सतही निर्णयले परिवर्तनको अनुभूति नहुने
- बैशाख ८, २०८३
कुनै समय नेपालमा धानलगायत कृषि उत्पादन निर्यात गथ्र्यो । अहिले नेपालमा बर्सेनि खर्बौं रूपैयाँको खाद्यान्नलगायत कृषि उत्पादन आयात गर्नुपर्ने स्थितिमा छ । कृषि उत्पादन निर्यातको अङ्क भने आयातको ४–५ प्रतिशतमात्र रहेको छ । नेपालमा कृषियोग्य भूमिको क्षेत्रफल विगतमा भन्दा घटेको देखिँदैन । फेरि पनि कृषि उत्पादनमा ¥हास किन आयो ? यो प्रश्नको वास्तविक जवाफ खोज्नेतिर नेपालका आजसम्मका सरकारहरूको ध्यान जान सकेको देखिँदैन ।
सरकारहरूले कृषि उत्पादन वृद्धि गर्ने एकोहोरो नारा लगाउन भने छोडेको देखिंदैन तर वास्तविक समस्या केलाएर समाधानमा ध्यान गएको छैन । रासायनिक मलको प्रयोगपछि कृषि उत्पादनमा गुणात्मक वृद्धि भएको सत्य हो तर मल सधैँ गुणस्तरयुक्त भने भएन । देशको कृषि क्षेत्रको लागि आयात गरिने रासायनिक मलको गुणस्तर परीक्षण यदाकदाबाहेक हुने गरेको पाइँदैन । नेपालमा जापान, दक्षिण कोरिया, चीन, भारत, बङ्गलादेशलगायत देशबाट रासायनिक मल आयात गर्ने गरिएको पाइन्छ । विशेषगरी भारत र बङ्गलादेशबाट आयात गरिएका मल बढी हाल्नुपर्ने र बढी हाल्दा पनि बाली नसप्रेको अनुभव नेपाली किसानहरूको छ । त्यसमा आपूर्तिकर्तामात्र दोषी हो कि आयातकर्ता सरकारी निकायहरू पनि दोषी छन्, खासै अनुसन्धान भएको पाइँदैन । यस्तैमा आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गराएको समाचार आयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल आयात गरेको अभियोगमा उल्लेख छ । रासायनिक मलको गुणस्तरमा कमी ल्याएर देशको कृषि उत्पादनमा ¥हास ल्याउनमा दोषी र जिम्मेवार व्यक्ति र पदाधिकारी सबैमाथि हदैसम्मको कारबाही हुनुपर्छ ।
नक्कली मलजस्तै नक्कली र म्याद गुज्रेका बीउबिजन पनि उत्पादनमा ¥हास आउनुको अर्को कारण हो । नाफाको निम्ति मरिहत्ते गर्ने व्यापारीहरूले भारतीय बजारमा सस्तोमा उपलब्ध बीउबिजनलाई प्याकेजिङ फेरेर वा रङ्ग थपथाप गरेर महँगो मूल्यमा नेपाली किसानहरूलाई बेच्ने गरेको खुलासा पटक–पटक भएकै हुन् । जसका कारण हरेक वर्षझैँ कहिले मकैमा घोगा नलाग्ने र कहिले धान नफल्ने र फलेता पनि निकै कम मात्र फल्ने गरेका घटना दोहोरिरहेका छन् । त्यसरी नक्कली र गुणस्तरहीन बीउबिजनको कारोबार गरेर किसान र देशलाई धोका दिएका व्यापारीहरूमाथि न खासै कुनै कारबाही भयो न बालीमा क्षति भोगेका किसानले उचित क्षतिपूर्ति नै पाए । त्यस्ता कसुरदारलाई कारवाही गर्ने निकायमा रहेका सरकारी अधिकारीहरूले व्यक्तिगत लाभ लिएर कसुरदार व्यापारीहरूलाई उन्मुक्ति दिने गरेको खुला भइसकेको छ ।
सरकारले देशको हावापानी सुहाउँदो र उत्पादन वृद्धि हुने बीउबिजन देशमै पर्याप्त उत्पादन गर्न सकिएको भए र अप्रमाणित विदेशी बीउबिजनको आयात र खुलेआम बिक्री वितरणमा रोक लगाएको भए देशको कृषि उत्पादनमा देश आत्मनिर्भर भइसक्ने थियो । तर, कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणको कुरा बढी र काम थोरैमात्र भएका छन् । कृषि क्षेत्रका दक्ष जनशक्ति र युवाहरूलाई विदेश पलायन हुनबाट जोगाएर कृषि क्षेत्रमा भविष्य देखाउन सकिएको भए कृषि क्षेत्रको अवस्था आजको भन्दा धेरै माथि पुगिसक्ने थियो । यसतर्फ सरकारमा गएका र रहेकाहरूले ध्यान नदिनु विडम्बनापूर्ण छ ।
Leave a Reply