विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सांस्कृतिक क्रान्तिको प्रतिकूल राजनीतिक परिस्थितिपछि खुकुलो बनेको चीनमा ‘न्यु वल्र्ड प्रेस’ ले जीवनको लामो समय चीनमा बिताएका विभिन्न देशका व्यक्तिका संस्मरण र आत्मवृत्तान्तहरू प्रकाशित ग¥यो ।
‘एसियाको बिरामी देश’ भनी चिनिए पनि पश्चिमाहरूको निम्ति चीन सधैँ अकुत नाफाको व्यापार गर्ने र प्राकृतिक तथा मानवीय स्रोतको सस्तोमा दोहन गर्न सकिने देशको रूपमा थियो । पश्चिमाहरू चिनियाँहरूको व्याख्या गर्न ‘पिलन्धरे’, ‘रोगी’, ‘पहेँला’, ‘टुप्पीवाल’, ‘मान्छेले चलाउने रिक्साका चालक’, ‘असभ्य’, ‘गरिब’, ‘फोहरी’ आदि अनेक विशेषण प्रयोग गर्थे । तर, चिनियाँहरूको रगत–पसिनामा नाफा तैरिरहेको देख्ने पश्चिमाहरू नाफा कमाउन भने फर्कीफर्की चीन आउँथे । उनीहरूको प्रवेशद्वार थियो – साङ्घाई सहर । अर्को शब्दमा साङ्घाई सहर भित्री चीन र बाहिरी विश्वबीचको सङ्कमस्थल थियो । यो थियो, अफिम युद्धदेखि झन्डै सन् १९५० सम्मको एक सय वर्ष अवधिको चीनको चित्र । पश्चिमबाट धेरै युवा कोही व्यापार गर्न, कोही रोजगारीको लागि त कोही आफ्नो ‘भाग्य’को परीक्षण गर्न साङ्घाई आउँथे । त्यसरी साङ्घाई आएकामध्ये केही युवा ‘जीवनको नदीमा लहरी लहरी’ लामो समय चीनमै बसे । चीनसँग उनीहरूको प्रेम बस्यो अथवा उनीहरूले चीनमा आफ्नो प्रेम भेट्टाए । चिनियाँ इतिहासका हरेक उथलपुथलका साक्षी बने उनीहरू । सिड्नी सापिरो र एलन गिन्सवर्गका आत्मसंस्मरण त्यही कोटीका संस्मरण हुन् ।
सन् १९८० को दशकमा प्रकाशित त्यस्ता धेरै संस्मरणमध्ये अलि फरक कथावस्तुको पुस्तक हो– ‘ब्रिटिस गर्ल, चाइनिज वाइफ’ । यसका लेखक हुन् – इस्थर होल्यान्ड छेन । तिनताक व्यापार, रोजगारी वा ‘गरिब चीन’ हेर्न साङ्घाई आउनु पश्चिमाहरूको लागि अस्वाभाविक थिएन । तर, आफ्नो प्रेमको लागि त्यो नौलो भूमिमा २०–२१ वर्षकी एउटी बेलायती युवती आफ्नो देश र आफन्त सबै छोडेर आउनु भने पक्कै सामान्य घटना थिएन ।
सन् १९२० को दशकमा संसारकै सबभन्दा विकसित र समृद्ध देश बेलायतको स्टाफोर्डसाएरको सानो सहरमा सन् १९१९ मा जन्मेकी थिइन् – इस्थर । सानैमा इस्थर र उनकी दिदीले आमा गुमाए । दुवै दिदी बहिनीलाई आफन्तको जिम्मा लगाएर बुबा अस्टे«लिया भासिए । दुवै दिदीबहिनीलाई पढाइसँगै काम पनि गर्ने विद्यालयमा भर्ना गरियो । दुःख–सुख झेल्दै इस्थर तरुनी भइन् । विद्यालयको पढाइ सकेपछि उनी कटनहिल अस्पतालमा भर्ती भइन् । त्यहाँ पढाइ र तालिम सँगै हुन्थ्यो । त्यही क्रममा उनको भेट केही चिनियाँ विद्यार्थीसँग भयो । उनीहरूमध्ये इन्जिनियरिङको एक विद्यार्थीको व्यक्तित्व उनलाई विशेष आकर्षक लाग्यो । उनी थिए – मिस्टर छेन । एकाध भेटपछि छेनको सहयोगी व्यवहारबाट इस्थर प्रभावित भइन् । क्रिसमसको एक साँझ उनीहरू दुवैले एकअर्काप्रतिको प्रेम व्यक्त गरे ।
सन् १९३० को दशक चीनको इतिहासमा थप समस्याग्रस्त दशक थियो । जापानले चीनमाथि हमला गर्ने तयारी थालिसकेको थियो । छेन बेलायतका विभिन्न पत्रपत्रिकामा चीनमाथि जापानी हमलाको विरोधमा लेख लेख्थे र उनी पढाइ सकेर आफ्नो मातृभूमिको सेवामा फर्किन चाहन्थे । तर, उनी इस्थरलाई चीनमा लाने विषयमा अझै अन्योलमा थिए । बेलायतमा हुर्केकी इस्थरका लागि चीन पूर्णतः नौलो र अज्ञात देश थियो । त्यो नयाँ परिवेशमा इस्थरले आफूलाई सम्हाल्न सक्नेमा छेनलाई शङ्का थियो । त्यसकारण, विवाह गर्ने इस्थरको प्रस्तावलाई छेनले सहज मानेका थिएनन् । इस्थर र छेनबीचको प्रेम सम्बन्ध थाहा पाएपछि कटन कलेजकै कतिपय शुभचिन्तकहरूले सम्बन्ध अघि नबढाउन उनलाई सल्लाह दिएका थिए । तर, इस्थरले छेनसँगै जीवनयात्रा गर्ने सङ्कल्प गरेर विवाह गरिन् र सँगै चीन जाने निधो गरिन् ।
सन् १९३९ मा इस्थर साङ्घाई पुग्दा चीन जापानविरोधी युद्ध लड्दै थियो । साङ्घाई सहरभित्रै पनि विभिन्न देशले आ–आफ्नो अलगअलग प्रशासन चलाइरहेका थिए । विदेशीहरू प्रायशः चिनियाँहरू बस्ने क्षेत्रमा बस्दैनथे । चिनियाँहरू बस्ने साङ्घाईको क्षेत्र सबभन्दा फोहोर र असभ्य मानिन्थ्यो । इस्थरको लागि बेलायतबाहिरको हरेक क्षेत्र नौलो थियो । बेलायतीबाहेकको हरेक संस्कृति नौलो थियो । त्यसमाथि चिनियाँहरूको नितान्त नौलो परिवेशमा हुर्किन उनले ज्यादै कठिन अनुभव गरिन् । चीन पुग्नुअघि उनलाई उडुस कस्तो हुन्छ समेत थाहा थिएन । एक दिन बिहान उठ्दा उनले आफ्नो जिउभरि रातो दाग देखिन् । उडुसले टोक्दा त्यसो हुने छेनले सम्झाए । तर, इस्थरले उडुस कहिल्यै देखेकी थिइनन् । दिउँसो सफा गर्ने क्रममा भेटिएको नयाँ कीरा उडुस हो – होइन, निश्चय गर्न कागजमा पोका पारेर राखिन् । साँझ छेनलाई देखाएपछि मात्र त्यो कीरा उडुस भएको पक्का भयो ।
छेन परिवारको एक जना सदस्यको निधन हुँदा चीनको मृत्यु संस्कार देखेर उनी अच्चममा परिन् । भर्खरै आपसमा बाझिरहेका सासूहरू कोही आफन्त समवेदना पोख्न घरभित्र पस्दा मुख छोपेर धुरुधुरु रोएको देखेर इस्थर अलमलमा परेकी थिइन् ।
इस्थरको आत्मसंस्मरण पढ्दा उनले चीनमा त्यतिबेला भोगेको प्रतिकूलताको सिलसिला जोकोहीलाई हृदयविदारक लाग्छ । बिरालोले बच्चा सारेजस्तै कोठा सार्दै गर्नुपर्ने साङ्घाईको जीवनको कठिनाइ आफ्नै ठाउँमा थियो । छेन दम्पतिको मिठो सपना बनेर जन्मेका दुई सन्तान गुमाउनुपर्दाको पीडा एक जना आमाको निम्ति सहनु अझ कठिन थियो । त्यहीबीच छेन गम्भीर बिरामी पर्छन् । “शल्यक्रिया गरे दुई वर्ष आराम गर्नुपर्छ, तर शल्यक्रियाकै क्रममा ज्यान पनि जान सक्छ । शल्यक्रिया नगरे छेन दस वर्षमा मर्नेछन्”, चिकित्सकहरूले भने । कुन विकल्पमा जाने ? यो प्रश्न इस्थरको जीवनमा तेर्सिएका सबभन्दा गा¥हो प्रश्नमध्ये एउटा हुनुपर्छ । अन्ततः शल्यक्रिया गरिन्छ र ‘सौभाग्यवश’ छेनले नयाँ जीवन पाउँछन् । स्वास्थ्यले नदिएपछि छेनले परियोजनाहरूमा इन्जिनियरिङको काम छोडेर स्यामेनमा प्राध्यापनको काम थाल्छन् ।
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी विजयको झन्डा बोकेर पेइचिङ पुगेपछि च्याङ काईशेक ताइवान भागे । विदेशी नागरिक भएकाले इस्थरलाई ताइवानमा जान प्रस्ताव आएको थियो । तर, उनी चीन छोडेर जान तयार भइनन् । कम्युनिस्टहरूबारे चिनियाँ सहरहरूमा बुद्धिजीवीहरूबीच अनेकन गलत हल्ला थियो । केही प्राध्यापकहरूले आफ्ना कोट र सुट लुकाएका थिए भने कोही पश्चिमा साहित्य लुकाउनतिर लागेका थिए । कम्युनिस्टहरूले त्यस्ता कुरालाई मन नपराउने भन्ने हल्लाको आधारमा बुद्धिजीवीहरू समेत यस्ता हल्लाका पछि लागेका थिए ।
इस्थरपरिवार बसेको क्षेत्रबाट केही कोश परको टापुमा कोमिन्ताङ सेना थियो । बेलाबेला दुवै पक्षबाट त्यहाँ हानाहानको अवस्था हुन्थ्यो । तर, इस्थरले दुवै सेनाको तुलना गर्दै लेखेकी छन्– “मैले भन्नैपर्छ, कोमिन्ताङ सेनाभन्दा जनमुक्ति सेना अनुशासित थिए ।”
सन् १९४९ पछि नयाँ व्यवस्थामा अघि बढिरहेको चीनमा कुन नीति अङ्गीकार गर्दा चीनलाई वास्तवमै नयाँ चीन बनाउन सकिन्छ भन्ने अनेक प्रश्न र अन्योल थिए । त्यही क्रममा बारम्बार भइरहने नीतिगत परिवर्तनले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पाथ्र्यो । स्यामेनको कलेज कतिबेला चच्याङमा सार्ने, एउटा कलेजको विभाग अर्को कलेजको विभागसँग मिलाउने जस्ता अनेकन आरोह अवरोहले छेन परिवारको बसाइ बारम्बार परिवर्तन भइरह्यो । जताजता छेनको नियुक्ति हुन्थ्यो, उतैउतै इस्थर पनि जान्थिन् । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यतिबेला भएका विभिन्न अभियान जस्तै भङ्केरा मार्ने, मुसा मार्ने र फलाम सङ्कलन गर्ने अभियानमा इस्थरपरिवार सरिक भयो ।
त्यसपछि आयो – सांस्कृतिक क्रान्ति । सांस्कृतिक क्रान्तिमा विश्वविद्यालयका प्राध्यापक, बुद्धिजीवी एवम् उनीहरूको परिवारले भोग्नुपरेको कठिन समयको चित्रण इस्थरले पुस्तकमा गरेकी छन् । ‘पुँजीवादी विचार बोकेका राक्षसहरू’ लाई राजनीतिक र वैचारिक प्रशिक्षण दिने नाममा त्यतिबेला भएका गल्तीहरूलाई चिनियाँहरू इतिहासका अँध्यारा दिन भन्ने गर्छन् । विश्वविद्यालयका प्राध्यापकलाई वैचारिक प्रशिक्षणको नाममा शौचालय सफा गर्ने जस्ता काम गराउँदा हिनताबोधले कतिपय दीर्घरोगी प्राध्यापकहरू चाँडै मरेका, धेरैले आत्महत्या गरेका जस्ता त्यतिबेलाका विकराल अवस्थाको चर्चा पुस्तकमा गरिएको छ । छेन र इस्थर दुवै त्यत्तिबेलाका लालगार्डहरूको कैदमा केही समय बिताउन बाध्य भए । सांस्कृतिक क्रान्ति सुरु हुनु केही समयपहिला इस्थर झन्डै तीन दशकपछि बेलायतमा आफ्नी दिदीलाई भेट्न गएकी हुन्छिन् । त्यही विषयलाई लिएर सांस्कृतिक क्रान्तिको समयमा उनले गुप्तचर र विदेशी एजेन्टको आरोप खेप्नुप¥यो । शङ्का–उपशङ्काको त्यो कठिन दिन छिचोल्दै इस्थरले भने लगातार चीनलाई नै प्रेम गरिरहिन् । बेलायतको नागरिकता त्याग नगरेको हुनाले उनलाई बेलायतमै फर्किने अवसर बारम्बार आएको थियो । तर, इस्थरको लागि चीन सधैँ उनका प्रिय छेनको देश थियो । सांस्कृतिक क्रान्तिको सङ्कष्टपूर्ण दिनले पनि त्यो प्रेमलाई गाल्न सकेन ।
इतिहासकार वा सरकारी अभिलेखमा मात्र इतिहास खोज्नु भनेको इतिहासको हाडखोर मात्र छाम्नु हो । साहित्यका विभिन्न विधामा सुन्दर ढङ्कले अभिव्यक्त गरिएको इतिहास नै मासु र छाला सहितको सम्पूर्ण इतिहास हो, जसमा भावनाको प्राण पनि हुन्छ । इस्थरको आत्मसंस्मरण पढ्दा एकजना बेलायती छोरी चीनमा बुहारीको रूपमा आउँदा भोगेको जीवनसँगै चिनियाँ इतिहासको सबभन्दा अहम् कालखण्डको इतिहास पनि पढिरहेको अनुभव हुन्छ ।
सांस्कृतिक क्रान्ति ऐतिहासिक अनुभव हो, जसको अनुभवको आधारमा आजको चीन उभिएको छ । राष्ट्र निर्माणको क्रममा बन्दै जाने इतिहास भावी पुस्ताको निम्ति सजग र सावधानीको इँटा बन्दै जान्छ । इस्थरले त्यो कालखण्डलाई त्यसरी नै लिएकी छन् ।
लेभ टोल्सटायले ‘युद्ध र शान्ति’ मा लेखेका छन्, “जीवन कहिल्यै स्थिरतामा रोकिँदैन । जीवन जस्तै कुइनेटामा पनि अघि बढिरहन्छ ।” इस्थरको जीवनयात्रा पढ्दा पाठकले यस्तै अनुभव गर्नेछन् ।
Leave a Reply