भर्खरै :

सम्पदाहरूको विवरण स्थानीय तहहरूमा उपलब्ध गराउन माग

भक्तपुर, १४ पुस । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले युनेस्कोबाट सन् १९७० मा पारित सांस्कृतिक वस्तुहरूको अवैधरूपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धिअनुसार नेपालबाट विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाई नेपाल फर्काउन बुधबार सम्बन्धित सरोकारवालाहरूको बैठक सिंहदरबारमा बस्यो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक कलाकृतिको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्ने जिम्मा पाएका मन्त्रालय, विभाग, कार्यालय र सङ्घसंस्थाहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै सांस्कृतिक सम्पदा राज्यले उचित ध्यान दिन नसक्दा चोरी निकासीमा वृद्धि भएको बताउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षणको लागि भनपाले वि.सं. २०५८ सालदेखि २०६१ सालसम्म सांस्कृतिक सुरक्षाकर्मी परिचालन गरिएको र माओवादी जनयुद्ध चर्किएपछि सुरक्षा निकायको आग्रहमा स्थगित गरिएको बताउँदै प्रमुख प्रजापतिले वि.सं. २०५० सालदेखि पर्यटन शुल्क सङ्कलन गर्दै त्यसबाट उठेको रकमले भक्तपुरका सम्पदा संरक्षण गर्दै आएको बताउनुभयो ।
लैनसिंह वाङदेलको Inven tory of Stone Sculptures of the Kathmandu Valley पुस्तकमा उल्लेख भएका काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका प्रस्तर मूर्तिहरूको विवरण सम्बन्धित सबै स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले भक्तपुरबाट हराएका भक्तपुर नगरपालिका वडा नं. ७ स्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालय सङ्ग्रहालयबाट फर्काउन र भक्तपुर नगरपालिका वडा नं. ३ नासमनाबाट हराएको उमामहेश्वरको मूर्ति फ्रान्सको राजधानी पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय सङ्ग्रहालय (गिमे म्युजियम) बाट फिर्ता ल्याउन भक्तपुर नगरपालिकाले परराष्ट्र मन्त्रालय, पुरातत्व विभागलगायत सरोकारवाला सङ्घ संस्थाहरूमा पत्राचार गरेको अवगत गराउनभयो ।
बैठकमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले विभिन्न कालखण्डमा हराएका वा चोरी भएका सम्पदाहरू नेपाल फिर्ता गराउन महानपाको तर्फबाट आवश्यक पहल र समन्वय भइरहेको जानकारी गराउँदै सम्पदा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न ती क्षेत्रहरूमा सुरक्षासम्बन्धी सूचना–प्रविधिको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाई नेपाल फर्काउन विभिन्न समस्या समाधानको लागि स्थानीय तहबाट आवश्यक समन्वय गर्नुपर्ने बताउनुभयो । साथै हराएका वा चोरी भएका सम्पदाहरू फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागका निर्देशक दामोदर गौतमले नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरूको तथ्याङ्क प्रस्तुत गर्दै ६० देखि ८० को दशकमा नेपालबाट व्यापकरूपमा सांस्कृतिक सम्पदाहरूको चोरी भएको बताउनुभयो ।
उक्त बैठकमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुभद्रा भट्टराईले नेपालका चल सांस्कृतिक सम्पदाहरूको अनधिकृत निकारी पैठासीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण देखाउँदै गैरकानुनीरूपमा निकासी भएका सांस्कृतिक सम्पदाहरू क्रमशः नेपाल फिर्ता हुन थालेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तहका प्रमुख, भन्सार विभाग, प्रहरी प्रशासन, राष्ट्रिय कला सङ्ग्रहालयलगायतका प्रतिनिधिहरूले चोरी भएका मूर्ति फर्काउने प्रक्रियालाई मन्त्रालयबाट सहजीकरण गर्नुपर्ने, चोरी भएका मूर्तिहरूको ऐतिहासिक प्रमाणको अभाव रहेको, सबै नाकाहरूमा निकासी वस्तुहरूको कडाइका साथ जाँच गर्नुपर्ने, सम्पदा संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्नुपर्ने, सम्पदाको महत्वबारे पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका सुझावहरू राखेका थिए ।
बैठक संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको थियो । बैठकमा नगर प्रमुख प्रजापतिले मन्त्रालयका सचिव न्यौपानेलाई विभिन्न कालखण्डमा चोरी निकासी भएका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका वस्तुहरू आधिकारिक प्रमाण जुटाइ नेपाल फर्काउन बुँदागतरूपमा सुझावसहितको पत्र हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *