भर्खरै :

(कीर्तिपुरमा नेपालभाषा साहित्य तःमुँज्या सम्पन्न) देशघाती एमसीसी सम्झौताविरूद्ध सङ्घर्ष गर्न आह्वान

कीर्तिपुर, ५ पुस । नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको आयोजनामा आठौँ नेपालभाषा साहित्य सम्मेलन कीर्तिपुर नगरपालिका वडा नं. ८ स्थित पाँगा लाछीमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले देशघाती एमसीसी सम्झौताविरूद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभयो ।
देशघाती एमसीसी सम्झौता लागु भएमा नेपाल साम्राज्यवादीहरूको युद्धमैदान हुनेतर्फ सचेत गराउँदै कुनै पनि हालतमा अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धनको योजना नेपालको संसद्बाट पारित गर्नु हुँदैन भन्नुभयो ।
उहाँले आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेसबाहेक संसद्मा प्रतिनिधित्व गर्ने नेमकिपा लगायतका प्रतिनिधिहरूले विरोध गरेको जानकारी गराउनुभयो ।
एमसीसी सम्झौताका बुँदाहरूबारे प्रस्ट पार्दै सचिव सुवालले नेपालको संविधानभन्दा माथि एमसीसीको कानुन नहुने, योजनाको स्वीकृति भारतसँग लिनुपर्ने, एमसीसीमा भएका हिसावकिताबहरू नेपाल सरकारले अडिट गर्न नपाइनेजस्ता थुप्रै देशघाती बुँदाहरू भएकोले खारेज नभएसम्म सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले संसद चालू रहेको तर प्रतिपक्ष नेकपा एमालेको अवरोध ‘हाँस न कुखुराको चाल’ जस्तै विरोध गर्ने तर स्थगित गर्न नसक्ने प्रवृत्तिले देशको समस्यामा अन्य सांसदहरूले समेत बोल्न नपाउनु ठीक नभएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्य सम्मेलनमार्फत् जनतालाई सचेत पार्ने काम तःमुँज्याले गरेकोमा धन्यवाद दिँदै प्रगतिशील साहित्यले गरिब जनताको लागि बाटो खोल्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाले देशको अति दुर्गम कालीकोट जस्तो जिल्लामा पार्टीको सङ्गठन निर्माण गरी देशको सेवा गर्न सिकाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एमसीसी सम्झौताको विरोध गर्दै देशका राजनैतिक पार्टीहरू आँखा चिम्लेर एमसीसीलाई संसद्मा पारित गराउन प्रयासरत रहेकोले सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुँज्या कीर्तिपुरका अध्यक्ष बासुदेव डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजु, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, वनस्पति विज्ञ प्रा.डा. धर्मराज डंगोल, जनगायक रामकृष्ण दुवाल, जनकवि तथा नेपालभाषा साहित्य तःमुँज्याका सल्लाहकार चन्द्रबहादुर उलक, कीर्तिपुर अस्पतालका इन्चार्ज डा. पेरू प्रधान, तःमुँज्याका उपाध्यक्ष श्रीकृष्ण महर्जनले स्वागत र सचिव नारायण महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम पाँगाका ज्येष्ठ नागरिक कृष्ण महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने यशुमती महर्जनले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
२६ वटा कविता, २ वटा कथा प्रतिस्पर्धामा रहेको कार्यक्रममा रमेश डंगोल टोखा ‘हि क्वाना वइतिनी स्व’ प्रथम, रमेशमान महर्जन पाँगा ‘गणतन्त्र धागु थ्वहे मखुला’ द्वितीय, रामचन्द्र महर्जन पाँगा ‘गरिब मनु’ तृतीय र सुवर्ण महर्जन नगाउँ ‘सुनामी’ कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो भने कथा विधामा हरिकृष्ण पोतामाँको ‘छ्यें ढलान बुँ चलान’ कथा सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
विजयी सर्जकहरूलाई प्रमुख अतिथि प्रेम सुवालले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
साहित्यिक कार्यक्रममा जनसाहित्य समाज टोखा, नित्यनाथ भजन पासा पुचः भक्तपुरका कलाकारहरूबाट गीत प्रस्तुत गर्नुभएको थियो भने बेलुकी सांस्कृतिक कार्यक्रममा जन साहित्य समाज टोखा र आयोजकको तर्फबाट नृत्यहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *