भर्खरै :

बलियो चीन हेर्न नसक्ने संरा अमेरिकाले बलियो भारत चाहन्छ होला ?

भारतीय सञ्चारमाध्यमका अनुसार संरा अमेरिका र भारतबीचको चौथो चरणको दुई प्लस दुई विदेश तथा रक्षा मन्त्रीहरूको बैठक जनवरीको तेस्रो साता वाशिङ्टन डीसीमा बस्दै छ ।
दुई प्लस दुईको यो संरचना सन् २०१८ मा सुरु भएको थियो । दुईपक्षीय कूटनीतिक नीति, राष्ट्रिय नीति र रणनीतिक मामिलालाई ध्यानमा राखी सो संयन्त्र स्थापना गरिएको थियो । क्वाडका चारवटै सदस्य देशहरूले दुई प्लस दुईको यस्तो संयन्त्र बनाइसकेका छन् ।
संरा अमेरिका र जापानले ओमिक्रोन भेरियन्टको बढ्दो सङ्क्रमणको कारण जनवरीमा अनलाइन माध्यमबाट दुई प्लस दुईको बैठक बस्ने भएका छन् । तर, भारत र संरा अमेरिकाका सरकारी अधिकारीहरू वाशिङ्टनमा भेट्दै छन् । यसको अर्थ जापानको तुलनामा संरा अमेरिकाको लागि भारत महत्वपूर्ण देश हो भन्ने कदापि होइन । बरु जापान लगभग हरेक हिसाबले वाशिङ्टनका कुरा मान्ने गठबन्धन सदस्य भएको हुनाले संरा अमेरिकाले भारतलाई अझ बढी दाना खुवाउन खोजिरहेको छ भन्ने देखिन्छ ।
संरा अमेरिका र भारत हालैका वर्षमा आपसमा नजिकिएका छन् । चीनलाई नै मुख्य निशाना बनाएर उनीहरूले आपसमा मेलमिलाप गरेका छन् । संरा अमेरिकाको निम्ति यसको कारण सरल छ ः चीन र आफूबीचको प्रतिस्पर्धाको दुरी साँघुरो बन्दै गएको र आफूलाई चीनले उछिनेको संरा अमेरिकालाई कदापि स्वीकार्य छैन । तथापि, चीनलाई घेराबन्दी गर्न संरा अमेरिका आफैमा त्यत्ति शक्तिशाली छैन । त्यसकारण, रणनीतिक मोर्चा बनाउन उसले अरूलाई पनि गुहार्नुपरेको छ । तर, संरा अमेरिकाको मोर्चाहरूमध्ये युरोपमा उसको साझेदारी मुख्यतः रुसप्रति लक्षित छ । त्यो मोर्चा चीनलाई घेर्न त्यत्ति उत्सुक वा सक्षम छैन ।
एसियामा दक्षिण कोरियासँग संरा अमेरिकाको मिलन उत्तर कोरिया लक्षित छ । तर, चीन दक्षिण कोरियाको पनि ठूलो व्यापार साझेदार हो । चीनको सहायताबिना कोरिया प्रायःद्विपमा शान्तिपूर्ण पुनः एकीकरण सम्भव छैन । दक्षिण कोरियाले चीनलाई समस्यामा पार्न वाशिङ्टनको सहायता लिन्छ भने अर्थतन्त्र र सुरक्षाको हिसाबले उसले आफूलाई समस्यामा धकेल्नेछ । आफ्नो हितको हिसाबमा चीन र संरा अमेरिका दुवैलाई साथमा लिएर अघि बढ्नु नै दक्षिण कोरियाको हितमा छ । यसैबीच आसियान चीन र संरा अमेरिकाबीचको रणनीतिक द्वन्द्वले एसियालाई विभाजित गर्ने र एसिया प्रशान्त मामिलामा आसियान चेपुवामा पर्ने कुरामा सचेत छ । त्यसकारण आसियान गठबन्धनले दुई देशमध्ये कसैको पछि नलाग्ने पटक – पटक प्रतिबद्धता दोहो¥याउँदै आएको छ ।
जापान र अस्ट्रेलियाले मात्र संरा अमेरिकालाई पछ्याएको छ । तर, चीनलाई अप्ठेरो पार्न संरा अमेरिकासँग उनीहरूको मिलनले मात्र केही हुनसक्दैन । त्यही भएर ट्रम्प सरकारले हिन्द–प्रशान्त रणनीति अघि सा¥यो र चीनलाई घेर्न क्वाडबाट फाइदा उठाउन खोज्यो । बाइडेन सरकारले त्यही हिन्द प्रशान्त रणनीतिलाई निरन्तरता दियो र सम्मेलनहरूमार्फत क्वाडको संवादलाई अझ उचाइमा लग्यो ।
यसैबीच चीनसँग भारतको सीमा विवाद चर्कियो । अहिले भारतले पाकिस्तानलाई भन्दा चीनलाई ठूलो खतराको रूपमा हेर्ने गरेको छ । तर, चीनको सामना गर्न भारत एक्लै मात्रले सक्ने अवस्था छैन । त्यसको निम्ति उसले पनि बाह्य शक्तिको भर पर्छ । तसर्थ, संरा अमेरिका र भारतका राजनीतिक नेता र विद्वान्ले दुई देशबीचको मोर्चाबारे धेरै ठूला कुरा गरेका छन् । उनीहरूले दुई देशलाई स्वाभाविक साझेदार भन्ने गरेका छन् ।
धेरै पर्यवेक्षकहरू संरा अमेरिका र भारतबीच अर्ध–मोर्चा बनेको धारणा राख्छन् । दुई प्लस दुई बैठकका साथै दुई देशहरूले सञ्चार सहजीकरण र सुरक्षा साझेदारी र आधारभूत आदानप्रदान र सहकार्य सहमतिजस्ता केही सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । यी सम्झौता दुई देशका सेनाबीच गोप्य भूअवस्थिति सूचना आदानप्रदान गर्ने प्रमुख सुरक्षा सम्झौता हुन् । चीन र भारतबीचको सीमा तनावबारे संरा अमेरिकाले सत्यको बेवास्ता गर्दै भारतको समर्थनमा मत व्यक्त गरेको छ ।
तथापि, भारत र संरा अमेरिका मुस्किलले असल साझेदारहरू हुन् । पहिलो कुरा त संरा अमेरिका स्वार्थी र आक्रामक देश हो । संसारभर उसले आफूलाई जे मन लाग्छ, त्यही गर्छ । उसले धेरै पटक भारतलाई हानि पु¥याइसकेको छ ।
दोस्रो, शीतयुद्धमा संरा अमेरिकाले भारतलाई पश्चिमा मोर्चामा तान्ने प्रयास गरेको थियो । तर, सफल हुन सकेको थिएन । अहिले संरा अमेरिकी राष्ट्रिय शक्ति र हैसियत अझ ओरालो लागेको छ । विगतका वर्षमा संरा अमेरिकाले भारतमाथि बारम्बार हस्तक्षेप र सौदाबाजी गरिसकेको हुनाले अब यी दुई देश सद्गुणी साझेदार रहेनन् । भारतको लागि संरा अमेरिकासँग मिल्ने समय ठीक समय यो पक्कै थिएन । अहिले यो मिलनबाट उसलाई सीमित लाभमात्र छ । तर त्यसबापत उसको अन्तर्राष्ट्रिय छवि र हैसियत भने खराब हुने खतरा बढी छ ।
तेस्रो, भारतले चीनसँग सन्तुलन कायम गर्न संरा अमेरिकालाई प्रयोग गर्ने आशा गर्छ । तथापि, संरा अमेरिकाले भारतलाई आफ्नो सेवक बनाउन खोजिरहेको छ । चीनको घेराबन्दीमा भारत सक्रियतापूर्वक सहभागी बनोस् र रुसबाट टाढा बसोस् भन्ने संरा अमेरिकाको चाहना हो । तर, प्रमुख शक्तिको हैसियत प्राप्त गर्ने दौडमा भारत जापान वा अस्टे«लियाले जस्तै कठपुतलीको भूमिका खेल्नेछैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हालै भएको भेट र दुई देशबीचको पहिलो दुई प्लस दुई बैठकले संरा अमेरिकालाई रुसले नकारात्मक उत्तर दिएको सङ्केत गरेको छ । भारतले आफूबाट फाइदा लिन लगाउने होइन, आफूले फाइदा उठाउन खोजेको कुरा संरा अमेरिकाले बुझ्न जरुरी छ ।
विश्वव्यापी कोणबाट नियाल्दा भारत र संरा अमेरिकाले भन्दा चीन र भारतले नयाँ राजनीतिक र आर्थिक विश्व व्यवस्था स्थापना, अन्तर्राष्ट्रिय सम्बन्धमा प्रजातान्त्रिकरणको प्रबद्र्धन र जलवायु परिवर्तनजस्ता मुद्दामा नयाँ साझा आधार भेटाउन सक्छन् । संरा अमेरिका चीन बलियो भएको चाहँदैन भने के उसले भारत बलियो भएको हेर्न चाहला ?
लेखक पेइचिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा क्षेत्रीय र विश्व प्रशासन प्रतिष्ठानका वरिष्ठ अध्येता हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *