भर्खरै :

यात्रा पिता र पुत्रको – ३

  • पुष ९, २०७८
  • जनकवि चन्द्रबहादुर उलक
  • साहित्य

पुत्र– (सुस्केरा हाल्दै)
कति पहाड चढेँ कति पहाड उक्लेँ
उत्तिकै छ टाढा जति चढे पनि,
अब सिध्दियो भन्छु पहाड सबै
टुप्पामा पुग्दा देखिन्छ उत्तिकै
कति चढ्नु उकालो कति लाग्नु ओरालो
थाकिसकेँ म आज त्यत्तिकै ।
पिता– आधि बाटो नाघिसक्यौँ
अब आधि बाटो काटौँला
विश्राम लिइकन हामी अब
त्यही गाउँमा जाऔँला !
पुत्र – बाटोमा भेट्ने बटुवाहरूले अति जिस्क्याउँथे,
कहिल्यै नपुग्ने गाउँमा त्यो जाने मान्छे भन्थे
साँच्चै हो कि भन्ने लाग्यो भनाइ त्यस्तो सुन्दा
त्यतिका दिन हिँड्दा पनि ठाउँमा नपुग्दा ।
पिता– मेरा बाले देखाउनु भ’को गाउँ त्यही हो
नपुग्ने त कुरै छैन बाटो यही हो ।
पुत्र– पिलपिल बलेको गाउँ त्यो
अति नै टाढा छ,
डरलाग्दो हुरी–बतास
आ’को आ’कै छ ।
पिता– भोजभतेर जस्तो त कहाँ हुनु नि
हिँड्नुपर्छ निरन्तर अनि पुग्छौँ नि !
पुत्र– (पारितिर देखाउँदै)
उः त्यो पारीको डाँडामाथि
मान्छेको लर्को देखेँ,
कहाँ जाने होलान् ती
अचम्ममा म परेँ ।
पिता– (छोराले देखाएको ठाउँतिर हेर्दै)
तिनीहरू पनि त्यतैतिर
जान लागेका होलान्,
काँधमाथि त्यसैले त
झोला भिरेका होलान् !
पुत्र– होला, होला साँच्चै होला
उक्लिँदै छन् माथि
पाइने भयो रमाई रमाई
सँगै जाने साथी ।
पिता– एकक्षण बसौँ कुरौँ अब
उः त्यो चौतारीमा,
भलाकुसारी गर्नुपर्छ,
रुखको छहारीमा ।
(मान्छेहरू सबै चौतारोअगाडि देखापर्छन्)
एक जना मान्छे (स्वाँस्वाँ गर्दै)–
आहा !! चौतारीमा आइपुग्यौँ
शितल रहेछ बसन्तसरि,
बसौँ एकक्षण मारौँ थकाइ
लिन्छौँ आनन्द मनभरि ।
पिता– कतातिरको यात्रा हो
भाइहरूको आज ?
आऊ बसौँ चिनापर्चि गरौँ
जाऔँ मिलेर साथ !
मान्छे– मायाको खानी भन्ने गाउँमा
जाने भन्दै आ’को !
बाटो बिराएँ धेरै ठाउँमा
सोधिसोधिकन आ’को ।
पिता– जाने भन्दै आएका हौँ
हामी पनि त त्यही गाउँ,
दुवैको भयो एउटै बाटो
बसौँला नि एकै ठाउँ
(सबैले सबैलाई नमस्कार गर्छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *