भर्खरै :

देशभर हिमपात र वर्षा, उच्च हिमाली क्षेत्रमा जनजीवन कष्टकर

जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर
खलङ्गा । जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ । हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।”
जिल्लाको पातारासी र गुठीचौर गाउँपालिकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ । गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ । हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाइसेवासमेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

हिमपातले हिउँदे बालीलाई राहत
हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानलाई भने राहत भएको छ । हिउँदे बालीनालीलाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका–२ का रमिला भण्डारीले बताउनुभयो ।
वर्षात्ले हिउँदे बालीलाई फाइदाजनक पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली, हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत हुने कार्यालयका प्रविधिक सुकिराम नेपालीले बताउनुभयो । स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।
अत्यधिक जाडो
हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विशाल नेपालीले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ । जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताउनुभयो । प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ ।
हिमपातले मनाङको जनजीवन कष्टकार
मनाङ मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकर बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिर हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।

“अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । “पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भन्नुभयो ।
स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् । उहाँले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताउनुभयो  । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् । यस अघि मङ्सिर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ ।
हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको बताउनुभयो ।
उहाँका अनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तामा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।
घर बाहिर निस्किन सकस
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।”

अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।
यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जनौँ सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । उक्त राजमार्गको हिउँ पञ्छाउन सडक विभागको डोजर प्रयोग गरिएको प्रहरीचौकी घण्टेश्वर गैराले जनाएको छ ।
म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित
म्याग्दी । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नं ८ को राम्चेमा पनि हिउँ पर्न थालेको छ ।
आज बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष वीरेन गर्बुजा पुनले बताउनुभयो । खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारीसाधन आवतजावत गर्न समस्या भएको छ । वर्षात र हिउँले स्याउ, जौ, उवा, फापरबालीलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चडलगायत पशु चौपायालाई गोठमै बाधेर राखेका छन् ।
उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रूपन्देही, बागलुङ, पर्वतलगायतका जिल्लामा घुम्ती व्यापारका लागि झरेका छन् । म्याग्दीका किसानले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेँशी झारेका छन् । बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौरी, भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँबस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् ।
बालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित
रसुवा । गएरातिदेखि वर्षासंगै परेको हिमपातले उत्तरी रसुवाको जनजीवन कष्टकर बनेको छ ।
सदरमुकाम धुञ्चेदेखि उत्तरी क्षेत्रका गाउँबस्तिहरूमा हिउँ पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । हिमपातका कारण स्याफ्रु , बृद्विम, लाङ्टाङ्, खैदी, थुमन, तातोपानी , टेचाङ्दे, सिम्वु, गतलाङ, चन्दनबारी समेतका क्षेत्रमा प्राभावित भएका छन् । यसैगरि हिमपातले राम्चे, ठाडे, लोकल, यार्सा, हाकुको माथिल्लो भेक गोल्जुङ समेतका गाउँको जनजीवनसमेत कष्टकर बनाएको छ ।
हिमपातका कारण घर पालुवा चौपायलाई चरण क्षेत्र अभाव हुँदा पशु आहाराको सङ्कट बढ्दै गएको पशुपालक कृषकले बताएका छन् । अत्याधिक चिसोले बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
हिमपातको समयमा घरबाट बाहिर ननिस्कन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार हिमपातको असर न्यूनीकरणका लागि न्यानो कपडा वितरण गर्ने पूर्वतयारी भइरहेको छ ।
बाजुरामा हिमपात भएपछि शिक्षण संस्था बन्द
तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ ।
जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौवटै पालिकामा हिमपात भइरहेको छ । हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीय बढी प्रभावित बनेका छन् । त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् ।

यसैगरी लामो समयदेखि सुक्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहुँबालीमा राहत पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन् । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो ।
जिल्लाका बडीमालिका बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यति बेला पुस महिनाको मध्यतिर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, त्रिवेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछि गाईबस्तुलाई पानी खुवाउनसमेत समस्या भएको छ । जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ । तीनदेखिको मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन् ।
लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन् । यहाँका कतिपय शैक्षिक संस्थाले सञ्चालन गरेका परीक्षासमेत प्रभावित बनेका छन् । गए रातिदेखि हिमपात सुरु भएपछि विद्यालयमा बालबालिका आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको मालिका नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताउनुभएको छ ।
इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात
जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो ।
उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ ।
हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईवस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ सन्दकपुरका मातृका खतिवडाले बताउनुभयो । उहाँका अनुसार वर्षासहितको चिसोले घरबाहिरको काम गर्नसमेत समस्या भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाज प्रभावित भएको हो । झरीका कारण सदरमुकामलगायत जिल्लाका मानिसलाई गन्तव्यसम्म पुग्नसमेत समस्या भएको छ ।
पर्वतका उच्च पहाडी भेगमा हिमपातले जनजीवन प्रभावित
पर्वत । यहाँका उच्च पहाडी भेगमा हिमपात भएको छ । बुधबार बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ ।
हिमाली भेगमा बाक्लो हिमपातः जनजीवन प्रभावित
आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिउँ परिरहेको छ । मौमस खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।” हिमपातका कारणले अत्यधिक चिसो बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताउनुभयो । हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिनभयो । यता ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि गए रातिदेखि वर्षा हुन जारी रहेको छ । हिमपात भएसँगै चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावित भएको छ ।
हुम्लामा भारी हिमपात
सिमकोट– हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।
आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्ये भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताउनुभयो । यस वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।
सिमकोटमा दुई फिट हिउँ
आज बिहानदेखि निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसानजस्तै देखिएका छन् । निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *