अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्ति शान्तिपूर्ण या सशस्त्र सङ्घर्षको माध्यमले आउँछ भनी पटक–पटक विवाद हुँदै आएको छ । यसमा वामपन्थी अवसरवादीहरूले जबरजस्त क्रान्तिको नाममा सशस्त्र सङ्घर्षलाई सधैँ जोड दिने गर्छन् भने दक्षिणपन्थी अवसरवादीहरूले शान्तिपूर्ण सङ्घर्ष र चुनावबाटै क्रान्ति ल्याउने नाममा वर्गसङ्घर्षको नीति त्याग गर्दै पुँजीवादी बाटो तताउने गर्छन् । क्रान्ति सशस्त्र वा शान्तिपूर्ण सङ्घर्षको माध्यमले हुन्छ भन्ने कुरा कुनै पनि देशको वा क्षेत्रको तात्कालिक परिवेशमा भरपर्ने कुरा हो । तरै पनि सत्तामा रहेको शोषक वर्गले कहिल्यै सहजै सत्ता त्याग नगर्ने र जनतालाई शस्त्रअस्त्र प्रयोग गरी दमन गर्न अन्तिम अवस्थासम्म दुष्प्रयास गर्ने हुनाले क्रान्तिकारी जनताले शीघ क्रान्ति ल्याउन सक्ने आकलन गर्ने गरिन्छ । आजसम्म कुनै पनि देशमा राजनीतिक सङ्घर्षबिना समाजवाद आएको उदाहरण कतै छैन । बरू पुँजीवादी व्यवस्थालाई नै समाजवाद नामकरण गरेर जनतालाई छलछाम गर्ने काम धेरै देशमा भएको पाउँछौँ ।
विश्व कम्युनिष्ट आन्दोलनभित्रको पटक–पटक सिद्ध भएको एउटा तथ्य छ – वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ । क्रान्तिको निम्ति देशभित्रको आन्तरिक र वरपरका देशको बाह्य स्थिति अनुकूल नहुँदै जबरजस्त क्रान्ति भन्दै कमजोर क्रान्तिकारी पार्टीलाई वर्ग शत्रुको ठूलो फौजसित लडाउने र क्रान्तिकारी पङ्क्तिभित्र ठूलो नोक्सान पार्ने प्रवृत्ति वामपन्थी अवसरवाद हो । त्यस्तै क्रान्तिको निम्ति जनताको साथ र समर्थन मिल्ने निश्चित हुँदाहुँदै पनि र आन्तरिक र बाह्य स्थिति अनुकूल भएर पनि क्रान्तिबाट टाढा भाग्ने प्रवृत्ति दक्षिणपन्थी अवसरवाद हो । वास्तविक क्रान्तिका निम्ति यी दुवै प्रवृत्ति उत्तिकै घातक हुन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा यी दुवै प्रवृत्तिले ठुलो नोक्सान गर्दै आएको देखिन्छ । वामपन्थी अवसरवादीहरू परिवेश आफ्नो अनुकूल हुँदासम्म क्रान्तिको फलाको गर्ने र परिस्थिति केही प्रतिकूल हुनथालेपछि क्रान्तिको विचार त्याग्दै जाने गर्छन् । सिद्धान्तको पहाडमा चिप्लेटी खेल्ने तिनीहरू पतन भएर पहाडको फेदीमा पुग्ने गर्छन् । वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन हुने गर्छन् । हाम्रो देशका ठूला कम्युनिस्ट पार्टी भनाउँदा पार्टीहरू नेकपा एमाले, नेकपा एस र नेकपा माओवादी केन्द्र यसका ज्वलन्त उदाहरण हुन् । एमालेको बारेमा अब धेरै चर्चा आवश्यक छैन । २०४६ सालको जनआन्दोलनको सफलतासँगै एमाले सिद्धान्त फेर्दै भाइ काङ्ग्रेस वा पुँजीवादी पार्टीमा परिणत हुँदै गएको थियो । विज्ञानमा अमिवा टुक्रेर अमिवा बनेझैँ एमालेबाट टुक्रेको एस पनि भाइ काङ्ग्रेस वा पुँजीवादी पार्टी नै हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धार भएको दाबी गरेर नथाक्ने नेता–कार्यकर्ताहरूले भरिएको नेकपा माओवादी केन्द्र पनि भाइ एमाले हुँदै भाइ काङ्ग्रेस बन्न पुगेको छ । कुनै बेला प्रमुख शत्रु र वर्ग शत्रु घोषणा गरेको पार्टीको नेतृत्वमा पटक – पटक सरकारमा जानु र उही पुँजीवादी नीतिमा आत्मसमर्पण गर्दै जानु त्यसको अकाट्य प्रमाण हो । आइतबारदेखि चालु पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेर – अब चुनावबाटै समाजवाद स्थापनातिर अगाडि बढ्ने नीति अगाडि सारेको समाचार बाहिरिएको छ । माओवादी पार्टीलाई विगतदेखि सैद्धान्तिकरूपमा हेरिरहेका विश्लेषक र सचेत जनताका लागि यो कुनै नौलो कुरा होइन । तर, उक्त पार्टीले हिजो सशस्त्र क्रान्ति र जनयुद्धको नाममा युद्धमा होमेका कार्यकर्ता र सहिदका परिवारहरू अवाक्क छन् । चुनावबाटै समाजवाद र साम्यवाद आउने हो भने माओवादी पार्टी स्थापनाको आधारका रूपमा रहेका सिद्धान्त र विचारहरू के हुन् ? के ती सबै झूटा थिए ? यदि ती सिद्धान्त र विचार सही हुन् भने चुनावबाटै समाजवादमा पुग्ने विचार कसरी सही हुनसक्ला ? वास्तवमा नयाँ विचार माओवादी नेताहरूले पुँजीवादी संसदमा मात्र नभई पुँजीवादी सरकारमा गएर व्यक्तिगत र गुटगत स्वार्थपूर्तिको मह चाटिरहेका आफ्ना क्रियाकलापलाई सिद्धान्तनिष्ठ साबित गर्ने असफल प्रयासबाहेक अरू केही होइन ।
Leave a Reply