भर्खरै :

एमसीसी सम्झौतामा हस्ताक्षर गर्नेहरू र पारित गर्न खोज्नेहरू जनतासामु नाङ्गिनेछन्

काठमाडौँ, ५ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देशको सार्वभौमिकताको विरुद्धमा रहेको एमसीसी सम्झौतामा हस्ताक्षर गरेका र संसद्बाट पारित गर्न खोज्नेहरू देशघातीका रूपमा जनतासामु नाङ्गिने बताउनुभएको छ ।
शुक्रबार र शनिबार गरी सम्पन्न नेमकिपाको ३२ औं केन्द्रीय परिषद् तथा देशको वर्तमान राजनीतिक स्थितिबारे सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष रोहितले एमसीसीमा सही गरेका, यसबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ लिइसकेकाहरूले मात्र एमसीसी सम्झौतालाई ठीक भन्दै पारित गर्नमा जोड दिइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले एमसीसी सम्झौताका धेरै बुँदाहरू स्पष्ट रूपमा देशको सार्वभौमिकताको विरुद्ध रहेका र त्यसले देशलाई लाभभन्दा बढी हानि हुने देखिएकोले नेमकिपाले एमसीसी सम्झौताको विरोध गर्दै आएको र गर्दै जाने बताउनु्भयो ।
एमसीसी सम्झौता पारित गर्ने उद्देश्यले नै देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरेर दुई तिहाइको सरकार पतन गराएर संसद्को तेस्रो ठूलो दलका नेताको नेतृत्वमा सरकार बनाउन दिएको हुनसक्ने बताउँदै अध्यक्ष रोहितले लामो समयसम्म अवरोध गरी संसद् चल्न नदिनु, सरकारले जबरजस्ती विधेयकहरू पेश गर्नु र पारित गर्नुको सङ्केत बिना छलफल संसद्बाट एमसीसी सम्झौता पारित गराउने उद्देश्य हुनुपर्छ भन्नुभयो ।
एमसीसी सम्झौताको लागि पहिलो पत्राचार गरेका प्रधानमन्त्री माओवादीका तत्कालीन नेता बाबुराम भट्टराई परराष्ट्रमन्त्रीको हैसियतमा सम्झौतामा हस्ताक्षर गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा भएको हुनाले एमसीसीको दोष र दुष्परिणामबाट उनीहरू भाग्न नसक्ने उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा संसद्को पुनःस्थापना मात्र नगरी व्यक्ति, मिति र समयसमेत तोकेर प्रधानमन्त्री बनाउनू भन्ने फैसलाले न्यायपालिकाबाट कार्यपालिका र व्यवस्थापिकामा हस्तक्षेप हुन पुगेको बताउँदै अध्यक्ष रोहितले यसैलाई नजिर बनाएर भोलि हरेक प्रधानमन्त्री नियुक्तिका लागि सर्वोच्च अदालत जाने र अदालतले प्रधानमन्त्री छान्ने चलन आउनसक्ने खतरा औँल्याउनुभयो ।
अध्यक्ष रोहितले भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै ‘नेपालमा केही तत्वहरू नेपाल र भारतकोबीचको सम्बन्ध बिगार्न उद्यत छन् । कुनै पनि मूल्यमा शिर झुकाउन नपर्ने गरी नेपालसितको सम्बन्ध कहिल्यै टुट्न दिन्नौं’ भनी दिएको अभिव्यक्ति नेपालविरुद्धको धम्कीको अर्थमा पनि लिन सकिने बताउनुभयो । भारतीय विस्तारवादीहरूले नेपालमाथि गिद्धेदृष्टि राख्न नछोडेको स्पष्ट पार्दै नेपालविरुद्धको भारतको विस्तारवादी गतिविधिका कारण नेपाल र नेपाली जनताले अनेकन् दुःख पाइरहेका छन् भन्नुभयो ।
“जहिलेसम्म भारतले नेपालमाथि थिचोमिचो गरिरहनेछ, सिमाना अतिक्रमण गरिरहनेछ र नेपाली जनतालाई दुःख दिइरहेसम्म नेपाली जनताले भारतको विरोध गरिहनेछन् ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पार्टीको ३२ औँ केन्द्रीय परिषद्ले गरेका निर्णय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू जानकारी दिनुभयो ।
आइतबार बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताको सक्कल नपढेको र त्यसमा रहेका देशघाती प्रावधानहरू थाहा नपाएको बताएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कि देउवालाई गुमराहमा राखिएको हुनुपर्छ कि त थाहा पाएर पनि थाहा नभएको स्वाङ पारेको हुनुपर्छ भन्नुभयो ।
उपस्थित विभिन्न मिडियाका सञ्चारकर्मीहरूले विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *