भर्खरै :

हङकङमा संसदीय चुनाव

हङकङ, १९ डिसेम्बर । चीनको हङकङ विशेष प्रशासकीय क्षेत्रको सातौँ व्यवस्थापिका परिषद्को चुनाव आइतबार भयो । हङकङ विशेष प्रशासकीय क्षेत्रको चुनावी प्रणालीमा भएको सुधारपछि भएको यो पहिलो निर्वाचन हो ।
बिहान ८ः३० बजे ६ सत्र्न्दा बढी मतदान केन्द्रमा सुरु भएको मतदान प्रक्रियामा सहभागी बन्न ४५ लाख मतदाताले आफ्नो नाम दर्ता गराएका छन् ।
हङकङको सातौँ व्यवस्थापिकामा सदस्य सङ्ख्या ७० बाट ९० मा बढाइएको छ । नयाँ व्यवस्थाअनुसार निर्वाचन समिति क्षेत्र (इलेक्सन कमिटी कन्स्टिचुएन्सी) बाट ४० जना, कार्यक्षेत्र (फङ्सनल) निर्वाचन क्षेत्रबाट ३० जना र भौगोलिक (जियोग्राफिक) निर्वाचन क्षेत्रबाट २० जना व्यवस्थापिका सांसद निर्वाचित हुनेछन् ।
निर्वाचन समिति क्षेत्रको चालीस स्थानको लागि ५१ जना व्यक्तिले कार्यक्षेत्र निर्वाचन क्षेत्रका ३० स्थानको लागि ६७ जना उम्मेदवार र भौगोलिक २० स्थानको लागि ३५ जना उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
हङकङ विशेष प्रशासकीय क्षेत्रका प्रमुख कार्यकारीले क्यारी लेमले आइतबार बिहान ९ बजे रैमोन्डी कलेजस्थित मतदान केन्द्रमा मतदान गरेका थिए ।
लेमले दुई वर्षअघि जिल्ला परिषद् निर्वाचनमा रैमोन्डी कलेजको मतदान केन्द्रमै आफ्ना श्रीमानसँग मतदान गरेको स्मरण गर्दै त्यत्तिबेला मतदाताहरू मतदान गर्न व्यक्तिगत सुरक्षालाई लिएर डराएको र उम्मेदवारहरूलाई धम्क्याइएको बताइन् ।
त्यसको तुलनामा आइतबार भएको निर्वाचनमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको र सार्वजनिक यातायात पनि बेरोकतोक सुचारु रहनु उत्साहजनक रहेको प्रमुख कार्यकारीले बताइन् ।
कार्यकारी प्रमुखको हैसियतमा लेमले आफू र आफ्ना सहकर्मीहरूले नयाँ निर्वाचित हुने व्यवस्थापिका सदस्यहरूसँग सहकार्य गर्ने र उनीहरूको धारणा गम्भीरतापूर्वक सुन्ने बताइन् । त्यसले हङकङ सरकारमा जनमत अभिव्यक्त हुनुका साथै हङकङको सुन्दर भविष्य स्थापनाको निम्ति मद्दत पुग्ने विश्वास गरिन् ।
हङकङको चुनावमा झन्डै ६३० वटा साधारण मतदान केन्द्र र २४ भन्दा बढी विशेष मतदान केन्द्र स्थापना गरिएको थियो । कोभिड–१९ को कारण सीमा क्षेत्रमा लागु गरिएको कडाइका कारण सीमा क्षेत्रका चौकीमा पनि मतदान केन्द्र बनाइएको थियो । चिनियाँ मूलभूमिमा बस्दै आएका हङकङका मतदाताले मतदानको निम्ति केही समय हङकङ प्रवेश गरेका थिए ।
निर्वाचनबाट निर्वाचित हुने व्यवस्थापिकाको कार्यकाल चार वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *