भर्खरै :

संसारलाई शीतयुद्धतिर तान्दै पश्चिमा देशहरू

शीतयुद्धकालीन शत्रुहरू– रुस र संरा अमेरिका नेतृत्वको पश्चिमा मोर्चाबीच यतिबेला तनाव बढिरहेको छ । दुई पक्षबीच चेपुवामा परेको छ – युक्रेन । शीतयुद्ध सकिएको तीन दशक बितिसक्दा पनि पश्चिमा मोर्चामा अझै पनि रुसप्रतिको वैमनस्यता र त्रास पूर्णतः हटिसकेको छैन । निःसन्देह आजको रुस हिजोको रुस होइन । राजनीतिक, आर्थिक, सैनिक धेरै कोणबाट आजको रुस फरक छ । तथापि, पश्चिमा मोर्चाले अझै पनि रुसलाई कमजोर बनाउने वा नियन्त्रणमा राख्ने प्रयासलाई निरन्तरता दिएकै छ । वार्सा सन्धि विघटन भएको दसकौँ पछि त्यो सन्धिको प्रतिरोध गर्ने उद्देश्यले बनाइएको नाटोलाई पश्चिमा मोर्चाले कायममात्र राखेको छैन, बरु रुसको जरा काट्न अझै प्रयोग गरिरहेको छ । रुसलाई असहज बनाउने हेतुले नाटोले पूर्वतिर आफ्नो क्षेत्र विस्तार गर्न खोजिरहेको छ । सोभियत सङ्घको विघटनपछि तरलतामा गएको रुसी प्रणालीलाई आकार दिन खोजिरहेका पुटिन नेतृत्वको रुसले त्यसलाई सहजै स्वीकार्ने अवस्था छैन । रुसको चाहनाविपरीत युक्रेनलाई नाटोको सदस्य बनाए युरोपेली सङ्घका विभिन्न देशलाई उसले दिंदै आएको प्राकृतिक ग्यासलगायत स्रोत–साधन रोक्ने चेतावनी दिएको छ । जर्मनीलगायत युरोपका केही देशहरू रुसी प्राकृतिक ग्यासमा निर्भर छन् ।
रुसको चाहनाविपरीत युक्रेन र त्यसभन्दा पूर्वतिर नाटोले आफ्नो हात फैलाए सो क्षेत्र अर्को द्वन्द्वमा फस्ने सम्भावना प्रबल छ । त्यसले सात समुद्रपारिको संरा अमेरिकालाई त प्रत्यक्षरूपमा प्रभाव नपार्ला । तर, रुससँगै टाँसिएका युरोपेली देशहरू भने त्यो द्वन्द्वबाट सीधै प्रभावित हुनेछन् । अफगानिस्तान र मध्यपूर्व क्षेत्रमा भएको लडाइँको कारण आज युरोपेली देशहरू शरणार्थी समस्यामा फसेका छन् । शरणार्थी समस्याले युरोपेली देशहरूको अर्थतन्त्रमात्र प्रभावित भएका होइनन्, त्यहाँको आन्तरिक सुरक्षा अवस्थासमेत खराब भएको छ । शरणार्थी समस्यासँगै आज युरोपेली देशहरूमा अतिवादी र अन्धराष्ट्रवादी शक्तिहरूको प्रभाव बढिरहेको छ । त्यसकारण, नाटोको यो कदमले युरोपलाई अर्को द्वन्द्वको डावानलमा डुबाउनेछ ।
नाटोलाई प्रयोग गरी रुसलाई चिढाउनुले संसारलाई फेरि पनि विभाजित बनाउनेछ । पछिल्लो समय पश्चिमा देशहरूको पेलानसँगै रुसले आफ्नो पल्ला भारी बनाउने गतिविधिलाई तीव्रता दिएको छ । चीनसँग रुसको निकटता अझ गहिरो बनेको छ । संरा अमेरिकाले यसरी नै चीन र रुसमाथि दबाब दिंदै जाने हो भने पश्चिमा मोर्चाको विकल्पमा अर्को मोर्चा बन्नु स्वाभाविक हो । संरा अमेरिकाले यतिबेला प्रजातन्त्रको नाममा संसारलाई विभाजित गरी जानाजान अर्को मोर्चा बन्ने अवस्था बनाउँदै छ । संसारलाई विभाजित गर्ने उद्देश्यले नै संरा अमेरिकाले चीनलाई घेराबन्दी गर्न अउकस, क्वाडजस्ता सङ्गठन बनाएर ध्रुवीकरणलाई गहिरो बनाइरहेको छ । चीन र रुसविरुद्धको यस्तो घेराबन्दीले उनीहरूलाई एकै ठाउँमा आउन बाध्य बनाएको छ । जसले संसारलाई फेरि पनि अर्को शीतयुद्धतिर धकेल्न सक्छ । चीन, रुस, युरोपकै पनि अधिकांश देशसहित संसारका देशहरू फेरि पनि संसारमा अर्को शीतयुद्ध भएको कदापि चाहँदैनन् । आज संसारसामु तेर्सिएका हजारौँ समस्या र चुनौती सामना गर्न शक्ति राष्ट्रहरू एकजुट हुनुपर्ने अवस्थामा पश्चिमा देशहरूले कोरेको यो विभाजनले संसारलाई अझ दुःखको सागरमा डुबाउनेछ । शीतयुद्धमा फसेको संसारले महामारी र जलवायु परिवर्तनका खतरा सामना गर्न सक्ने छैन । अबको शीतयुद्ध हिजोको शीतयुद्धजस्तो केही देशमा मात्र सीमित रहनेछैन । बरु यसले नेपालजस्तो साना देशलाई पनि प्रत्यक्षरूपमा प्रभावित बनाउनेछ । शक्तिराष्ट्रको चपेटामा पर्दा नेपालको भविष्य कदापि पनि सुन्दर हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *