भर्खरै :

सहकारीले सदस्यहरूलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्छ

भक्तपुर, १० पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार संगम बचत तथा ऋण सहकारी संस्था लि को १४ औँ वार्षिक साधारण सभा उद्घाटन गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “आफ्ना सदस्यहरूको हित हेर्नु सहकारी संस्थाको दायित्व हो । आत्मनिर्भरताले आत्मबल बढ्ने छ र त्यसको लागि सदस्यहरूलाई विभिन्न आयमूलक सीप दिनु सहकारीको दायित्व हो । आफ्नै देशमा काम गर्ने वातावरण नभएसम्म देश आत्मनिर्भर हुँदैन । सहकारीले सदस्यहरूलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्छ ।”
“अहिले दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरू विदेशिनुले देश युवाविहीन हुने अवस्थामा छ । स्वदेशमा युवा जनशक्तिको अभाव भइरहेको छ । यसले गर्दा स्वदेशमा हुने कृषि उत्पादनमा ¥हास आएको छ ।” उहाँले भन्नुभयो ।
पढेलेखेका युवाहरूमा पनि देशभक्तिको भावना अभाव भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले युवाहरूमा देशभक्तिको भावना विकास गराउनु आवश्यक छ भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “सहकारीले आफ्ना सदस्यको हित हेरेजस्तै सम्पूर्ण जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्दछ । जनताको भावनाअनुरूप काम नगर्नेहरू वास्तविक जनप्रतिनिधि होइनन् ।’’
जनताको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन पाउँदा जीउधनको रक्षा भएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले शिशुस्याहारदेखि विश्वविद्यालय तहसम्मका कक्षाहरू अहिले सञ्चालन गरिरहको कुरा राख्नुभयो ।
भक्तपुरलाई नमुना नगरको रूपमा विकास गर्न यहाँका जनताले गरेको सहयोगको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘देशकै नमुना नगरको रूपमा भक्तपुर अगाडि बढिरहेको हुँदा विभिन्न नगरपालिकाका मेयर÷उपमेयर तथा प्रतिनिधिमण्डलहरू भक्तपुरको भ्रमणमा आइरहेका छन् ।’’
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताले देशलाई पराधीन बनाउनेछ । देशको सार्वभौमिकता रक्षा गर्न पनि एमसीसीको विरुद्धमा लाग्नुपर्दछ ।’’
कार्यक्रममा भक्तपुर नगर सहकारी शाखाका संयोजक हरिप्रसाद बासुकलाले समुदायमा आधारित सहकारीहरूले वास्तवमा सहकारीको मर्मअनुरुप कार्य गरिरहेको उल्लेख गर्दै भक्तपुर देशैभर ख्वप मोडलको चर्चा भइरहेको वर्तमान परिप्रक्ष्यमा सहकारीमा पनि भक्तपुर मोडलको सबैले अनुसरण गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं ४ का वडाध्यक्ष कुमार चवालले सहकारीहरू नाफामुखीभन्दा सेवामुखी हुने भएकोले बढी ब्याजको प्रलोभन दिने संस्थाहरूबाट सदस्यहरू सचेत हुनुपर्छ भन्नुभयो । भक्तपुर नपा वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यले सामाजिक उत्तरदायित्वसहित पारदर्शी ढङ्गले सदस्यहरूको सेवा गर्नु नै सहकारीको कर्तव्य हो भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव जगनाथ प्रजापतिले समुदायमा आधारित संस्थाहरूको प्रवद्र्धनमा जिल्ला सङ्घको साथ रहने कुरा राख्नुभयो ।
कार्यक्रममा संस्थाका ४१ जना ज्येष्ठ सदस्यहरूलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै विभिन्न उत्कृष्ट सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । संस्थाको युवा उपसमितिअन्तर्गत संगम युवा खेलकुद समूहको आयोजनामा भएको भक्तपुर नगरव्यापी खुला जोडी व्याडमिन्टन प्रतियोगितमा संस्था तथा खेलकुद समूहको तर्फबाट सहभागी भई प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो ।
बन्दसत्रमा संस्थाका सचिव शिवराम किजूले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम नागाले आर्थिक प्रतिवेदन र लेखा संयोजक बलराम सिंबन्जारले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकारद्वय न्हुछेराम भेले र राजाराम चवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष बलराम न्हिसुतुले स्वागत मन्तव्य र संस्थाका सञ्चालक सदस्य सीतालक्ष्मी छुस्याकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सहसचिव सरजु फसिकवले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *