“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित नृत्य वत्सला मन्दिर शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो ।
सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण सङ्ग्रहित ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ढुङ्गै ढुङ्गाले बनेको शिखर शैलीको वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको चर्चा गर्दै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरूप काम गर्न सहज हुने बताउनुभयो ।
नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएको बताउँदै उहाँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित लाल बैठकलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका सम्पदाहरू अध्ययन–अनुसन्धानमा विदेशीहरूको रूचि हुनु स्वाभाविक भएको बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीलाई नै यहाँका सम्पदाहरूको विषयमा अध्ययन अनुसन्धान गराउनेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरवासी जनताले आफ्नो साझा दायित्वको रूपमा लिएको उल्लेख गर्दै मन्दिर पुनःनिर्माण गर्ने भनपा, उपभोक्ता समिति र पुनःनिर्माणमा आबद्ध कालीगढ सबै धन्यवादका पात्र हुन् भन्नुभयो ।
उहाँले भक्तपुरलाई सफा, स्वच्छ र सभ्य सहरको रूपमा विकास गर्ने सबैको साझा लक्ष्य भएको धारणा राख्दै यो लक्ष्यलाई पूरा गर्न भनपाले शैक्षिक संस्थाहरू सञ्चालन गरी सांस्कृतिक सम्पदाप्रति माया र गौरव गर्ने नयाँ पुस्ता तयार गर्दै आएको बताउनुभयो ।
सम्पदा संरक्षणसम्बन्धी भौतिक व्याख्यासहितको अभिलेख तयार हुनुपर्नेमा जोड दिँदै नेमकिपाले काठमाडौं उपत्यकाका भूकम्प पीडित जनतालाई दिँदै आएको अनुदान चालु राख्नुपर्ने माग राख्दै आएको सांसद सुवालले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको बताउनुभयो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रू. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा रू. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले अवगत गराउनुभयो ।
भक्तपुर नपाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता विषयहरूमा खर्च गर्दै आएको बताउँदै उहाँले विदेशी सहयोग, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आईएनजीओ) हरूको सहयोगविना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नगरपालिकाले पुराना इतिहासको पुनःजागरण र पुनर्लेखन गर्ने उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणसम्बन्धी पुस्तकमा सम्पदा निर्माण कार्यमा आबद्ध श्रमिकको अनुभव र मूल्य अनुदित गरिनुपर्नेमा जोड दिँदै सांसद गोसाईँले निर्माण कार्यमा आबद्ध सम्पूर्ण जनशक्ति धन्यवादका पात्र भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले गरेको सम्पदा संरक्षणले हाम्रो सभ्यताको समेत जगेर्ना भएको बताउँदै भक्तपुर नपाले यहाँका भौतिक सम्पदाहरू अध्ययन–अनुसन्धान र अन्वेषण गर्दै मौलिक शैली, विधि र प्रविधिका साथ संरक्षण गर्ने नीति अगाडि बढाएको बताउनुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका कालीगढको उत्कृष्ट सीप सम्मानजनक भएको बताउँदै वत्सला मन्दिरबारे सूक्ष्मरूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुनरावेदन अदालतका सेवा निवृत्त न्यायाधीश गौरीबहादुर कार्कीले २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षति पुगेको नृत्य वत्सला मन्दिर पुनःनिर्माणले नेपालकै गौरव बढाएकोले न्ह्यकं झ्या दरबारलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न नपाले पहल गर्नुपर्ने बताउनुभयो ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्ने सीप अहिले पनि जीवित रहनु सुखद पक्ष भएको बताउँदै वत्सलासम्बन्धी प्रकाशित पुस्तकले अध्ययन अनुसन्धान गर्ने विद्यार्थी तथा अनुसन्धाताहरूलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डा, भक्तपुरका प्रमुख अरूणा नकर्मीले उपभोक्ता मोडल विवादरहित र सफलरूपमा कार्यान्वयन हुनु नै भक्तपुर नगरपालिकाको विशेषता भएको बताउँदै सम्पदा संरक्षणमा भक्तपुर नपाको भूमिका उल्लेखनीय भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा ‘भक्तपुर’ मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकसम्बन्धी समीक्षा गर्नुभएको थियो भने नृत्य वत्सला मन्दिर उपभोक्ता समितिका अध्यक्ष रामहरि गोराले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा भक्तपुरका सांस्कृतिक नाचहरू माक प्याखं र फाकंदली प्याखं प्रदर्शन गरिएको थियो ।
Leave a Reply