भर्खरै :

सर्लाहीमा एमसीसीको विरोधमा जनसभा सम्पन्न

सर्लाही, २१ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेको आतिथ्यमा कामद टोलमा बुधबार जनसभा भयो ।
सभामा केन्द्रीय सदस्य काफ्लेले एमसीसी सम्झौताले नेपाललाई अफगानिस्तानमा परिणत गर्ने खतरा रहेकोले नेपाली जनता सचेत भएर एमसीसीको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली शासक पार्टीहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाल भएको र तिनीहरूलाई खुसी पार्न नै एमसीसी सम्झौता पारित गर्न खोजेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्ताधारी दलहरूमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा रहे पनि एमसीसीको विरोधमा व्यापक जनता सडकमा ओर्लेमा एमसीसी खारेज हुनेछ ।”
कुनै पनि सचेत जनताले एमसीसीको समर्थन गर्न नसक्ने धारणा राख्दै केन्द्रीय सदस्य काफ्लेले एमसीसीको समर्थन गर्नेहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाल प्रमाणित हुनेछ भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले एमसीसी सम्झौतामात्र देशघाती नभई विगतका सन्धि–सम्झौताहरू पनि देशघाती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले तराईका व्यापक किसानहरूलाई सचेत र सङ्गठित गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ । भारतीय विस्तारवादले तरल नेपाली राजनीतिको फाइदा उठाएर नेपाल र नेपाली जनतामाथि विभिन्न सन्धि–सम्झौता थोपर्दै आएको छ । यसैको सिलसिला एमसीसी सम्झौता पनि हो ।”
नेक्राकिसङ्घका केन्द्रीय सदस्य रमाकान्त कापरले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए तापनि तराईका स्थानीय निकायहरू भ्रष्टाचारमा डुबेको बताउनुभयो ।
त्यस्तै नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेको उपस्थितिमा सिरहाको लहानमा बुधबार किसान भेला भयो ।
भेलामा अध्यक्ष काफ्लेले नेपाल र नेपाली जनताको सार्वभौमिकता धरापमा पारेर शासक पार्टीहरूले देशघाती एमसीसी सम्झौता गरेको बताउनुभयो ।
एमसीसीले नेपाललाई पराधीन बनाउने र नेपाललाई सिक्किमजस्तै बनाउन खोजेकोले व्यापक जनता सचेत र सङ्गठित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले तराईका किसानहरूको समस्याबारे चर्चा गर्दै गुणस्तरयुक्त मल र बीउबिजनको अभावमा किसानहरू पीडित रहेको बताउनुभयो ।
किसान समस्या समाधानको लागि किसानहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सचेत र सङ्गठित शक्तिले मात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका विगतका कोसी, गण्डकी, महाकाली सन्धि र बिप्पा सम्झौतालगायत हालको एमसीसी सम्झौता पनि देशघाती छ । देशलाई स्वाभिमानका साथ अगाडि बढाउन जनता सचेत हुनैपर्छ ।
भेलाले चण्डेश्वरप्रसाद सिंहको अध्यक्षतामा पाँच सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ सिरहा जिल्ला समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *