति कर्मचारी तयार गर्नेमात्र होइन । हप्ता वा महिनामा कक्षा सञ्चालन गरी क्रान्तिकारी नेताहरूबारे विद्यार्थीलाई बताउनु आवश्यक छ ।”
राणा शासनमा सामन्तहरू चाकडीमा गएजस्तै एमाले तथा नेकाका युवा नेताहरू ओली र देउवाकहाँ चाकडी गएको उल्लेख गर्दै अध्यक्ष रोहितले युवाहरू योग्य हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अयोग्यबाट राम्रो काम हुँदैन । योग्य मानिस उपयुक्त स्थानमा हुनुपर्छ । कमजोर मानिसले हिनताबोध गर्छ । आफू योग्य भए अरूको अन्ध समर्थन गर्ने भावना नै हुन्न ।” अध्यक्ष रोहितले निर्वाचन जित्न गुण्डा र डन पाल्नेले राजनीतिलाई फोहर बनाएको धारणा राख्नुभयो ।
बैठकमा नेमकिपाका सचिव प्रेम सुवालले पार्टीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *