भर्खरै :

शासक दलका महाधिवेशन र युवा नेतृत्वको प्रश्न

मङ्सिर महिनामा देशका विभिन्न राजनीतिक पार्टीहरूले आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् । तिनीहरूले महाधिवेशन तयारीका लागि पार्टीका तल्ला निकायहरूदेखि माथिल्लो स्तरका कमिटीहरूको सम्मेलन÷अधिवेशनसमेत गरेका छन् । यसक्रममा दलहरूद्वारा प्रस्तुत पार्टी पद्धतिलाई लिएर दुईवटा कुरा व्यापक मात्रामा चर्चा परिचर्चा र टिकाटिप्पणीको विषय बन्न पुगेका छन् । पहिलो, पार्टीहरूभित्र चरम गुटबन्दी रहेको पाइयो । त्यसैले गुटका नेताहरू महाधिवेशनमा कसरी आफ्ना पक्षधरहरूको बहुमत पु¥याउने र पार्टी नेतृत्व कब्जा गर्ने भन्ने दाऊपेचमा मात्र संलग्न रहेका पाइए । त्यसका निम्ति पार्टीका तल्ला निकायहरू एवम् महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रममा निर्वाचनमा बल प्रयोग, धाँधली र आर्थिक चलखेल गरेर प्रतिनिधि छनौट प्रक्रियालाई प्रभावित गर्ने कार्यसम्म गरेका घटनाहरू देखा परे । सो क्रममा गुटका नेताहरूले आफ्नै पार्टी पङ्क्तिभित्र गरेका कुकृत्यहरूलाई हेर्दा ती आफ्नो पार्टी सञ्चालन गर्ने विषयमा सक्षम र इमानदार रहेको पाइएन । यसरी जुन व्यक्तिले पार्टीसम्म सञ्चालन गर्न सक्दैन, पार्टी पङ्क्तिलाई एकजुट गराएर लैजान सक्दैन, त्यस्ताले कसरी देशको नेतृत्व गर्न सक्ला ? भन्ने प्रश्न उठेको छ ।
दोस्रो, राजनीतिक पार्टीको नेतृत्व चयन गर्दा युवा÷नयाँ पुस्तालाई नेतृत्वको अवसर प्रदान गरिनुपर्दछ भन्ने कुरा समेत जोडदाररूपमा उठेको पाइयो । तर, स्थापित नेतृत्व जुनसुकै माध्यम प्रयोग गरेर भए पनि नेतृत्वमा आफै र आफ्ना पिछलग्गूहरूलाई कायम राख्ने कुरामाभन्दा भिन्न सोचयुक्त रहेको पाइएन ।
जहाँसम्म नयाँ÷युवा नेतृत्वको कुरा छ, निश्चय पनि नेतृत्व चिरस्थायी कुरो होइन । समय र सन्दर्भसँगै नेतृत्वको सोच र व्यवहार अनि पात्रहरूमा परिवर्तन हुनुपर्छ । जड र स्थिर चिन्तन, विदेशीको दलाली एवम् माफियासँगको साँठगाँठ भएको नेतृत्वलाई नयाँ÷युवा नेतृत्वद्वारा विस्थापन गर्नु सकारात्मक कुरो हो । तर, यस प्रसङ्गमा विचारणीय कुरा, नेतृत्व नयाँ÷युवा हुँदा बित्तिकै सकारात्मक हुन्छ भन्ने छैन । नेपालकै सन्दर्भलाई हेरौँ, ०४६ सालको परिवर्तन अघि राजनीति गर्नु सहज थिएन । यसको पछाडि दुईवटा कारणहरू थिए । पहिलो, त्यतिबेला देशमा निर्दलीय पञ्चायती व्यवस्था कायम थियो । त्यसैले संस्थापनभन्दा फरक राजनीतिक विचार बोक्नु भनेको व्यवस्था एवम् राष्ट्रविरोधी हुनु मानिन्थ्यो । त्यतिबेलाका शासकहरू व्यवस्था विरोधीलाई ‘अराष्ट्रिय तत्व’ ठान्दथे । त्यस्तो तत्वलाई सत्तापक्षले दमन गर्दथ्यो । त्यसैले पार्टी नेतृत्वको उच्चकोटीका मान्छे स्व–निर्वासनमा विदेश अझ खासगरी भारतमा बस्ने गर्दथे । उच्च नेतृत्वका बिरलै मान्छेहरू देशभित्र क्रियाशील थिए । ती बाहेक दोस्रो तहको पार्टी नेतृत्वमा रहनेहरू भूमिगतरूपमा जनतामाझ सङ्गठनका लागि क्रियाशील थिए । तेस्रो पङ्क्तिमा युवा–विद्यार्थी हुने गर्दथे । ती मात्रै भूमिगत नेतृत्वको निर्देशनमा खुलारूपमा राजनीतिक गतिविधिमा क्रियाशील हुने गर्दथे । त्यसैले सत्ताद्वारा गरिने दमनको पहिलो निशानामा युवा–विद्यार्थीहरू नै पर्ने गर्दथे । त्यतिबेला सत्ताको प्रहारबाट जोगिँदै राजनीतिसँगै आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनु सहज कुरो थिएन । त्यसैले राजनीतिक पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनको समर्थक सदस्य हुँदाहुँदै पनि खुलारूपमा र अग्रपङ्क्तिमा उभिएर नेतृत्व गर्नेहरूको सङ्ख्या निकै कम थियो । त्यसरी अग्र पङ्क्तिमा उभिएर योगदान पु¥याउनेहरूमध्ये कतिपय पार्टीको सदस्य पनि थिएनन् । त्यस्ता सङ्गठनको कुनै पद वा जिम्मेवारी सुम्पदा स्व–निर्वासित र भूमिगत नेतृत्वको हालिमुहाली चल्ने गर्दथ्यो । उनीहरू आफ्नो नातागोता, त्यस्तो नभए आफ्नो क्षेत्रको र त्यो पनि सम्भव नभए आफूले भनेको मान्ने व्यक्तिलाई नेतृत्व सुम्पन्थे । यसले नेतृत्व चयन गर्ने पद्धति त्यसबेला पनि सही थिएन भन्ने देखाउँछ । तर, पनि के कुरा ठिक थियो भने त्यतिबेला नेतृत्व प्राप्त गर्दाबित्तिकै अहिलेको जस्तो पद, पैसा र सुविधा प्राप्त हुने गर्दैनथ्यो । उल्टै जोखिम सहनुपथ्र्यो । त्यस्तो जटिल अवस्थामा पनि नेतृत्व चयनमा स्वच्छ मूल्याङ्कनको परिपाटी भने कायम थिएन ।
०४६ सालको परिवर्तन पश्चात देशको राजनीतिमा एकातर्फ माक्र्सवादी खेमामा बहुदलीय जनवाद र कथित प्रजातान्त्रिक खेमामा उदारवादजस्ता अवसरवादी प्रवृत्तिहरूले स्थान लिंदै गएर जसले गर्दा सत्ता सञ्चालनसँग सम्बन्धित पार्टीहरू (सत्तापक्ष र प्रतिपक्ष) र ती सँग आबद्ध जनवर्गीय सङ्गठनसँगै पेशागत सङ्गठनमा आबद्ध हुनेहरूले सत्ताको आड र दुरूपयोगबाट भ्रष्टाचार, कमिशनखोरी, जबर्दस्ती चन्दा असुली र लुटलाई प्रश्रय दिंदै गएर फलतः ‘प्रजातन्त्र’ लुटतन्त्रमा परिणत हुनपुग्यो । यसक्रममा अनौठो कुरा, सत्ताकेन्द्रित लुटतन्त्र (संसदीय लुटतन्त्र) को विरोध गर्दै त्यसको अन्त्यका लागि बलप्रयोग (सशस्त्र सङ्घर्ष) को बाटोलाई अनुसरण गर्ने र आफू उक्त अभियानमा संलग्न नरहे तापनि सोही कुरामा जोड दिनेहरूसमेत अन्ततः यो वा त्योरूपमा लुटतन्त्रका हिस्सेदार बन्न पुगेर दलीय नेतृत्वको पिछलग्गू, बनेका युवाहरूले दलहरूको लुटपूर्ण अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै गए । फलतः युवाहरू लुटको संस्कारबाट दिक्षित हुन पुगे । त्यसैले युवा र तिनका अग्रजहरूको सोच र कार्यशैलीमा भिन्नता रहेन ।
०४७ सालको परिवर्तनपछि राजनीतिमा देखा परेको विकृतिमा युवा÷विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहनुका कारणहरूमध्ये एक युवाहरू पार्टी नेतृत्वद्वारा गरिने यावत् गतिविधिहरूमा सहभागी हुनु त हुँदै हो । त्यससँगै उनीहरू स्वयम् पनि आफूसम्बद्ध क्षेत्रमा विकृतिको कारक बन्नु पनि हो । यस तर्कको उदाहरणको रूपमा यतिबेला शिक्षा क्षेत्रमा देखापर्ने विकृतिको मूल श्रोत विद्यार्थी गतिविधि हुने गरेकोलाई लिन सकिन्छ । यसो हुनुको कारण, अब विद्यार्थीहरूका लागि ०४७ सालभन्दा अगाडि जस्तो व्यवस्थाविरुद्ध उत्रँदा जेल जानुपर्ने र यातना भोग्नुपर्ने अवस्था छैन । यदि उनीहरूमा सही सोच हुन्थ्यो भने उनीहरू स्वतन्त्र र निर्भिकरूपमा आफू आबद्ध क्षेत्रको सुरक्षा र प्रगतिका लागि प्रयत्नरत रहन सक्दथे । तर, यथार्थ त्यस्तो छैन । त्यसविपरीत युवा÷विद्यार्थीहरू पार्टी राजनीतिका आडमा शिक्षा क्षेत्रलाई तहसनहस तुल्याउने कार्यमा संलग्न छन् । उनीहरूलाई शिक्षाको गुणस्तरमा अभिवृद्धि हुनु भनेको आफू र राष्ट्रकै भविष्य सुरक्षित हुनु हो भन्ने कुरोसँग कुनै सरोकार छैन । उनीहरू दलीय निर्देशन र दलीय शक्तिको आडमा शिक्षण संस्थाहरूबाट जबर्जस्ती चन्दा असुल्ने, त्यहाँ सम्पन्न हुने निर्माण वा खरिद र अन्य त्यस्तै कार्यबाट कमिशन लिने र ती निकायमा संलग्न पार्टी आबद्ध शिक्षक, कर्मचारी र पदाधिकारीसँग मिलेर शैक्षिक गुणस्तरलाई ध्वस्त तुल्याउने कार्यमा संलग्न रहने गर्दछन् । कुरो यतिमात्र नभएर विद्यार्थीहरू नक्कली शैक्षिक प्रमाणपत्र खरिद बिक्रीसम्मका हर्कतहरूमा संलग्न रहेका समाचारहरू प्रसार हुने गर्दछन् । यी र यस्तै उद्देश्यको पूर्तिका लागि अध्ययन अवधि समाप्त भइसकेका युवाहरूले समेत विद्यार्थी राजनीतिलाई निरन्तरता दिइरहेको पाइन्छ । यसले युवाहरूमा कस्तो प्रवृत्ति विकसित भइरहेको छ भन्ने कुरोलाई दर्शाउँछ । पार्टी राजनीतिका आडमा हुने यस किसिमका गतिविधिहरू नियन्त्रणमा पार्टी नेतृत्वलाई कुनै चासो छैन । उल्टै नेतृत्वबाट त्यस्ता कुकर्मीहरूलाई पुरस्कृत र सम्मानित गर्ने गरिएका छन्  । यसले पार्टी नेतृत्वको पहलमा कस्तो युवा नेतृत्वको विकास भइरहेको छ ? भन्ने कुरा स्पष्टरूपमा देख्न र बुझ्न सकिन्छ ।
उल्लेखित व्यवहार विद्यार्थीको हैसियतमा रहेका युवाहरूको मात्र नभएर राजनीति, प्रशासन, सुरक्षा, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूमा आवद्धहरूको समेत रहेको पाइन्छ । तीनलाई आफू सम्बद्ध क्षेत्रलाई तहसनहस तुल्याउनुमा आफ्नो सफलताको बोध हुन्छ । यद्यपि, यसो भन्नुको तात्पर्य सबै विद्यार्थी एवम् युवाहरू यस किसिमको प्रवृत्तियुक्त छन्, मुलुकको अवस्था धराशायी तुल्याउन ती मात्र जिम्मेवार छन् भन्ने अवश्य होइन । युवाहरूमा समेत इमानदार, सक्षम र ऊर्जावान पात्रहरूको कमी छैन । तिनीहरूबाट देशको सुन्दर भविष्यको अपेक्षा राख्न सकिन्छ । तर, विडम्बना, त्यस्तो सोच र क्षमता राख्ने युवाहरूलाई राज्यको कुनै क्षेत्रमा स्थान प्राप्त हुँदैन । त्यहाँ योग्यता, क्षमता र इमानदारिताको कुनै महत्व छैन । कसैले असल कार्य गर्दछ भने पनि त्यसलाई सहयोग र संरक्षण प्रदान गरिँदैन । त्यसैले उच्च सोच र क्षमता भएका युवाहरू गलत नेतृत्वसामु निरीह बनेर बस्नुपर्ने वा विदेश पलायन गर्ने विकल्पमात्र रहेको पाइन्छ । यहाँनेर मननीय कुरा विदेश पलायन हुनेहरू सबै दलीय लुटेराहरूको प्रभावमुक्त छन् भन्ने चाहिँ अवश्य होइन । विदेशिएका युवाहरूसमेत दलीय लुटेराहरूका सहयोगी बनेका घटनाहरू देख्न र सुन्न पाइन्छ । यो अवस्थाले ०४७ साल अघिको पञ्चायती कालका मण्डले भनेर चिनिने सत्ता समर्थक विद्यार्थी÷युवाहरूको भूमिकालाई स्मरण गराउँछ । यद्यपि, पञ्चायती सत्ता समर्थक मण्डले नामधारी युवा विद्यार्थीहरू व्यवस्था विरोधीहरूप्रति असहिष्णु रहन्थे, तर तिनीहरू बल प्रयोगको आधारमा शैक्षिक संस्थाबाट चन्दा एवम् कमिसन असुल्ने, शैक्षिक वातावरणलाई खल्बल्याउने र नक्कली प्रमाणपत्र बिक्री वितरणजस्ता कार्यमा संलग्न हुने गर्दैनथे । यस कुरोमा सरकारको नियन्त्रणसमेत रहने गर्दथ्यो । तर, आजका युवा÷विद्यार्थीहरूले यस किसिमको प्रेरणा दलीय नेतृत्व र सरकारमा आसिन लुटेरा नायकहरूबाट प्राप्त गर्दछन् । यसर्थमा आजका युवा र विद्यार्थीहरूको व्यवहार हिजोका मण्डलेहरूको भन्दा तुच्छ रहेको पाइन्छ । यसरी भ्रष्ट र आपराधिक पृष्ठभूमि बोकेका युवाहरू कसरी र कुन अर्थमा तिनका अग्रजहरूको विकल्प बन्न सक्लान् ? यतिबेला विभिन्न दलहरूमा अग्रजहरूको विकल्प बन्न खोजिरहेका कथित युवा÷नयाँ पुस्ताको प्रयासलाई हेर्दा उल्लिखित प्रश्नतर्फ स्वाभाविकरूपमा ध्यान आकर्षित हुनपुग्दछ ।
यहीँनेर प्रश्न उभिन्छ, त्यसो भए के अब भ्रष्ट नेतृत्वको विकल्प सम्भव छैन त ? निश्चय पनि कुनै पनि कुरा विकल्परहित हुन सक्दैन । तर, उत्तराधिकार र विकल्पमा निश्चय पनि अन्तर छ । उत्तराधिकार कुनै कुरो र प्रवृत्तिको निरन्तरता मात्र हो । विकल्प भनेको निरन्तरता मात्र नभएर उत्कृष्ट निरन्तरता हो । त्यसैले यदि युवा÷नयाँ पङ्क्ति पुरानो नेतृत्वभन्दा उत्कृष्टरूपमा प्रस्तुत हुनसक्छ भने मात्र त्यसलाई पुरानोको विकल्प मान्नुपर्छ । आफ्नो हिजोको राजनीतिक लगानीको अकुत मूल्य असुल्न देश र जनताको भविष्य चौपट तुल्याउने हदसम्म लागिपरेका लुटेराहरूकै प्रवृत्ति बोक्ने युवाहरू किमार्थ वैकल्पिक नेतृत्व बन्न सक्दैनन् । ती हिजोकै प्रवृत्तिको निरन्तरताका उत्तराधिकारी मात्र हुन् । त्यसैले युवा होस् वा अग्रज सोच र व्यवहार दुवै अर्थमा नयाँ प्रवृत्तिसहितको पात्र मात्र वैकल्पिक नेतृत्व बन्न सक्दछ । अग्रजहरूको गुण तिर्न होस् वा आफ्नो भविष्य सपार्न जुनसुकै अर्थमा लुटतन्त्रमा सहभागी हुनेहरू योग्य नेतृत्व कहलिन सक्दैनन् । लुटमा हिस्सेदार बन्ने आकाङ्क्षा पालेकाहरूको त कुरै छाडिदिऊँ र लुटतन्त्रलाई समाप्त पार्न चाहने युवा र अग्रज सबैको यस वास्तविकतातर्फ गम्भीरतापूर्वक ध्यान जाओस् । अन्यथा राष्ट्रसँगै आफूले समेत दुर्दिनहरू भोग्ने घडी सन्निकट रहेको कुराप्रति ढुक्क भई बस्दा फरक पर्नेछैन ।
(लेखक नेपाल ल क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *