भर्खरै :

थिमिको मेयरको ताली मोह !

मध्यपुर थिमि नगरपालिकाको प्रमुख मदन सुन्दर जगुलु श्रेष्ठको छेपारे प्रवृतिको कुरा र व्यवहार थाहा पाउँदा हामीलाई आश्चर्य र दुःख लागेको छ । सायद यस प्रवृतिले मध्यपुर थिमिवासीलाई नै दुःखित बनाउनेमा शङ्का छैन ।
प्रमुखज्यूले निर्वाचन प्रचार प्रसारको दौरानमा हुने सभाहरूमा “मध्यपुर थिमि नगरपालिका देशको दोस्रो भ्रष्ट नगरपालिका भनी बदनाम भएकोले यहाँका जनतालाई मध्यपुर थिमि नगरवासी भन्न लाज लाग्ने गरेको र आफूले जितेमा त्यस्ता भ्रष्ट कर्मचारीहरूलाई कारबाही गर्ने र नगरपालिकाको कार्य पारदर्शी बनाउने” अभिव्यक्तिलाई मध्यपुर थिमि नगरपलिकाको ढिलासुस्ती, गैरजिम्मेवारीपन र भ्रष्ट प्रवृतिबाट आजित जनताले तालीको गडगडाहटका साथ स्वागत र समर्थन गरेका थिए । जनताले मध्यपुरबासीको गौरव बढाउने विश्वासका साथ भारी मत दिएर निर्वाचित पनि गराए ।
तर, २०७४ असार ३० गते बसेको मध्यपुर थिमि नगरपालिकाको प्रथम नगरसभाको दोस्रो बैठकमा प्रस्तुत मध्यपुर थिमि नगरपालिको वार्षिक नीति, कार्यक्रम तथा बजेटमाथिको छलफलको क्रममा नगरसभाको अध्यक्षता गरिरहनुभएका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई प्रोत्साहन स्वरुप थप एक महिनाको तलब प्रदान गर्ने घोषणा गर्दा उपस्थित कर्मचारीहरूले तालीको गडगडाहटका साथ समर्थन गरे । उक्त घोषणाले कतिपय सभासद्हरू लज्जित भए । प्रमुखसँगै रहनुभएका कार्यकारी अधिकृत कमल ज्ञवालीले प्रमुखले गर्नुभएको घोषणा हुबहु लागू हुन नसक्ने, कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन ९० प्रतिशत आउनेलाई मात्र दिन सकिने र काम नगर्ने, आफ्नो कुर्सीमा नबस्ने, सेवाग्राही आउँदा खोज्नुपर्ने, आदेश नमान्ने, आफ्नो कर्तव्य पालन गर्न सम्झाउदा उल्टै धम्काउने अनुशासनहीन कर्मचारीलाई कसरी प्रोत्साहन भत्ता दिन सकिन्छ भनी सच्याउनुभएको कुरा पनि विषय बन्यो । मध्यपुर थिमि नगरपालिकामा भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका कर्मचारीहरू कार्यरत छन भन्ने कुरा नगरबासीलाई थाहा नभएको होइन । स्मरण रहोस् हनुमन्ते खोलाको बहाव परिवर्तन गरेपछि मध्यपुर थिमि नगर कार्यपालिकाले गरेका निर्णयहरू कार्यान्वयन गर्न पनि प्रमुखले खासै चासो नदिएको नगरबासीमा चर्चा छ । प्रमुख श्रेष्ठले बेलैमा आफ्नो चरित्रलाई सुधारियोस् । चर्चित हुने लोभमा तालीको पछि लागेर जनविश्वासलाई घात गर्नु बुद्धिमानी होइन  ।
–राजेश, विकेश र शुभ श्रेष्ठ
मथिनपा — ४ बालकुमारी, थिमि

Leave a Reply

Your email address will not be published. Required fields are marked *