अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
आइतबारको मजदुर दैनिकमा हरिकृष्ण धुख्वाको पाठक पत्र सान्दर्भिक लाग्यो । मलाई पनि मनमा लागेको कुरा उठाउनुभएकोमा धुख्वाजीप्रति आभार व्यक्त गर्न चाहन्छु ।
महामारीको समयमा भक्तपुर नगरपालिकाको सक्रियतामा गुनासो गर्ने ठाउँ छैन । धेरै कुरा कसैलाई थाहा पनि नभएको भाइरसको महामारी फैलिएको समयमा केही कुरा जनप्रतिनिधि र कर्मचारीहरूको नियन्त्रणमा नहुनु स्वाभाविक थियो । तथापि, कतिपय जनप्रतिनिधि र कर्मचारी आफै कोभिड सङ्क्रमण हुने अवस्थामा पनि जनप्रतिनिधि र कर्मचारीको अगुवाइ सन्तोषजनक लाग्यो । कोभिडको एकान्तवासको व्यवस्थापन राम्रो भएको त्यहाँ बसेका साथीहरूले सुनाए । म आफै पनि कोभिडबाट सङ्क्रमित हुँदा वडाका जनप्रतिनिधिहरूले फोन सम्पर्क गरेर हौसला मात्र दिनुभएन, बरु मास्क, स्यानिटाइजर, सफा गर्ने झोल र केही औषधि पठाउनुभएको थियो । पछि पछि व्यवस्थापन गर्न सहज नभएर हुन सक्छ, त्यस्ता सामान वितरण रोकियो । तर, जनप्रतिनिधि र जनस्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य अवस्थाबारे सोधखोज भने भइरहेको पाएँ । बिरामी पर्दा त्यसरी स्वास्थ्य कस्तो छ भनी एक कल फोन मात्र आउँदा पनि खुशी लाग्ने रहेछ ।
भक्तपुर नगरपालिकाले हरेक वडामा नर्सिङ सेवा सुरु गरेको समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा पढियो । तर, मेरो घरमा महामारी सुरु हुनअघि एक पटक घरमा को को छन्, कोही बिरामी वा ज्येष्ठ नागरिक छन् कि भनी सोध्न आएको सम्झना छ । त्यसपछि भने घरदैलोमा नर्स कहिल्यै आएको देखिएन । कदाचित नर्सको सेवा चाहिए कहाँ सम्पर्क गर्ने हो, त्यो पनि थाहा भएन । नगरपालिकाको गतिविधिबारे जानकारी लिने र राख्ने मजस्तो नगरबासीलाई नै यसबारे जानकारी छैन भने मलाई लाग्छ अधिकांश नगरबासीलाई त्यसबारे थाहा नहोला ।
धुख्वाजीले लेख्नुभएजस्तै कुनै पनि काम सुरु गर्न जति सजिलो हुन्छ, निरन्तरता दिन त्यत्ति नै गा¥हो हुन्छ । वडामा नर्सिङ सेवा पनि त्यस्तै कार्यक्रम भयो कि ? सस्तो लोकप्रियताको लागि मात्र त त्यस्तो कार्यक्रम पक्कै सुरु भएको होइन होला । कम्तीमा पन्ध्र दिनको एक पटक नर्सहरू वडाका विभिन्न पाटीमा बसेर अत्यावश्यक जाँच र परामर्शको सेवा मात्र दिए पनि नगरबासीले राहत अनुभव गर्ने छन् । अथवा गा¥होसा¥हो पर्दा नर्स बोलाउन नर्सको सम्पर्क नम्बर नगरबासीले पाए राम्रो हुने थियो ।
महामारीको बेला नगरपालिकाले परामर्शको लागि केही चिकित्सकहरूको सम्पर्क नम्बर नै सार्वजनिक गरेको थियो । बिहान फोहोर उठाउन आउने गाडीले समेत उहाँहरूको नम्बर भन्दै आउँथ्यो । उहाँ चिकित्सकहरूलाई मेरो सलाम । मैले पनि एक दिन उहाँहरूमध्ये एक जना चिकित्सकलाई फोन गरेको थिएँ । चिकित्सकको नम्र बोली र उचित परामर्शले म साँच्चै भावुक बनेको थिएँ । मजस्ता कति मानिसले दैनिक सम्पर्क गर्थे होला । तथापि, उहाँहरूको विनम्र बोली र परामर्श साँच्चै अनुकरणीय थियो । स्वास्थ्यकर्मीको मिठो बोलीले मात्र पनि बिरामीको आधा रोग निको हुन्छ । मलाई पनि त्यत्तिबेला त्यस्तै अनुभव भएको थियो ।
Leave a Reply