भर्खरै :

स्थानीय तहको चुनाव वैशाख १४ र २२ गते गर्न आयोगको प्रस्ताव

काठमाडौँ, ९ पुस । निर्वाचन आयोगले वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ गते सकिन लागेको र स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको पौडेलले जारी गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
“सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका लागि निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते निर्वाचन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो”, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो । आयोगको प्रस्तावमा मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *