भर्खरै :

क्यान्सर अस्पतालमा अस्पताल बिगार्ने डाक्टरहरूको राजनीति

  • पुष १५, २०७८
  • –सुमनराज खड्का, भक्तपुर
  • साहित्य

चिकित्सकहरू पनि सामाजिक र राजनीतिक प्राणी हुन् । उनीहरूको पनि सङ्गठित हुने र पेशागत हकहितका लागि गतिविधि गर्नेमात्र होइन राजनीति गर्ने अधिकार छ । तर, जसरी शिक्षक र विद्यार्थीको शिक्षण संस्था र विश्वविद्यालयहरू सुधारको लागि हुनुपर्छ त्यसरी नै चिकित्सकहरूको राजनीति अस्पताल सुधारको लागि हुनुपर्छ । यदि कसैले भइरहेको सुधारमा अवरोध पु¥याउने, असहयोग गर्ने र बिगार्ने नियत राखेर काम गर्छ भने त्यस्तो राजनीतिलाई प्रतिक्रियावादी राजनीति भनिन्छ । त्यस्तो राजनीतिले कुनै पनि संस्था, समाज र देशलाई अगाडि बढाउन बाधा पु¥याउँछ ।
अहिले सरकारी अस्पतालमा परिणत भएर सुधारको बाटोमा अगाडि बढिरहेको भक्तपुर क्यान्सर अस्पतालमा केही चिकित्सकहरूले त्यस्तै प्रतिक्रियावादी राजनीति गरिरहेका छन् । अस्पताललाई उपचार केन्द्रमात्र नभई प्राज्ञिक संस्थाको रूपमै अगाडि बढाउने कार्यमा केही डाक्टरहरूले अवरोधको रूपमा भूमिका खेलिरहेको देखिन्छ ।
ती डाक्टरहरूले अनुशासित भएर अस्पतालमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेका छैनन् । समयमा अस्पतालमा उपस्थित भएर बिरामी जाँच्ने काम गरिरहेका छैनन् र समय अगावै अस्पताल छोडिरहेका छन् । ती डाक्टरहरूले बिरामीहरूलाई विस्तृत जाँचको लागि निजी क्लिनिक र निजी अस्पतालहरूमा बोलाइरहेका छन् । तिनीहरू अस्पतालमा शल्यक्रिया गर्दैनन् । ती डाक्टरहरूले भक्तपुर क्यान्सर अस्पतालमा भन्दा बढी समय निजी क्लिनिक र निजी अस्पतालहरूमा दिइरहेका छन् । ती नै डाक्टरहरूले भक्तपुर क्यान्सर अस्पताल सरकार मातहत गएपछि यसको सेवा खस्कियो, विकास गर्न सकिएन भनेर बेलामौकामा सञ्चारमाध्यममार्फत प्रचार गरिरहेका छन् ।
ती अस्पतालको विनियमअनुसार अनुशासित भएर काम नगरिरहेका केही डाक्टरहरूले पेशागत हकहितका लागि भन्दै डाक्टर्स सोसाइटी बनाएको समाचार सामाजिक सञ्जालको भित्तामा छायो । उनीहरूले लामो समयदेखि अस्पतालभित्र छुट्टै संस्था गठन गर्ने प्रयास गरिरहेका थिए । केही सोझासीधा डाक्टरहरूलाई फसाएर सोसाइटी गठन गरिएको छ ।
आफू कार्यरत अस्पताल वा संस्थाको विकास नचाहने, संस्थाप्रति इमानदारिता देखाउन नसक्ने, हरेक समय आफ्नो सुविधा बढाउने माग गर्ने त्यस्ता डाक्टरहरूले कुनै पेशागत माग इमानदारीपूर्वक उठाउन सक्ने देखिँदैन । नियम कानुनमा नबस्ने, नैतिकताको ख्याल नगर्ने त्यस्ता पदाधिकारीहरू नेतृत्व गर्ने पदमा बस्न पनि मिल्दैन । अस्पताल डाक्टरहरूको मात्र होइन, सबै नेपाली जनता र देशकै हो । अस्पताल बिगार्ने र पुनः अमुक संस्थालाई वा केही व्यक्तिहरूलाई नाफा कमाउन र कमिसन कुम्ल्याउन दिनुपर्ने विचार पेशागत हकहितको विचार हुनैसक्दैन । अस्पताल बिगार्ने डाक्टरहरूको राजनीति अविलम्ब बन्द हुनुपर्छ र त्यस्ता प्रतिक्रियावादी राजनीतिदेखि अस्पतालका सबै इमानदार चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरू सजग रहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *