भर्खरै :

मगन्ते अर्थतन्त्रको दुःख

महामारीको कारण संसारभर गहिरो बन्दै गएको आर्थिक सङ्कटको प्रभाव नेपालमा पनि पर्नु स्वाभाविक हो । महामारी विश्वव्यापी घटना हो । संसारको कुनै पनि देश महामारीबाट अछुतो रहेन । त्यही महामारीले निम्त्याएको आर्थिक सङ्कटले संसारलाई प्रभावित बनाउनु पनि स्वाभाविक हो । संसारभर मुद्रास्फीति बढ्दा सर्वसाधारण जनताको दैनिक जीवन निकै कष्टकर बनेको छ । महामारीको कारण अर्थतन्त्रका विभिन्न उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा पारेको ऋणात्मक असरको कारण बेरोजगारी बढेको छ । बेरोजगारीले संसारमा मानिसको दुःख अझ बढाएको छ । गरिबीको कालो छायामा बस्न बाध्य मानिसको सङ्ख्या हिजोभन्दा आज बढेको छ । लगानीमा अनिश्चयको कारण लगानीकर्ताहरू कुनै पनि क्षेत्रमा लगानी सुरु गर्ने जोखिम मोल्न चाहिरहेका छैनन् ।
नेपालको पछिल्लो आर्थिक अवस्था नियाल्दा अर्थतन्त्र अझ शिथिल बनेको छ । निर्यात कम हुँदै गएको छ । आयात अझ बढेको छ । फलतः व्यापार घाटा अझ बढेको छ । देशका उत्पादनमूलक क्षेत्रहरू अझ पूर्ण गतिमा चल्न सकेका छैनन् । विद्युत् आपूर्ति तुलनात्मकरूपमा सुचारु भए पनि उत्पादन अझ बढ्न सकेको छैन । विदेशबाट अप्रशोधित तेल ल्याएर नेपालमा प्रशोधित गरी फेरि भारतमै निर्यात गर्ने पाम तेलको निर्यात विदेश व्यापारमा सबभन्दा माथिल्लो क्रममा छ । अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन अझै पनि उकासिने सम्भावना कम छ । विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । स्वदेशी पर्यटककै भरमा पर्यटन उद्योगले टाउकोसम्म उठाउन सकेको छ । पर्यटन उद्योगमा शिथिलताको कारण हस्तकला र घरेलु उद्योग पनि अझै महामारीको मारमा थला परेका छन् ।
भारतभन्दा अरू देशसँग व्यापार विविधीकरणको प्रयासमा अपेक्षित सफलता हासिल हुन सकेको छैन । महामारीलाई ध्यानमा राखी सीमामा आवातजावत सीमितमात्र हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापारमा ऋणात्मक असर पारेको छ । चीनबाट सीमित सामानमात्र नेपालमा आउँदा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दक्षिणबाट नेपाल आउने कृषि उत्पादन बढेको छ । महामारी उत्कर्षमा पुग्दा स्वदेशमै केही गर्ने भनी फर्केका युवाहरू फेरि खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएका छन् । ठूलो सङ्ख्यामा युवाहरू स्वदेश फर्केको मौकामा देशलाई तुलनात्मकरूपमा आत्मनिर्भरताको बाटोमा अघि बढाउने सम्भावनालाई सरकारले छोप्न सकेन ।
महामारीले नेपाललाई अझ बढी पराधीन बनाएको छ । देशमा स्वाधीन अर्थतन्त्र विकासको लागि राज्यले केही गरेको देखिएन । आत्मनिर्भर बन्न सकिने क्षेत्रमा सरकारले उचित संरक्षणवादी नीति नअपनाउँदा पराधीनताकै कहर सहेर बस्नुपरेको छ । आसन्न आर्थिक सङ्कटलाई ध्यानमा राखी नेपालमै गर्न सकिने उत्पादनमूलक गतिविधिको निम्ति सरकारले अग्रसरता देखाएन । फलतः नेपाली जनताको जीवन हिजोभन्दा अझ गएगुज्रेको छ । गरिबीको रेखामुनि बाँच्ने जनताको सङ्ख्या बढेको छ । नेपाली जनतासँग महामारीअघि जति खर्च गर्ने क्षमता थियो, अहिले त्यसमा ¥हास आएको छ ।
उत्पादनमूलक अर्थतन्त्रको विकास नगर्दासम्म कुनै पनि देश विकास हुनसक्दैन । अर्थतन्त्रमा गतिशीलता ठूलठूला कुरा र सपना देखेरमात्र आउने होइन । जनताको जीवनसँग जोडिएका स–साना तर महत्वपूर्ण कुरामा व्यवस्थित योजनाका साथ काम गर्न थाल्दा मात्र अर्थतन्त्रले गतिशीलता ग्रहण गर्नसक्छ । तर, नेपालका शासक दलहरू दिगो आर्थिक विकासभन्दा विदेशमा निर्भर अर्थतन्त्र अर्थात् मगन्ते अर्थतन्त्रको पक्षधर भएकोले पनि नेपाल दिनानुदिन आर्थिकरूपमा ओरालो लागिरहेको छ । पराधीन अर्थतन्त्रमा जनता कहिल्यै पनि समृद्ध बन्न सक्दैन न त त्यस्तो अर्थतन्त्रमा स्थायित्व नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *