भर्खरै :

एमसीसीबारे तीन थरी राजनीतिक शक्ति

नेपालका कुन राजनीतिक दल नेपाली जनता र नेपालको हित चाहन्छन् र चाहँदैनन् भन्ने कुराको निर्धारण गर्ने मापदण्ड कम्तीमा आजको परिस्थितिमा त्यो दलले एमसीसी सम्झौताको पक्ष लिन्छ वा लिँदैन भन्ने हो । एमसीसी सम्झौताबारे बहस यो बिन्दुसम्म आइपुग्दा कम्तीमा अब नेपाली जनता द्विविधामा नपरून्–जसले एमसीसीको समर्थन गरिरहेका छन्, ती दलहरू नेपाली जनता र नेपालको हितमा छैनन् । जसले एमसीसीको विरोधमा बोल्दै, लेख्दै, नारा लगाउँदै र सारमा राज्यसँग लड्दै छन्, उनीहरूले नेपाली जनता र नेपालको हित चाहेका छन् । अनि जसले बीचको बाटोमा बसेर अलमलिरहेका छन्, उनीहरूले नेपाली जनता र नेपाललाई अझ ठूलो धोखा दिने तरखर गरिरहेका छन् ।
आइतबार बसेको सर्वदलीय बैठकमा नेकाँ, जनता समाजवादी दलले एमसीसी पारित गर्नुपर्ने जिकिर गरे । खासमा नेपाली जनतालाई सुइँको पनि नदिई वाशिङ्टन पुगेर देशहितविपरीतको एमसीसी सम्झौता गर्ने अगुवाइ गर्ने दलहरू नेकाँ र तत्कालीन माओवादी नेता बाबुराम भट्टराई हुन् । नेपालको सार्वभौमिकतासँग प्रत्यक्ष सरोकार राख्ने सम्झौता गर्न नेपाली जनताको अभिमत पनि बुझ्न आवश्यक नठानी राणाका भारदारहरूले जस्तै विदेशीहरूसँग सम्झौता गर्ने यी दलका नेताहरू देश र जनताको भलाइको पक्षमा छैनन् ।
सर्वदलीय बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘अहिलेकै अवस्थामा सम्झौता पारित गर्न नसकिने’ भन्दै संशोधन गरेर पारित गर्न सकिने बाटो देखाएका छन् । जुन सम्झौताको मुल आन्तर्य र भित्री मनसाय नै नेपाली जनताको हितविपरीत छ, त्यो सम्झौतामा केही अल्पविराम र पूर्णविराम संशोधन गरेर के त्यो देशको हितमा हुन सक्छ ? एमसीसी सम्झौताको सबभन्दा खतरनाक र सबैले घातक भन्दै आएको विषय भनेको संसद्बाट पारित गर्नुपर्ने प्रावधान हो । संशोधन गरेर संसद्बाट पारित गर्ने उनीहरूको तर्क आफैमा हाँस्यास्पद छ । त्यसकारण मझधारमा बसेका यी दलहरू माछा आए भित्र हात, सर्प आए बाहिर हातको अवसरवादी दोहोरो मापदण्ड कायम गर्नु उचित होइन । देशको सार्वभौमिकता र जनताको दीर्घकालीन हितसँग सिधा जोडिएको विषयमा यस्तो दोहोरो चरित्र क्षम्य हुन सक्दैन । सत्ता जोगाउने लोभमा देशलाई युगौँ युग साम्राज्यवादको दासतामा पिस्ने यो सम्झौताप्रति यस्तो दोहोरो मापदण्डलाई इतिहासले कहिल्यै क्षमा गर्न सक्दैन । उनीहरू वास्तवमै देश र जनताको पक्षमा उभिने दल भए एमसीसी सम्झौताको विरोधमा खुलेर आउन जरूरी छ । देश रहे सत्ता फेरि रहला । देश नै नरहे के सरकार, के सत्ता !
एमसीसी सम्झौताको विरोधमा धेरै रङ र विचारधाराका राजनीतिक दलहरू छन् । निःसन्देह उनीहरूबीच अनेकन मतान्तर छ । कति दलहरू मिलेर सङ्घर्षमा उत्रिएको छ । नेपाल मजदुर किसान पार्टीले एक्लै देशभरि एमसीसी सम्झौताको विरोधमा प्रदर्शन र सभा गर्दै आएको छ । वैचारिक र राजनीतिक हिसाबमा मतान्तर र लक्ष्यमा भिन्नता भए पनि एमसीसी सम्झौताको विरोधमा आज उभिएका दलहरूलाई देशभक्त शक्तिको रूपमा बुझ्दा गल्ती हँुदैन । तर, एमसीसीलाई अन्धराष्ट्रवादी आँखाले मात्र बुझेर पुग्दैन । यसको अन्तर्राष्ट्रिय आयाम पनि बुझ्न जरूरी छ । एमसीसी आजको विश्व राजनीतिसँग सिधा जोडिएको मुद्दा हो । त्यसकारण एमसीसी सम्झौताविरोधी सङ्घर्षलाई साम्राज्यवादविरोधी सङ्घर्षसँग जोड्दा मात्र यसले सही बाटो लिएको ठहरिन्छ ।
साम्राज्यवादको विरोध नगर्ने शक्तिहरूले गरेको एमसीसीको विरोध अपूर्ण विरोधमात्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *