भर्खरै :

भारत–चीन सीमा सुरक्षा बलबीच “मिठाइ आदानप्रदान”

“आशा जाग्यो तर भन्न सकिन्न”
भारतका सञ्चारमाध्यमले हालै भारतीय र चिनियाँ सीमा सुरक्षा बलबीच सीमा क्षेत्रमा आपसमा ‘शुभकामना र मिठाइ आदानप्रदान’ भएको समाचार प्रकाशित गरेका छन् । केही ‘समस्याग्रस्त सीमाबिन्दु’ मा समेत दुई देशका सीमा सुरक्षाकर्मीबीच शुभकामना आदानप्रदान भएको बताइएको छ । यद्यपि, चीनको कुनै पनि आधिकारिक स्रोतले त्यसको स्वतन्त्र पुस्टि गरेको छैन । तर, चीनका केही विश्लेषकहरू सीमा क्षेत्रमा यस्ता गतिविधि परम्परा नै भएको र यसले सन् २०२२ मा भारतका नीति निर्माताहरूले चीनसँगको सीमा समस्या कम गर्ने शुभेच्छा राखेको अर्थमा बुझ्नु उपयुक्त हुने बताएका छन् ।
तर, सीमा समस्याको जटिलताको कारण यो सकारात्मक सन्देशले मात्र दुवै पक्षका सबै समस्या समाधान गर्ने वा तत्काल सहमतिमा पुग्न मद्दत गर्ने छैन । भारतमा अझै पनि व्यापक चीनविरोधी भावनाको प्रभावले समस्या तत्कालै समाधान हुनेछैन । त्यसमाथि संरा अमेरिकाजस्तो तेस्रो पक्षको समेत भूमिका हुने भएकोले नयाँ वर्षमा चीन र भारतबीचको सम्बन्धबारे धेरै उत्साहित हुनु अवस्तुगत हुने विश्लेषकहरूले बताएका छन् ।
भारतबाट प्रकाशित हुने ‘द टाइम्स अफ इन्डिया’मा आइतबार प्रकाशित समाचारमा नयाँ वर्ष सन् २०२२ को अवसरमा भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच शनिबार लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) सहित पूर्वी लद्दाखका केही समस्याग्रस्त बिन्दुमा आपसमा शुभकामना र मिठाइ आदानप्रदान भएको उल्लेख छ । बीस महिना लामो सैनिक तनाव अन्त्य गर्न यही महिनाको अन्त्यतिर चौधौँ चरणको टुकडी कमान्डर तहको वार्ता हुनुअघि यस्तो आदानप्रदान भएको हो ।
“स्थानीय कमान्डरहरूले जनमुक्ति सेनाका समकक्षीहरूसँग नियमित र अनौपचारिक सम्बन्ध कायम राख्दै आएका छन् । यसले सीमा क्षेत्रमा तनाव कम गर्नुका साथै मुख्य विषय समाधान गर्न उच्चस्तरीय कूटनीतिक र सैनिक वार्ता पनि चालु छन्”, भारतीय सञ्चारमाध्यमले भारतका एक जना वरिष्ठ सैनिक अधिकारीको भनाइ उद्धृत गर्दै लेखेको छ ।
चीनको फुदान विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका प्राध्यापक लिन मिनवाङले भारतीय वा चिनियाँ पर्वमा आपसमा यसरी शुभकामना आदानप्रदान गर्ने परम्परा नै भएको बताए ।
“चीन र भारतबीच सीमा क्षेत्रमा सम्बन्ध भनेको केही हदसम्म छिमेकीको जस्तो छ । छिमेकीबीच कहिले झगडा हुनसक्छ । तर, झगडा पछि फेरि उनीहरू आपसमा नम्र भएर शान्तिपूर्ण सहअस्तित्वमा फर्किन्छन्”, उनले भने ।
चीन–भारत सीमा क्षेत्रको कठिन र जटिल मौसमको कारण कठिन समयमा दुवै पक्षलाई एकआपसको सहायता र सहकार्य आवश्यक पर्छ । जस्तै आफ्ना हराएका सिपाहीं, सर्वसाधारण नागरिक र जनवारको खोजी गर्न आपसको सहायता आवश्यक पर्छ ।
“सामान्यतः सानोतिनो तनावपछि दुवै पक्षका टोली प्रमुखहरू अर्को बिहान ८ः३० बजे एकै ठाउँमा बसेर सँगै चिया खाइन्छ”, लिनले भने,“भारतीय सञ्चारमाध्यममा यस्तो समाचार प्रकाशित हुनुको खास अर्थ मुख्यतः भारतका उच्चाधिकारीहरू चीनसँग सम्बन्ध सुधार्न र संवाद गर्न तयार भएको भन्ने लाग्छ ।”
“भारत र चीनबीच यस्ता धेरै समस्या छन्, जसको समाधानको निम्ति कुनै लडाइँको आवश्यक पर्दैन”, लिनले भने, “हालैका वर्षहरूमा भएका तनाव चीन–भारत सम्बन्धको इतिहासमै वास्तवमा असामान्य घटना हो । त्यसकारण, यसले सीमा क्षेत्रको अवस्थामा सुधार गर्ने भारतीय उच्च अधिकारीहरूको मनसाय प्रतिबिम्बित गरेको छ ।”
“भारतीय सञ्चारमाध्यमममा ‘मिठाइ आदानप्रदान’ को समाचार प्रकाशित हुनु अर्थपूर्ण कदम हो । तर, त्यसको अर्थ दुई पक्षबीच सजिलै सहमति हुने र सीमाको विषयमा कुनै प्रमुख परिवर्तन हुने आशा गर्न सकिन्न”, लिनले थपे ।
शनिबार नै चिनियाँ सञ्चारमाध्यममा गलवान उपत्यकामा चिनियाँ जनमुक्ति सेनाले आफ्नो राष्ट्रिय झन्डा फहराइरहेको श्रव्यदृश्य सार्वजनिक गरेको थियो । त्यहाँ जनमुक्ति सेनाले चीनको राष्ट्रिय गान गाउनुका साथै चिनियाँ जनताप्रति नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले चिनियाँ जनतासमक्ष आफूहरूले मातृभूमिको रक्षा गरिरहेको बताएका थिए । भिडियो सामाजिक सञ्जालमा लोकप्रिय बनेको थियो ।
सो भिडियो सार्वजनिक भएपछि भारतका प्रमुख प्रतिपक्षी दलका नेता तथा भारतीय काङ्ग्रेसका सांसद राहुल गान्धीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनप्रतिको ‘मौनता तोड्न’ आग्रह गरेका थिए । उनले ट्वीट गरेर भारतीय सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।
विज्ञहरूका अनुसार मोदी सरकारले यो विषयलाई वस्तुगत ढङ्गले समाधान गर्न चाहे पनि भारत र संरा अमेरिकाका चीनविरोधी शक्ति अथवा सत्तारुढ भाजपालाई समस्यामा पार्न चाहने भारतका प्रतिपक्ष दलहरू चीन र भारतबीचको सम्बन्धमा पुनःस्थापना नचाहेको बताए । उनीहरू नै समस्याका जड बनेका छन् । त्यसकारण, सन् २०२२ मा दुई देशबीच थप समस्या निम्तिन सक्दैन भन्न सकिन्न ।
सीमा समस्या हल गर्न र दुईपक्षीय सम्बन्ध पुनःस्थापना गर्न, भविष्यमा कुनै पनि खालका समस्या हुन नदिन चीन र भारतले सन् २०२२ मा यो विषयलाई सही ढङ्गले व्यवस्थापन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *