भर्खरै :

माओ त्सेतुङ र संरा अमेरिकी राष्ट्रपति निक्सनबीचको संवाद

पेइचिङ, २१ फेब्रुअरी, १९७२, समयः दिनको २ः५० देखि ३ः५५ सम्म
सहभागीहरू
अध्यक्ष माओ त्सेतुङ
प्रधानमन्त्री चाओ एन लाई
वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयको मर्यादाक्रमअनुसार सहायक प्रमुख
ताङ वेन–शेन, भाषा अनुवादक
राष्ट्रपति निक्सन
हेनरी ए. किसिङ्गर, राष्ट्रिय सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार
विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता)
अध्यक्ष माओले स्वागतभावमा राष्ट्रपति निक्सनलाई स्वागत गर्नुभयो र राष्ट्रपति निक्सनले अध्यक्षसँग भेट्न पाउनु आफ्नो अहोभाग्य भएको बताउनुभयो ।
राष्ट्रपति निक्सनः तपाईँँ धेरै पढ्नुहुन्छ । प्रधानमन्त्रीज्यूबाट तपाईँ उहाँभन्दा धेरै बढी पढ्नुहुने कुरा जानकारी पाएँ ।
अध्यक्ष माओः हिजो विमानमा तपाईँले हाम्रा लागि निकै जटिल समस्या तेर्साइदिनुभयो । तपाईँँले दार्शनिक विषयमा कुराकानी गर्न चाहेको बताउनुभयो ।
राष्ट्रपति निक्सनः मैले अध्यक्षज्यूका कविता र भाषणहरू पढेको छु, त्यसकारण त्यसो भनेको हुँ । तपाईँँ निकै निपुण दार्शनिक भएको कुरा मलाई थाहा छ । (चिनियाँ प्रतिनिधिहरूको हाँसो)
अध्यक्ष माओः (डा. किसिङ्गरतिर हेर्दै) उहाँ त दर्शनशास्त्रको डाक्टर होइनन् र ?
राष्ट्रपति निक्सनः उहाँ त दिमागको डाक्टर हुनुुहुन्छ ।
अध्यक्ष माओः उहाँलाई आजका प्रमुख वक्ता बन्न आग्रह गर्दा कसो होला ?
राष्ट्रपति निक्सनः उहाँ दर्शनशास्त्रका विज्ञ हुनुहुन्छ ।
डा. किसिङगरः हर्वार्ड विश्वविद्यालयमा म मेरा कक्षाहरूमा विद्यार्थीहरूलाई अध्यक्ष माओका सङ्कलित रचनासम्बन्धी काम दिने गर्थें ।
अध्यक्ष माओः मेरा ती रचना खासै केही होइनन् । मैले लेखेका कुरामा त्यस्ता जानकारीमूलक केही छैनन् ।
(फोटोग्राफरहरूतिर हेर्दै) लौ अब, उहाँहरू हाम्रो बैठक र यहाँको बन्दोबस्तको व्याख्या गर्नेतिर लाग्नुभएको छ ।
राष्ट्रपति निक्सनः अध्यक्षका रचनाहरूले एउटा राष्ट्रलाई हल्लाएको छ र संसारमा परिवर्तन ल्याएको छ ।
अध्यक्ष माओः मैले संसार बदल्न सकेको छैन । मैले त पेचिङ वरपरका केही ठाउँहरूसम्ममा परिवर्तन गर्न सकेको छु ।
हाम्रा साझा पुराना मित्र जनरल च्याङ काई शेकले यो कुरा मान्नुभएको छैन । उहाँ हामीलाई कम्युनिस्ट लुटेराहरू भन्नुहुन्छ । हालसालै उहाँले एउटा वक्तव्य दिनुभएको छ । तपाईँँले त्यो हेर्नुभएको छ ?
पाकिस्तानका पूर्वराष्ट्रपतिले हामीलाई राष्ट्रपति निक्सनसँग परिचय गराउनुभएको हो । त्यत्तिबेला पाकिस्तानका लागि हाम्रा राजदूतले तपाईँसँग सम्पर्क राख्न मान्नुभएको थिएन । उनले राष्ट्रपति जोनसन वा राष्ट्रपति निक्सनमध्ये को राम्रो भन्ने विषयमा तुलना गर्नुपर्दछ भनेका थिए । तर, राष्ट्रपति याह्याले दुई जना मानिसको तुलना हुन नसक्ने र यी दुई मानिस अतुलनीय भएको बताउनुभएको थियो । उहाँले एक जना गुण्डा नाइकेजस्तो भएको बताउनुभयो । उहाँले राष्ट्रपति जोनसनलाई त्यसो भन्नुभएको थियो । मलाई थाहा छैन, उहाँको दिमागमा जोनसनबारे त्यस्तो प्रभाव कसरी पर्न गयो ? हाम्रो पक्षबाट हामी दुवै राष्ट्रपतिसँग सम्बन्ध विस्तार गर्न राजी थिएनौँ । हामी तपाईँका सबै पूर्व राष्ट्रपतिहरूबाट खुसी थिएनौँ–राष्ट्रपति ट्रुमानदेखि जोनसनसम्म ।
राष्ट्रपति निक्सनः च्याङ काई शेकले अध्यक्षलाई लुटेरा भन्नुभयो । अध्यक्षले च्याङ काई शेकलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्री चाओ एन लाईः सामान्यतः हामी उहाँहरूलाई च्याङ काई शेक गुट भन्छौँ । अखबारहरूमा कहिलेकाहीँ हामी उहाँलाई लुटेरा भन्छौँ । जवाफमा हामीलाई पनि लुटेरा भनिन्छ । जे होस्, हामी एकअर्कालाई गाली गर्छौँ ।
अध्यक्ष माओः वास्तवमा उहाँसँग हाम्रो मित्रताको इतिहास उहाँसँग तपाईँहरूको मित्रताभन्दा लामो छ ।
राष्ट्रपति निक्सनः हो, मलाई थाहा छ ।
अध्यक्ष माओः हामी दुवैले यो भेटघाटमा एकाधिकार जमाइरहनु ठीक होइन । हामीले डा. किसिङ्गरका कुरा सुन्यौँ भने त्यसो हुनेछैन । तपाईँँको चीन भ्रमणका कारण तपाईँ निकै चर्चित बन्नुभयो ।
डा.किसिङ्गरः यसको लागि निर्देशन दिने र योजना बनाउने काम त राष्ट्रपति महोदयबाट भएको थियो ।
राष्ट्रपति निक्सनः यसो भनेर उहाँ बुद्धिमान सल्लाहकारको परिचय दिइरहनुभएको छ । (माओ र चाओको हाँसो)
अध्यक्ष माओः त्यसो गर्न सफल हुनुभएकोमा उहाँले तपाईँको प्रशंसा गरिरहनुभएको छ ।
राष्ट्रपति निक्सनः उहाँ कोही गोप्य एजेन्टजस्तो देखिनुहुन्न । उहाँ कैदमा रहनुभएको एकै जना त्यस्तो व्यक्ति हुनुहुन्छ जो १२ पटक पेरिस पुग्नुहुन्छ र पेचिङ एक पटक पुग्नुहुन्छ । सम्भवतः एकाध सुन्दर केटीहरूबाहेक उहाँको यो दौडधुप कसैलाई थाहा पनि हुने गर्दैन । (चाओको हाँसो)
डा. किसिङ्गरः उनीहरूले पनि यो भेउ पाएनन्, मैले उनीहरूलाई संसारलाई देखाउने आवरणको रूपमा मात्र प्रयोग गरेको हुँ ।
अध्यक्ष माओः पेरिसमा ?
राष्ट्रपति निक्सनः जसले सुन्दर केटीहरूलाई आवरणको रूपमा प्रयोग गर्न जान्दछ, ऊ समयको सबभन्दा महान् कुटनीतिज्ञ हुनुपर्छ ।
अध्यक्ष माओः भनेपछि तपाईँँका केटीहरू धेरै सम्भव प्रयोग भइसकेको हुने गर्दछन् ।
राष्ट्रपति निक्सनः मेरा केटीहरू होइनन्, उहाँका केटीहरू । मैले केटीहरूलाई आवरणको रूपमा प्रयोग गरेँ भने त म ठूलो समस्यामा पर्नेछु ।
प्रधानमन्त्री चाओ (हाँस्दै): विशेषतः चुनावको समयमा । (किसिङ्गरको हाँसो) डा. किसिङ्गर राष्ट्रपति पदको चुनाव लड्नुहुन्न किनभने उहाँ संरा अमेरिकी नागरिकको रूपमा जन्मिनुभएको थिएन ।
डा. किसिङ्गरः सुश्री ताङ संरा अमेरिकी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ ।
राष्ट्रपति निक्सनः उहाँ प्रथम महिला राष्ट्रपति बन्नुहुनेछ । उहाँ हो–हाम्रो उम्मेदवार ।
अध्यक्ष माओः उहाँजस्तो उम्मेदवार भए तपाईँँहरूलाई धेरै खतरा हुनसक्छ । तर हामी सत्य कुरा गरौँ । यदि डेमोक्रेटिक पार्टी फेरि सरकारमा आए हामीले उहाँहरूलाई सम्पर्क गर्न छोड्नुपर्ने हुनेछ ।
राष्ट्रपति निक्सनः हामीले बुझेका छौँ । हामी तपाईँलाई यस्तो समस्या आउन दिने छैनौँ ।
अध्यक्ष माओः यी प्रश्नहरू मेरो ठाउँमा छलफल गर्न मिल्ने प्रश्नहरू होइनन् । यी विषयहरू प्रधानमन्त्रीज्यूसँग छलफल गरिनुपर्दछ । म दार्शनिक प्रश्नहरूमाथि मात्र छलफल गर्न चाहन्छु । भन्नुको तात्पर्य तपाईँको चुनावमा मैले तपाईँको पक्षमा मत व्यक्त गरेको थिएँ । यहाँ एक जना अमेरिकी हुनुहुन्छ । उहाँको नाम फ्रान्क कोई हो । उहाँले एउटा लेख लेख्नुभएको थियो । त्यत्तिबेला हाम्रो देश सङ्कटमा थियो र तपाईँ आफ्नो चुनावी प्रचारको अन्तिम दिनहरूमा हुनुहुन्थ्यो । उहाँले सो लेखमा तपाईँले चुनाव जित्नुहुने कुरा लेख्नुभएको थियो । मैले त्यो लेखको प्रशंसा गरेको थिएँ । तर, अहिले उहाँ यो भ्रमणको विरोधमा हुनुहुन्छ ।
राष्ट्रपति निक्सनः जब अध्यक्षले मेरो पक्षमा मत व्यक्त गर्नुभएको थियो, तब तपाईँले दुई वटा खराब पक्षको विपक्षमा मत व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष माओः म दक्षिणपन्थीहरूलाई रुचाउँछु । मानिसहरू तपाईँलाई दक्षिणपन्थी भन्छन् । रिपब्लिकन पार्टी दक्षिणपन्थी भएको भन्छन् । प्रधानमन्त्री हिथ पनि दक्षिणपन्थी हुन् ।
राष्ट्रपति निक्सनः अनि जनरल डि गाउली ।
अध्यक्ष माओः डि गाउली त फरक विषय हुन् । उनीहरू पश्चिम जर्मनीको क्रिश्चियन प्रजातान्त्रिक पार्टीलाई पनि दक्षिणपन्थी भन्छन् । दक्षिण खेमाका यी मानिसहरू सत्तामा आउँदा मलाई तुलनात्मकरूपमा खुसी लाग्छ ।
राष्ट्रपति निक्सनः मेरो विचारमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने, अमेरिकामा कम्तीमा यो समय दक्षिणपन्थीहरू त्यो काम गर्नसक्छन् जो वामपन्थीहरू कुरा गर्ने गर्छन् ।
डा. किसिङ्गरः अर्को कुरा पनि छ राष्ट्रपति महोदय । वामपन्थी खेमामा रहेकाहरू सोभियत सङ्घ पक्षधर छन् र जनगणतन्त्रतिर जाने कदमलाई उत्साहित गर्दैनन् । बरु, त्यही आधारमा कसैको आलोचना गर्ने गर्दछन् ।
अध्यक्ष माओः हो, त्यस्तै हो । केही मानिसहरू तपाईँको विरोध गरिरहेका छन् । हाम्रो देशमा पनि त्यस्ता प्रतिक्रियावादी समूहहरू छन् जसले तपाईँहरूसँगको हाम्रो सम्बन्धको विरोध गरेका थिए । तर समयान्तरमा, उनीहरू विमान चढेर विदेशतिर कुलेलाम ठोके ।
प्रधानमन्त्री चाओः सम्भवतः उनीहरूलाई तपाईँ चिन्नुहुन्छ ।
म दक्षिणपन्थीहरूलाई रुचाउँछु । मानिसहरू तपाईँलाई दक्षिणपन्थी भन्छन् । रिपब्लिकन पार्टी दक्षिणपन्थी भएको भन्छन् ।
अध्यक्ष माओः संसारभरि संरा अमेरिकी गुप्तचर रिपोर्ट तुलनात्मकरूपमा ठ्याक्कै मिल्ने गर्दछ । त्यसरी मिल्ने अर्को देश जापान हो । जहाँसम्म सोभियत सङ्घको कुरा त उनीहरू अन्ततः लास उधिन्न गए तर उनीहरूले त्यस विषयमा केही पनि भनेनन् ।
प्रधानमन्त्री चाओः बाहिरी मङ्गोलियामा ।
राष्ट्रपति निक्सनः भारत–पाकिस्तान सङ्कटमा हामीले त्यस्तै खालको समस्या झेल्नुप¥यो । अमेरिकाका वामपन्थीहरूले भारतको पक्ष लिन असफल भएकोमा मेरो चर्को आलोचना गरे । त्यसका दुई कारण थिएः पहिलो उनीहरू भारत पक्षधर थिए र दोस्रो उनीहरू सोभियत सङ्घका पक्षधरहरू थिए ।
यसलाई व्यापक ढङ्गबाट हेरिनुपर्दछ जस्तो मलाई लाग्यो । हामीले कुनै पनि देशलाई, चाहे त्यो जतिसुकै ठूलो किन नहोस्, छिमेकी देशमाथि थिचोमिचो गर्न दिन हुँदैन । यसो भन्दाको मूल्य मैले चुकाउनु पर्नेछ । यो कुरा मैले दुःखका साथ भनेको होइन । मैले यसो भनें किनभने यो सही हो । यसको मैले राजनीतिक मूल्य चुकाउनुपर्नेछ । तर, मलाई लाग्छ इतिहासले यो निर्णयलाई सही ठह¥याउनेछ ।
अध्यक्ष माओः सुझावको रूपमा भन्दै छु, तपाईँ यी सबै कुरा अलि सङ्क्षेपमा मात्र भन्न सक्नुहुन्छ । (राष्ट्रपतिले डा. किसिङ्गरलाई औँल्याउनुभयो र प्रधानमन्त्री चाओ हाँस्नुभयो ।) के हामीले यहाँ गरेको दार्शनिक विषयवस्तुको छलफल तपाईँले अरू कसैलाई भन्नु तपाईँँलाई राम्रो लाग्छ ?
राष्ट्रपति निक्सनः अध्यक्षज्यू, ढुक्क हुनुहोस्, हामीबीच यहाँ जे जति पनि छलफल हुन्छ वा प्रधानमन्त्रीज्यू र मबीच हुने कुनै पनि छलफलको कुरा यो कोठाभन्दा बाहिर जानेछैन । उच्च तहमा हुने संवादको यही नै एकमात्र तरिका हो ।
अध्यक्ष माओः राम्रो कुरा ।
राष्ट्रपति निक्सनः उदाहरणको लागि म प्रधानमन्त्रीज्यू र पछि अध्यक्षज्यूसँग ताइवान, भियतनाम र कोरियाको विषयमा कुराकानी गर्न चाहन्छु ।
म जापानको भविष्य, यो उपमहाद्वीपको भविष्य र त्यसमा भारतको भूमिका अनि व्यापक विश्व परिदृश्यमा संरा अमेरिका–सोभियत सङ्घको भविष्यबारे पनि कुराकानी गर्न चाहन्छु । यी निकै संवेदनशील विषय हो । संरा अमेरिका र सोभियत सङ्घको सम्बन्धबारे कुराकानी गर्न चाहन्छु किनभने हामीले संसारको समग्र चित्र र संसारलाई चलाउने महाशक्तिहरूका विषयमा कुराकानी गरेमात्र हाम्रो दृष्टिकोणलाई पूर्णतः सधैँ दबाइरहेका तात्कालिक र अत्यावश्यक समस्याबारे सही निर्णयमा पुग्न सक्छौँ ।
अध्यक्ष माओः ती सबै समस्याहरूको भित्र गइरहन म चाहन्न । मलाई लाग्छ, तपाईँँसँगको छलफलको लागि दार्शनिक प्रश्नहरू नै राम्रा विषय हुन् ।
राष्ट्रपति निक्सनः अध्यक्षज्यू, उदाहरणको लागि यो बैठकलाई सबै देशहरूले मान्यता दिएका छन् । तर, सोभियत सङ्घले मान्यता नदिनु रोचक पक्ष हो । जापानलाई यो बैठकबारे सन्देह छ जो उनीहरूले व्यक्त गरिसकेका छन् । भारतीयहरूले यो बैठकलाई मान्यता दिएका छैनन् । त्यसो हुनुका कारणबारे हामीले बुझ्न जरुरी छ र सम्पूर्ण संसारलाई व्यवहार गर्ने हाम्रा नीतिहरू तय गर्न जरुरी छ । साथै कोरिया, भियतनाम र पक्कै पनि ताइवानको तात्कालिक समस्याहरूबारे छलफल गर्न आवश्यक छ ।
अध्यक्ष माओः तपाईँका यी कुरासँग म सहमत छु ।
राष्ट्रपति निक्सनः जस्तैः– उदाहरणको लागि हामीले आफू स्वयंलाई सोध्नुपर्दछ– पश्चिम युरोपसँग जोडिएका सीमामा भन्दा चीनसँग जोडिएको सोभियत सिमानामा उसले किन धेरै सङ्ख्यामा सेना तैनाथ गरेको छ ? यो कुरा फेरि पनि यो कोठाभित्र सीमित हुनेछन् । हामीले आफैलाई सोध्नुपर्दछ–जापानको भविष्य के हो ? हो, मलाई थाहा छ हामीबीच विमतिहरू छन् । तर, के जापान तटस्थ बन्नु, पूर्णतः प्रतिरक्षाविहीन बन्नु ठीक हो वा जापानको संरा अमेरिकासँग केही सम्बन्ध विस्तार भए राम्रो हुने समय हो ? म अब दार्शनिक परिधिभित्रै बसेर कुरा गर्दै छु–अन्तर्राष्ट्रिय सम्बन्धमा रोजी–छान्न राम्रा विकल्पहरू नभएको अवस्था हो । एउटा कुरा के हो भने हामीले कुनै खाली ठाउँ राख्न सक्दैनौँ । किनभने, ती सबै ठाउँ भरिभराउ भइसके । उदाहरणको लागि प्रधानमन्त्रीज्यूले भनिसक्नुभयो, संरा अमेरिकाले आफ्नो हात फैलाउँछ र सोभियत सङ्घले पनि आफ्नो हात फैलाउँछ । अब प्रश्न के हो भने जनगणतन्त्रको लागि संरा अमेरिकी हमला बढी खतरनाक हो वा सोभियत सङ्घको हमला बढी खतरनाक ? यी निकै जटिल प्रश्न हुन् र हामीबीच यसमा छलफल हुन जरुरी छ ।
अध्यक्ष माओः अहिलेको परिप्रेक्षमा संरा अमेरिकाबाट कुनै हमला हुने वा चीनबाट कुनै हमला हुने प्रश्न तुलनात्मकरूपमा गौण हो । अर्थात् यो विषय अहिलेको प्रमुख विषय होइन । किनभने अहिले हाम्रा दुई देशबीच लडाइँ हुने अवस्था छैन । तपाईँले विदेशमा रहेका तपाईँका केही सेना आफ्नो देशमा बोलाउनुपर्दछ, हाम्रो त विदेशमा कुनै सेना छैन ।
हाम्रा दुई देशबीचको अवस्था आश्चर्यलाग्दो छ किनभने विगत २२ वर्षसम्म हामीबीच कुनै अन्तरक्रिया भएन । हामीले टेबुलटेनिस खेल्न थालेको पनि दसौँ महिना त भयो । तपाईँले वार्सामा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको समयसमेत गिन्ती गर्ने हो भने हाम्रो सम्पर्क भएको मात्र दुई वर्ष भयो । यो विषयमा हाम्रो पक्षबाट नोकरशाही तरिकाबाट काम भयो । जस्तै उदाहरणको लागि, तपाईँहरूले व्यक्तिगत तहमै केही व्यक्तिहरूको आदानप्रदान चाहनुभएको थियो । व्यापारको पनि चाहना राख्नुभएको थियो । तर, प्रमुख विषयको निक्र्योल नभई स–साना विषयमा कुनै पनि प्रकारको काम नगर्ने हाम्रो अडानमा हामी अडिग रह्यौँ । म स्वयंले पनि त्यो अडानको लागि जोड दिएको थिएँ । पछि मलाई लाग्यो–तपाईँ सही हुनुहुन्छ अनि हामीले टेबुलटेनिस खेलाउने निर्णय ग¥यौँ । निक्सन सरकार बनेपश्चात् प्रधानमन्त्रीज्यूले पनि यो कुरा बताउनुभएको थियो ।
पाकिस्तानका पूर्वराष्ट्रपतिले हामीलाई राष्ट्रपति निक्सनसँग परिचय गराउनुभएको हो । त्यत्तिबेला पाकिस्तानका लागि हाम्रा राजदूतले तपाईँसँग सम्पर्क राख्न मान्नुभएको थिएन । उनले राष्ट्रपति जोनसन वा राष्ट्रपति निक्सनमध्ये को राम्रो भन्ने विषयमा तुलना गर्नुपर्दछ भनेका थिए । तर, राष्ट्रपति याह्याले दुई जना मानिसको तुलना हुन नसक्ने र यी दुई मानिस अतुलनीय भएको बताउनुभएको थियो । उहाँले एक जना गुण्डा नाइकेजस्तो भएको बताउनुभयो । उहाँले राष्ट्रपति जोनसनलाई त्यसो भन्नुभएको थियो । मलाई थाहा छैन, उहाँको दिमागमा जोनसनबारे त्यस्तो प्रभाव कसरी पर्न गयो । हाम्रो पक्षबाट हामी दुवै राष्ट्रपतिसँग सम्बन्ध विस्तार गर्न राजी थिएनौँ । हामी तपाईँका सबै पूर्वराष्ट्रपतिहरूबाट खुसी थिएनौँ–राष्ट्रपति ट्रुमानदेखि जोनसनसम्म । हामी ती राष्ट्रपतिहरू ट्रुमान र जोनसनदेखि खुसी थिएनौँ ।
त्यसबीच आठ वर्षसम्म एक जना रिपब्लिकन राष्ट्रपति बने । त्यो अवधिमा धेरै सम्भव तपाईँहरूले पनि यो विषयमा सोच्नुभएन ।
प्रधानमन्त्री चाओः प्रमुख कुरा त जोन फोस्टर डुलिसको नीति थियो ।
अध्यक्ष माओः चाओले यो विषयमा त डा.केसिङ्गरसँग पनि कुराकानी गरिसक्नुभएको छ ।
राष्ट्रपति निक्सनः (प्रधानमन्त्री चाओ र डा.केसिङगरतिर सङ्केत गर्दै) तर उहाँहरूले एक–अर्कासँग हात मिलाइसक्नुभयो । (चाओ हाँस्नुहुन्छ ।)
अध्यक्ष माओः डाक्टर सा‘ब केही भन्नुहुन्छ कि ?
डा.केसिङ्गरः अध्यक्षज्यू, यो अवधिमा संसारको परिस्थितिमा नाटकीय परिवर्तन भइसकेको छ । हामीले सिक्न बाँकी धेरै कुरा छन् । हामीले सबै समाजवादी र कम्युनिस्ट देशहरूलाई एउटै आँखाबाट हे¥यौँ । राष्ट्रपतिज्यू, सरकारमा नआउञ्जेल हामीले चीनमा भएको क्रान्ति र अरू समाजवादी देशहरूमा क्रान्तिको विकासका फरक चरित्र बुझ्न सकेनौँ ।
सम्भवतः तपाईँ यो कुरामा विश्वास गर्नुहुन्न होला तर म यो कुरामा विश्वास गर्छु–संसारमा न चीन न त संरा अमेरिका दुवै महान् राष्ट्रहरू संसारमा राज चलाउन चाहँदैनन् । यी दुई विषयमा हाम्रा धारणा समान भएका कारण हामी एक अर्काको भूमिका लागि खतरा होइनौँ ।
राष्ट्रपति निक्सनः अध्यक्षज्यू, वर्षौँ–वर्षसम्म जनवादी गणतन्त्र चीनको विषयमा मेरो धारणा अध्यक्षज्यू र प्रधानमन्त्रीज्यूको धारणासँग पूर्णतः बेमेल राख्ने खालको भएको कुरामा म सजग छु । विश्वमा विकसित नयाँ परिस्थितिको बोधले नै हामीलाई सँगै ल्याएको हो । कुनै राष्ट्रको आन्तरिक राजनीतिक दर्शन महत्वपूर्ण होइन भन्ने हाम्रोतर्फको बोधका कारण पनि हामीलाई नजिकिएका हौँ । आन्तरिक राजनीतिक दर्शनभन्दा मुख्य कुरा त्यो राष्ट्रको बाँकी संसार र हामीप्रतिको नीति हो । हो, हामीबीच फरक मतहरू छन् । प्रधानमन्त्रीज्यू र डा. किसिङ्गरबीच यी फरक मतहरूबारे छलफल भइसकेको छ ।
साथै यो कुरा पनि भन्न जरुरी छ–दुई महाशक्तिहरू संरा अमेरिका र चीनको अवस्था हेर्दा चीन संरा अमेरिकी भूभागको लागि कुनै खतरा होइन । मलाई लाग्छ, तपाईँलाई चीनमा संरा अमेरिकाको कुनै त्यस्तो भूमि हडप्ने योजना छ भन्ने कुरामा विश्वास छैन । हामीलाई चीन संरा अमेरिकामाथि कुनै हस्तक्षेप गर्न चाहँदैन भन्ने कुरा थाहा छ । हामीलाई विश्वास छ, तपाईँले पनि संरा अमेरिका चीनमा कुनै हस्तक्षेप गर्न चाहँदैन भन्ने कुरामा विश्वास गर्नुभएको छ । साथै, सम्भवतः तपाईँ यो कुरामा विश्वास गर्नुहुन्न होला तर म यो कुरामा विश्वास गर्छु–संसारमा न चीन न त संरा अमेरिका दुवै महान् राष्ट्रहरू संसारमा राज चलाउन चाहँदैनन् । यी दुई विषयमा हाम्रो धारणा समान भएका कारण हामी एक अर्काको भूमिका लागि खतरा होइनौँ ।
तसर्थ हामीबीच भिन्न मत रहे तापनि हामीले समान धारणा खोज्न सक्छौँ । आफूले कोरेका बाटामा आफ्नै तरिकाबाट सुरक्षितरूपमा विकास गर्नसक्ने विश्व संरचना बनाउन हामीले समान धारणा बनाउन जरुरी छ । विश्वका अरू केही राष्ट्रको सन्दर्भमा यो कुरा भन्न सकिँदैन ।
अध्यक्ष माओः हामी जापान वा दक्षिण कोरियालाई पनि तर्साउँदैनौँ ।
राष्ट्रपति निक्सनः अरू कुनै पनि देशलाई । हामी पनि त्यसो गर्दैनौँ ।
अध्यक्ष माओ (प्रधानमन्त्री चाओसँग समय सोध्दै)ः के आज हामीले गर्नुपर्ने सबै कुराकानी गरिसक्यौँ त ?
राष्ट्रपति निक्सनः अँ । कुराकानी सकाउनुअघि अध्यक्षज्यू म भन्छु– हामीले तपाईँलाई चिन्यौँ र प्रधानमन्त्रीज्यूले हामीलाई यहाँ आमन्त्रण गरेर ठूलै खतरा मोल्नुभएको हामीलाई अवगत छ । हाम्रै लागि पनि यो निकै गाह«ो निर्णय हो । तर, अध्यक्षज्यूका केही वक्तव्यहरू पढिसकेपश्चात् उहाँ सही समय आएपछि प्रत्येक घण्टा र दिन पनि छोप्न सक्ने व्यक्तित्व हुनुुहुन्छ भन्ने मैले जानिसकेको थिएँ ।
प्रधानमन्त्रीज्यूलाई विशेषतः म व्यक्तिगतरूपमा भन्न चाहन्छु–यदि तपाईँले मलाई चिन्नुभएको छैन भने तपाईँले मलाई विश्वास पनि गर्नुहुँदैन । तपाईँले महसुस गर्नुभएको होला, म आफूले गर्न नसक्ने काम कहिल्यै गर्छु भन्ने गर्दिनँ । अनि म सधैँ मैले जे गर्छु भनेको हुन्छु, त्यो भन्दा बढी गर्ने गर्दछु । यही आधारमा म अध्यक्ष माओ र निःसन्देह प्रधानमन्त्रीज्यूसँग बिना अप्ठ्यारो खुलेर कुराकानी गर्न चाहन्छु ।
अध्यक्ष माओ (किसिङ्गरलाई औँल्याउँदै)ः ‘प्रत्येक घण्टा र प्रत्येक दिन कब्जा गर ।’ मानिसहरू मलाई ठूला तोपहरूका गर्जनजस्तै सुन्न मन पराउँछन् । (चाओ हाँस्नुहुन्छ) ‘सारा संसार एक होऔँ र साम्राज्यवाद, संशोधनवाद र सबै प्रतिक्रियावादलाई पराजीत गरी समाजवाद स्थापना गरौँ’ यो पनि त्यस्तै गर्जन हो ।
राष्ट्रपति निक्सनः मजस्तो प्रतिक्रियावादी अनि डाँकाहरूलाई होइन त ।
अध्यक्ष माओः तर, तपाईँ त्यसप्रकार गल्हत्याउनु पर्ने व्यक्तिमा पर्नुहुन्न । उनीहरूले उहाँ (डा.किसिङ्गर)लाई पनि त्यसरी फाल्नुपर्ने व्यक्तिमा पर्नुहुन्न भनी सके । तपाईँहरू पनि फालिनुभयो भने हाम्रो कोही साथीहरू बाँकी रहने छैनन् ।
राष्ट्रपति निक्सनः अध्यक्षज्यू, तपाईँको जीवनबारे हामी सबैलाई थाहा छ । संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको महान् देशको एउटा अत्यन्त गरीब परिवारबाट तपाईँ आउनुभयो । इतिहासले हामीलाई एकै ठाउँमा ल्याएको छ । प्रश्न के हो भने, फरक–फरक दर्शन बोकेका तर जमिनमै टेकेका, जनताबाटै आएका हामीले चीन र अमेरिकामात्र होइन बरु सम्पूर्ण संसारकै हित हुने र गर्नसक्ने ज्यादै महत्वपूर्ण निर्णय गर्नसक्नुपर्छ । त्यही कारण हामी यहाँ आएका हौँ ।
अध्यक्ष माओः तपाईँको पुस्तक ‘द सिक्स क्राइसिस’ त्यत्ति नराम्रो पुस्तक होइन ।
राष्ट्रपति निक्सनः उहाँ(माओ) ज्यादै पढ्नुहुन्छ ।
अध्यक्ष माओः निकै कम । मलाई संरा अमेरिकाबारे त्यत्ति धेरै कुरा थाहा छैन । केही शिक्षकहरू, मूलतः संरा अमेरिकाको इतिहास र भूगोलबारे सिकाउने शिक्षकहरू पठाइदिन आग्रह गर्छु ।
राष्ट्रपति निक्सनः अवश्य, निकै राम्रो ।
अध्यक्ष माओः मैले पत्रकार एड्गर स्नोलाई पनि त्यही कुरा भनेको थिएँ । दुःखद कुरा, उहाँ केही दिनअघि बित्नुभयो ।
राष्ट्रपति निक्सनः निकै दुःखद ।
अध्यक्ष माओः असाध्यै दुःखद ।
हामीबीच आज कुराकानी भयो । निकै राम्रो भयो । कुनै सहमति नभए पनि यस्तो कुराकानी निकै सुखद् हो । किनभने गतिरोधमा बसेर के अर्थ रहन्छ र ? हामी कुनै निश्चित नतिजामा पुग्नैपर्छ भन्ने के छ र ? मानिसहरू भन्ने छन् ,“हामी पहिलो पटक असफल भयौँ भने हामी किन पहिलो पटक सफल हुन सकेनौँ ? त्यसको एउटा कारण हामीले अँगालेको गलत बाटो हो । यदि हामी दोस्रो पटक पनि असफल भयौँ भने के भन्छन् ?”
(त्यसपछि केही समापनका शब्दहरू भनियो । अध्यक्ष माओले आफूलाई सञ्चो नभएको बताउनुभयो । राष्ट्रपति निक्सनले प्रतिक्रियामा अध्यक्ष स्वस्थ देखिनुभएको बताउनुभयो । अध्यक्षले देखिने दृश्य भ्रमपूर्ण हुने गरेको बताउनुभयो । एक अर्कोसँग हात मिलाएर र केही तस्बिर खिचेर राष्ट्रपति अध्यक्ष निवासबाट बाहिर निस्कनुभयो । प्रधानमन्त्री चाओ एन लाईले राष्ट्रपति निक्सनलाई बाहिरसम्म पु¥याइदिनुभयो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *