भर्खरै :

बाइडेनको एक वर्ष

संरा अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन आसिन भएको झन्डै एक वर्ष भयो । राष्ट्रपतिको रूपमा गत वर्षको जनवरी २० मा दिएको भाषणमा उनले संरा अमेरिकाका रोग ‘निदान गर्ने’ वाचा गरेका थिए । तर, एक वर्षको अन्तरालमा त्यस्तो केही हुन सकेन । सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसदभवन क्यापिटोल हिलमा भएको उपद्रवले अमेरिकी अर्थतन्त्र र समाजमा गहिरो विभाजन देखायो । त्यो विभाजनको हावाले बाइडेन सरकारलाई अझै छोडेको छैन । ११७ औँ संरा अमेरिकी संसदले अमेरिकी समाजमा सघन बन्दै गएको नव–जातिवाद देखाएको छ । रिपब्लिकन पार्टीसँगको राजनीतिक सङ्घर्षसँगै बाइडेनले आफ्नै डेमोक्रेटिक दलभित्रका केही सदस्यहरूसँग पनि सङ्घर्ष गर्नुपरेको छ ।
बाइडेन सरकारको श्रेणीकरण गर्न हामीलाई लगाए हामी ‘ख’ श्रेणीमा राख्ने थियौँ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरूको जोडबलमा अमेरिकी उद्धार योजना र दुईदलीय पूर्वाधार कानून पारित गरियो । तर बाइडेन सरकारले सुरुमा प्रस्ताव गरेको प्रस्तावको तुलनामा निकै सीमित आकारमा मात्र त्यो पारित हुन सक्यो । बाइडेनको लागि अझ महत्वपूर्ण मानिएको बिल्ड ब्याक बेटर कार्ययोजना पनि पहिलो कार्यकालमा पारित हुन सकेन । डेमोक्रेटिक दलका सिनेटरहरू जो मेनचिन र क्राइस्टिन सिनेमाको विरोधका कारण त्यो कार्ययोजना पारित भएन । संसद्मा बाइडेन सरकारले भोगेको असहजताको कारण गोल्डम्यान सच्सले सन् २०२ को पहिलो चार महिनाको लागि संरा अमेरिकी कुलगार्हस्थ उत्पादनको पूर्वानुमानमा अघिल्लो ३ प्रतिशतबाट २ प्रतिशतमा झारेको थियो ।
उमेरले बाइडेन झन्डै ८० पुगे पनि उनी अझै पनि महत्वाकाङ्क्षी अमेरिकी राष्ट्रपति हुन् । उनलाई एक्काइसौँ शताब्दीका फ्रन्कलिन डी रुजबेल्ट भनिएको छ । नवउदारवादले पु¥याएको हानि समाप्त गर्दै रुजबेल्टले ‘नवीन नयाँ सम्झौता’ अघि ल्याएका थिए जसले संरा अमेरिकामा राष्ट्रिय विकासको नयाँ चक्र सिर्जना गरेको थियो ।
तथापि, ७९ वर्षका बाइडेनले अझै खराब अवस्थाको सामना गरिरहेका छन् । ‘नयाँ एनपीआर÷पीबीएस न्युजआवर÷मरिस्ट मत सर्वेक्षणले बाइडेनप्रतिको जनसमर्थन ४१ प्रतिशतमा खुम्चिएको देखाएको छ । सो समूहले गरेको मतसर्वेक्षणमा पहिलोपटक अमेरिकी राष्ट्रपतिप्रतिको जनसमर्थन ओरालो लागेको हो’, डिसेम्बर २० मा ‘द हिल’ मा प्रकाशित समाचारमा उल्लेख छ । अझै पनि ७० प्रतिशतभन्दा बढी रिपब्लिकन मतदाताहरू सन् २०२० को चुनाव बाइडेन र डेमोक्रेटिक दलले ‘चोरी गरेको’ मा विश्वास गर्छन् ।
बाइडेनभन्दा अघि राष्ट्रपति बनेकाहरूमध्येको तुलनामा उनप्रतिको जनसमर्थन दर तीब्र गतिमा ओरालो लागेको छ । संरा अमेरिकामा महामारी फैलिरहेको छ । आपूर्ति व्यवस्था खराब बनेको छ । मुद्रास्फीति उकालो लागेको छ । तेल र ग्यासको मूल्य पनि तीब्र गतिमा उकालो लागेको छ । मेक्सिकोसँगको सीमा विवाद उस्तै छ । यी मुद्दाहरू अझै चर्किनुले बाइडेन सरकारको अवस्था थप खराब बनाएको छ ।
अर्को वर्ष हुने मध्यावधिमा बाइडेन र डेमोक्रेटहरूले ठुलो चुनौती सामना गर्नुपर्नेछ । यो वर्ष भर्जिनियामा हुने क्षेत्रीय निर्वाचनमा रिपब्लिकनका ‘कच्चा राजनीतिक खेलाडी’ ग्लेन योङकिनले बाइडेनको समर्थन प्राप्त डेमोक्रेटिक दलका उम्मेदवार टेरी मेकअलिफलाई पराजित गरे । सन् २०२ को संसदीय मध्यावधि निर्वाचनको लागि यो क्षेत्रीय निर्वाचनको नतिजा महत्वपूर्ण मानिएको छ । योङकिनको विजयले डेमोक्रेटिक पार्टी चलाउने बाइडेनको क्षमतामा अविश्वसनीयता अझ गहिरो बनाएको छ । त्यस्तै न्यूनतम ज्याला वृद्धि, विद्यार्थीहरूको ऋण घटाउने, वातावरणीय कानुन बलियो बनाउने र जलवायु परिवर्तन समाधान गर्नेजस्ता विषयमा बाइडेन थप अनुदार रहेको प्रगतिशील तप्काको बुझाइ छ ।
रिपब्लिकनहरूले सन् २०२२ को चुनावको लागि तयारी थालिसकेका छन् । उनीहरूले बाइडेन पनि जिम्मी कार्टरजस्तै एक कार्यकालको लागि मात्र राष्ट्रपति हुने प्रचार गरेका छन् । रिपब्लिकन नेता केभिन मेकार्थी र अरू नेताहरूले सन् २०२२ मा अमेरिकी संसदमा आफ्नो नियन्त्रण पुनः स्थापित हुने दाबी गरिरहेका छन् । रिपब्लिकन सांसदहरूको बाहुल्य भएका राज्यहरूले सन् २०२० को चुनावबाट सिकेर निर्वाचन क्षेत्रहरूलाई मतदान गर्न असहज हुने नयाँ कानुनहरू पारित गरेका छन् । संसदमा मतदानको विषयमा दुई शासक दलबीचको भयानक लडाइँले अमेरिकी शैलीको प्रजातन्त्रमा गहिरो सङ्कट देखाएको छ ।
२ सय वर्ष पुरानो संरा अमेरिकी प्रजातन्त्र ‘कसैले सोचेभन्दा गृहयुद्धको नजिक भएको’ बारबारा वाल्टरले भनिन् । सान डिएगोस्थित क्यालिफोर्निया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक वाल्टरले आफ्नो नयाँ पुस्तक ‘हाउ सिभिल वार्स स्टार्ट’ मा यो कुरा लेखेकी छिन् ।
शीतयुद्धको समाप्तिले संरा अमेरिकालाई आक्रामक बनायो । त्यसकारण त्यहाँको राजनीतिक व्यवस्थामा देखिएका विरामबारे आँखा चिम्लेर बसियो । सिङ्गापुरका राजनीतिशास्त्री किशोर महाबुबानीले संरा अमेरिकाले अहिले पूर्व सोभियत सङ्घले जस्तै व्यवहार गरिरहेको बताउँछन् । ‘इतिहासको अन्त्य’ को विचार प्रस्ताव गर्ने राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले अमेरिकी राजकीय निकाय र समाजप्रति संसारभरका जनताको आकर्षण ‘निकै ओरालो लागेको’ बताउँछन् ।
यद्यपि, खतराको बादल अझै मडारिरहेको छ । तीन जना सेवानिवृत्त अमेरिकी सैनिक जनरलहरूले संयुक्त रूपमा लेखेको ‘द वाशिङ्टन पोस्ट’ मा प्रकाशित एउटा लेखमा संरा अमेरिकामा देखिएको विभाजनको प्रभाव सेनामा समेत पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यो सम्भावित विध्वंसको सङ्केत हो । हेज कोषका संस्थापक अर्बपति रे डालिओले अर्को दस वर्षमा संरा अमेरिकामा गृहयुद्ध हुने सम्भावना तीस प्रतिशत भएको बताएका छन् ।
बाइडेनले अमेरिकामा गहिरो राजनीतिक विभाजन देखेका छन् । तर, उनी निरीह छन् । सांसदहरूलाई अझै पनि उनीहरूको बुझाइमा चीनजस्ता कथित ‘अप्रजातान्त्रिक’ देशहरूमाथि नाकाबन्दी थोपर्न भ्याइनभ्याइ छ । तर, अमेरिका ‘अनुदार प्रजातन्त्र’ मा स्खलित हुँदै गरेको कुराप्रति उनीहरू सुने नसुने जस्तै, देखे नदेखे जस्तै गरी बसेका छन् । संरा अमेरिकी संसदका सदस्यहरू संरा अमेरिकी प्रजातन्त्रको लगातारको स्खलनको निम्ति दोषी छन् । त्यही भएर बाइडेनको प्रभाव कमजोर हुँदै गएको हो ।
(लेखक रेनमिन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *