भर्खरै :

ख्वप साकोसको १४ औँ वार्षिक साधारणसभा

भक्तपुर, १७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ वार्षिक साधारणसभाको उद्घाटन शनिबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विविध विषयमा संस्थाका सदस्यहरूलाई सचेत र शिक्षित गर्नु आवश्यक भएको बताउँदै भक्तपुरलाई सहकारीको माध्यमबाट चिनाउन नमुना कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
सरकारले देशको सन्तुलित व्यवस्थामा ध्यान दिन नसक्दा देश सबै क्षेत्रमा परनिर्भर बन्दै गइरहेको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले देशकै उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सक्षम भएको र एक घर एक स्नातक अभियानले सार्थकता पाएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी अनुगमनको क्रममा सुधार गर्नुपर्ने विषयमा सहकारी संस्थाहरूको ध्यानाकर्षण गराउँदै आएको बताउँदै सहकारी संस्थाले समाजकेन्द्रित गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले १,६५० जनाभन्दा बढी शेयर सदस्य रहेको ख्वप साकोस समुदाय तथा शेयर सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक स्तर उकास्न स्थापनाकालदेखि क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट प्रतिनिधि चण्डिका छुकां, संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, संस्थापक अध्यक्ष कुमार लघु, सल्लाहकार कृष्णभक्त लघु, स्थानीय गणेशप्रसाद सुवाल र लेखा समितिका सदस्य कृष्णराम सुलुले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको उद्घाटन सत्रमा सङ्घका सचिव लक्ष्मीनारायण सुवालले आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन तथा आ.व. ७८।७९ को प्रस्तावित कार्यक्रम, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीदास बासुकलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष अमर बासुकलाले आ.व. २०७७।७८ को यथार्थ आयव्यय विवरण तथा आ.व. २०७८।७९ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *