भर्खरै :

समाजवाद नआएसम्म भारतीय जनताको दुःख अन्त नहुने

भक्तपुर, २३ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भारतमा कामदार वर्गको शासन हुने समाजवादी व्यवस्था स्थापना नभएसम्म बहुमत भारतीय जनताको दुःख अन्त नहुने बताउनुभएको छ ।
पत्रकार समाज नेपालको आयोजनामा शुक्रबार समाजद्वारा प्रकाशित ‘आजको भारत ः भारतीय लेखकहरूका दृष्टिमा’ पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै सचिव सुवालले पुस्तकका लेखहरू अध्ययन गर्दा भारतीय जनताको हितका निम्ति त्यहाँ कामदार वर्गको सरकार अपरिहार्य भएको पुष्टि हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको विकासको निम्ति पनि भारतमा कामदार वर्गको सरकार जरूरी छ । भारतको आजसम्मका प्रतिक्रियावादी सरकारहरूले नेपालको विकासमा अवरोध पु¥याइरहेका छन् । भाजपाको मोदी सरकार पनि अर्बपति र खर्बपतिहरूको सहयोगमा निर्वाचित भएको हो । भारत ‘ठूलो’ लोकतन्त्र देश भएको दाबी गर्नु झूटा हो । अमेरिका र युरोपको मोडलमा कोभिड–१९ सङ्क्रमण नियन्त्रण नभएजस्तै भारत सरकार पनि असफल भयो ।”
बेलायती–भारतको पालामा भएको सुगौली सन्धिमा नेपालको पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको भूभाग गुमेको चर्चा गर्दै उहाँले सुगौली सन्धिसँगै बेलायतमा गोर्खा भर्ती सुरू भएको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “बेलायती साम्राज्यवादबाट मुक्त भएको भारतले सुगौली सन्धिमा गुमेको नेपालको भूमि फिर्ता गरेन । बेलायत र भारतले गोर्खा भर्ती कायम राखे । अमेरिकाले संयुक्त राष्ट्र सङ्घमा गोर्खा भर्तीलाई ‘भाडाका सिपाही’ भनी हेला ग¥यो । यसकारण, गोर्खा भर्ती खारेज हुनु जरूरी छ ।”
उहाँले थप्नुभयो, “प्रतिक्रियावादीहरूको सरकारमा शक्ति पृथकीकरणको सिद्धान्त, कानुनी राज्य, मानव अधिकार सबै झूट साबित हुने पुस्तक अध्ययनबाट पुष्टि हुन्छ । पुस्तकका लेखकहरूले अब भारतमा कामदार वर्गको सरकारको लागि कलम चलाउनु जरूरी हुने अपेक्षा गर्नु उचित नै हुन्छ ।”
भारतको विशाखापटनममा अमेरिकी सेना र हतियार तैनाथ भइसकेको जानकारी दिँदै सचिव सुवालले भन्नुभयो, “अमेरिका र भारत मिलेर एमसीसी सम्झौतामा नेपाललाई तानेको हो । यसकारण, यो पुस्तकका लेखकहरूले विशाखापटनममा अमेरिकी सेना र हतियार तैनाथ तथा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य मोर्चाको अङ्ग एमसीसी सम्झौताको विरोधमा लेखहरू प्रकाशित गर्ने अपेक्षा गर्नु पनि स्वाभाविक हुन्छ ।”
“भाजपाको मोदी सरकारले हिन्दूबाहेकको जातीय दमन सुरू गरेको बेला चिनियाँ कम्युनिस्ट पार्टीले चिकपा स्थापना भएको पहिलो एक सय वर्षमा चीनमा गरिबी उन्मूलन भएको र दोस्रो सय वर्षमा सबै जातिको एकतासहितको आधुनिक समाजवादी देश बनाउने वाचा ग¥यो । राज्यको नेतृत्व गर्नेहरूको तुलना यसरी हुनु जरूरी हुन्छ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भारतमा अगाडि बढिरहेको भाजपा फासीवादी शासनबारे नेपाली जनतालाई जानकार बनाउन जरूरी रहेको औँल्याउँदै नेपालमा पनि त्यसको ठूलो नकारात्मक प्रभाव पर्नसक्ने खतरा रहेको बताउनुभयो ।
उहाँले संरा अमेरिकामा कु क्लक्स क्लान नामक गोरा फासीवादी सङ्गठनले गैरगोरा जनतामाथि हत्या हिँसा मच्चाएझैँ आज भारतमा भाजपाका भ्रातृ वा भगिनी सङ्गठनहरूले मुसलमान, दलित र आदिवासी जनताको हत्या र हिँसा गरिरहेको बताउँदै नरेन्द्र मोदी नेतृत्वको भाजपा शासन फासीवादी शासन भएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले भाजपा र नरेन्द्र मोदीले प्रस्टतः हिन्दूत्वको फासीवादतिर लगिरहेको बताउँदै भारतीय जनता नै अब त्यसको विरोधमा उत्रिसकेको बताउनुभयो ।
उहाँले भारतमा फैलाइएको साम्प्रदायिकता, धार्मिक सङ्कीर्णता र अल्पसङ्ख्यकहरूमाथिको दमनको श्रृङ्खला आदिबारे यथार्थ बताउन प्रस्तुत पुस्तक सफल रहेको बताउनुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले छिमेकी देशहरूमाथि विस्तारवादी नीति लागू गर्ने देश भारतको सरकार फासीवादतिर उन्मुख हुनु छिमेकी देशहरूमाथि थप खतरा हुने औँल्याउनुभयो ।
पुँजीवादी प्रजातन्त्रमा मतदाताहरू सचेत नहुँदा वा मतदाताहरूलाई झुक्याएर जनविरोधीहरू सत्तासीन हुनपुग्ने यथार्थबारे चर्चा गर्दै उहाँले निर्वाचन जितेरै नरेन्द्र मोदी र भाजपाले फासीवाद लादेको बताउनुभयो ।
त्यस्तै ख्वप कलेजका उपप्राध्यापक राजन फाजूले भाजपाले सरकारका तीनवटै अङ्गहरूलाई मात्र नभई चौथो अङ्ग भनिने सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई समेत नियन्त्रण गरी आफ्नो स्वार्थको पक्षमा प्रयोग गरिरहेको चर्चा गर्नुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल भाषा साहित्य तःमुज्याका सचिव नरेश खत्री, स्रष्टा समाजका सदस्य सुशीला कर्माचार्य, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङ्ग, सहसंयोजक सुरेश परियार, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजू र शिक्षिका बदनकेशरी प्रजापतिले पनि पुस्तकमा समावेश लेखहरूबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार समाजका सदस्यहरू आशाकुमार चिकंबञ्जार र प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *