भर्खरै :

नेक्राविसङ्घको १३ औँ राष्ट्रिय सम्मेलन फागुन २०–२२ गते काठमाडौँ उपत्यकामा

काठमाडौँ, १८ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको दोस्रो पूर्ण बैठक सम्मेलनको स्थान र मिति तय गर्दै सम्पन्न भएको छ ।
बैठकले आगामी फागुन २०, २१ र २२ गते काठमाडौँ उपत्यकामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विद्यार्थीहरूले समसामयिक विषयमा गहिरो जानकारी राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूले राजनीतिमात्र होइन, सांस्कृतिक र भूगोलको कुरा पनि थाहा पाउनुपर्छ ।”
उहाँले कोरोनाविरुद्ध अझै सतर्कता आवश्यक रहेको जनाउनुभयो । देशघाती एमसीसी सम्झौताबारे चर्चा गर्दै उहाँले नेमकिपाले हालसम्म ३३ जिल्लामा १०२ भन्दा बढी स्थानमा जुलुस प्रदर्शन एवम् विरोध सभाहरू आयोजना गरेको बताउनुभयो । प्रजातान्त्रिक सम्मेलन गरेर अमेरिकी साम्राज्यवादले युद्धको तयारी गरेको विचार राख्दै उहाँले अमेरिकाभित्रै त्यहाँका आदिवासी, अफ्रिकी र एसियाली अमेरिकीहरूमाथि थिचोमिचो हुने गरेको स्मरण गर्नुभयो । बरु चीनले अर्को चिनियाँ जातिको एकतासहितको देश बनाउने लक्ष्य लिएको उहाँको भनाइ थियो ।
नेपालका विभिन्न पार्टी र तिनका दृष्टिकोणको विषयमा प्रशिक्षण दिँदै नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालमा धेरै राजनीतिक दल भए पनि सारमा दुईथरी पार्टीमात्र भएको बताउनुभयो ।
पुस ४ गते एमसीसीबारे प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकबारे चर्चा गर्दै शासकहरू बैठकपछि पत्रकारहरूको सामना गर्न नसकी भागाभाग गरेको जनाउनुभयो । निर्वाचनलाई वैचारिक सङ्घर्षको रूपमा हेर्नुपर्ने धारणा उहाँले राख्नुभयो । भक्तपुर नगरपालिकाको विभिन्न जनपक्षीय गतिविधिहरूबारे बताउँदै उहाँले समाजवादउन्मुख विकासले निजी क्षेत्रलाई कमजोर तुल्याउँदै लग्ने जिकिर गर्नुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीहरूले समाजवादी शिक्षा व्यवस्थाबारे अध्ययनका साथसाथै चिन्तन पनि गर्नुपर्ने विचार राख्नुभयो । समाजवादी शिक्षाको सन्दर्भमा विद्यार्थीले क्युवाली र उत्तर कोरियाली शिक्षा मोडलबाट सिकेर नेपालको आफ्नै समाजवादी शैक्षिक मोडल निर्माण गर्नुपर्ने औँल्याउनुभयो ।
बैठक नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *