भर्खरै :

नेक्राविसङ्घको पूर्ण बैठक सुरु समाज परिवर्तनबारे चिन्तन गर्न आग्रह

काठमाडौँ, १७ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको दोस्रो पूर्ण बैठक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको आतिथ्यमा शनिबार सुरू भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले समाजमा आमूल परिवर्तन ल्याउन जनताको माझमा गएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्रान्तिकारीहरूले निरन्तर समाज परिवर्तनको विषयमा चिन्तन–मनन गर्नुपर्छ । ठीक समयमा उपयुक्त काम गर्नु नै क्रान्तिकारी जीवन शैली हो ।”
अध्यक्ष बिजुक्छेँले आफ्नोभन्दा देश र जनताको हितमा काम गर्ने भावना बोकेर विद्यार्थी कार्यकर्ताले अध्ययन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
क्रान्तिकारी नेताहरूको जीवनी अध्ययन र जीवनीबारे अन्तरक्रिया गरेर क्रान्तिकारी जीवनशैली अपनाउनुपर्ने सुझाव दिँदै अध्यक्ष बिजुक्छँेले जीवनको मुख्य उद्देश्य देश र समाजको सेवा गर्ने हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विद्यार्थी सङ्गठनले विद्यार्थी र समाजका मुद्दाहरू पहिचान गरेर आन्दोलनका गतिविधिहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“नेक्राविसङ्घका कार्यकर्ताले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो धरातल बलियो बनाएर अघि बढ्नुपर्छ । पुँजीवादको चङ्गुलबाट विद्यार्थीलाई जोगाउन विद्यार्थी सङ्घले भूमिका खेल्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले चीन र संरा अमेरिकाबीच भइरहेको द्वन्द्वबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकाले आफ्नो प्रभुत्व संसारमा जमाउन र एसियामा चिनियाँ प्रभावलाई रोक्न इन्डोप्यासेफिक रणनीति अगाडि सारेको हो ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सङ्गठन बलियो बनाउन विद्यार्थी कालदेखि नै सैद्धान्तिकरूपमा परिपक्व हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “साहित्यिक गतिविधिले सङ्गठन विस्तारमा सहयोग गर्ने भएकोले यसतर्फ विद्यार्थीले ध्यान दिनु आवश्यक छ ।”
आयोजक समितिका संयोजक प्रकाश गुरूङको सभापतित्वमा भएको उक्त बैठकमा रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *