भर्खरै :

त्वचा फल्चा (पाटी) उद्घाटन

भक्तपुर, १७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित त्वचा फल्चा (पाटी) को शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिबाट पुनःनिर्मित २०७२ सालको भूकम्पबाट भत्केको त्वचा फल्चा, त्वचा सडक र गरुडकुण्डको पेटी र पर्खालको पनि संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी र पर्ती जग्गा संरक्षण र संवद्र्धनको जिम्मा स्थानीय सरकारको भएको औँल्याउँदै भक्तपुर नपाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणका साथै भक्तपुरको रानीपोखरीलाई पुनःजीवन दिने कार्य गरेको बताउनुभयो ।
भक्तपुरको पुरानो क्षेत्रमा मौलिक शैलीका घर बनाउने नगरवासीहरूलाई नगरपालिकाले प्रोत्साहनस्वरूप आर्थिक अनुदानको योजना अघि सारेको उल्लेख गर्दै उहाँले २०७२ सालको भूकम्पबाट भत्केको र लामो समयदेखि जीर्ण अवस्थामा रहेका फल्चा पुनःनिर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
सरकारले विकास निर्माणको कार्यमा ठेकेदार पोस्ने कार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत सफलतापूर्वक गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वडाबाट सञ्चालित विविध गतिविधिबारे अवगत गराउँदै वडावासीको साथ र सहयोगका कारण काम गर्न सजिलो भएको बताउनुभयो । कार्यक्रममा शिक्षासेवी ज्ञानसागर प्रजापतिले ठेक्का र उपभोक्ता समितिबाट हुने निर्माणबीचको अन्तरबारे प्रस्ट पार्दै ठेकेदारको मुख्य उद्देश्य नाफासँग सम्बन्धित हुने र उपभोक्ताको काम जनसहभागितामा गुणस्तरीय निर्माण हुने बताउनुभयो ।
त्वचा फल्चा उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी प्रजापतिले फल्चा पुनःनिर्माणको आयव्यय प्रस्तुत गर्दै कुल खर्च १४ लाख ५० हजार ७५७ रूपैयाँ रहेको अवगत गराउनुभयो । त्यस्तै गरुडकुण्ड पेटी र पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद प्रजापतिले पर्खाल र पेटी निर्माणको लागि जम्मा रु. ४ लाख १५ हजार ९ सय २३ रूपैयाँ खर्च भएको र त्वचा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर खयरगोलीले बाटो निर्माणमा रु. ५ लाख १५ हजार ९२३ रूपैयाँ खर्च भएको आर्थिक विवरण पेश गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ, नेमकिपा ९ वडा सूर्यमढीका पार्टी इन्चार्ज दिलभक्त कोजु, स्थानीय तुल्सीराम प्रजापति र दीपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *