भर्खरै :

चिलीमा वामपन्थी युवा राष्ट्रपति निर्वाचित

सान्टियागो, २० डिसेम्बर । दक्षिण अमेरिकी देश चिलीका वामपन्थीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । चिलीको राष्ट्रपति निर्वाचनमा भारी मतका साथ वामपन्थी उम्मेदवार गाब्रियल बोरिक निर्वाचित भएका छन् । उनले दक्षिणपन्थी खेमाका उम्मेदवार एन्टोनिओ कास्टलाई पराजित गरेका छन् । कुल खसेको मतको ५५.८६ प्रतिशत मत प्राप्त गरेर पूर्व विद्यार्थी नेता बोरिकले सर्वोच्च कार्यकारी पदमा बाजी मारेका हुन् । प्रमुख प्रतिस्पर्धी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेर हार व्यहोर्नुप¥यो । जित्ने र हार्ने उम्मेदवारबीच ११.५ प्रतिशतको मतान्तर छ ।
नोभेम्बर २१ मा सम्पन्न मतदातमा सबभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारहरू बोरिक र कास्टबीच दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि प्रमुख दुई जना उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन भएको हो ।
३५ वर्षका विद्यार्थी नेता बोरिक चिलीको सबैभन्दा कान्छो राष्ट्रपति बनेका छन् । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११÷१२ मा विद्यार्थीहरूले गरेको आन्दोलनमा बोरिक प्रमुख नेतामध्ये थिए ।
सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए । त्यसैगरी सन् २०१७ मा पनि उनी सबभन्दा धेरै मतसहित संसद निर्वाचित भए । अहिले फेरि सरकारविरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो ।
निर्वाचनमा विजयी भएपछि जनताको नाममा सम्बोधन गर्दै वामपन्थी युवा नेता बोरिकले आफ्नो पक्षमा मत दिने र यातायातको कठिनाइको कारण मत दिन नसकेका सबै चिलीका जनताप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा यातायातको असुविधाको कारण मतदान गर्न नपाउने अवस्था नआउने वचनबद्धता व्यक्त गरे ।
उनले कडा सङ्घर्षबाट प्राप्त भएको अधिकार रक्षाको लागि देशभर सङ्गठित बन्ने महिलाहरूप्रति आभार व्यक्त गर्दै भने, “हाम्रो विजय लामो ऐतिहासिक सङ्घर्षको परिणाम हो । म चिलीका सबै जनताको राष्ट्रपति बन्नेछु ।”
आफ्नो भाषणमा उनले कुनै पनि अवस्थामा मानवअधिकारप्रतिको आफ्नो प्रतिबद्धता नडगमगिने र आफ्नै जनतामाथि युद्ध घोषणा गर्ने राष्ट्रपति नबन्ने बताए ।
बोरिकले विदेशमा रहेका चिलीका मतदाताबाट पनि उल्लेख्य मत प्राप्त गरेका छन् । विशेषतः स्पेन, जर्मनी र फ्रान्समा रहेका चिलीका मतदाताले उनको पक्षमा उत्साहजनक मत व्यक्त गरे । चुनावको दिन यातायातको व्यवस्थामा समस्या भए पनि उनले आफ्ना मतदातालाई मतदान स्थलसम्म पुग्न युवा, महिला र श्रमिक जनताको व्यापक परिचालन गरेको थियो ।
सन् १९७३ को सेप्टेम्बर ११ मा संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएको आडमा चिलीको प्रतिक्रियावादी सेनाले सैनिक विद्रोह गरी त्यहाँको वामपन्थी राष्ट्रपति साल्भाडोर एयेन्डेको सरकार अपदस्थ गरेको थियो । एयेन्डे सरकार अपदस्थ गरी सैनिक जनरल पिनोचेको नेतृत्वमा बीस वर्ष सैनिक सरकारले तानाशाही शासन चलाएको थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले चिलीलाई नवउदारवादको प्रयोगशाला बनाएको थियो । सोक्रममा चिलीका सबै राष्ट्रिय सम्पत्ति निजीकरण गरिएको थियो ।
पिनोचे शासनकालमा चिलीका वामपन्थीहरूमाथि निर्मम दमन भएको थियो । सो क्रममा हजारौँ चिलीका वामपन्थीहरूको हत्या भएको थियो ।
पिनोचे सत्ता विघटनपछि बनेका सरकारहरूले पनि वामपन्थीहरूमाथि लगातार दमन गर्दै आएको थियो । विशेषतः सन् २०११÷१२ मा भएको विद्यार्थी आन्दोलनले चिलीका वामपन्थीहरूमा नयाँ उत्साह सञ्चार भएको र जनताले वामपन्थीहरूको विकल्प रोजेका हुन् ।
झन्डै एक युगपछि चिलीमा पुनः वामपन्थी नेतृत्व आउनुलाई ल्याटिन अमेरिकी देशहरूले ठुलो सफलताको रूपमा लिएका छन् । ल्याटिन अमेरिकाका विभिन्न वामपन्थी सरकारहरूले नवनिर्वाचित राष्ट्रपतिलाई शुभकामना र बधाई सन्देश पठाएका छन् । ब्राजिलका पूर्व राष्ट्रपति लुला दा सिल्भा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, क्युवाका राष्ट्रपति मिगुएल डाएज कानललगायतले बोरिकका युवा राष्ट्रपतिलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *