भर्खरै :

साम्राज्यवादी देशहरू एक्लिँदै छन्

संसारमा साम्राज्यवादीहरू आफै उम्कन नसकिने सङ्कटमा पर्दै छन्, साम्राज्यवादको आयु सकिँदै छ, साम्राज्यवादी देशले विश्वको कुनै पनि देश र जनताको भाग्य निर्माण गर्दैन भन्ने विश्वका कम्युनिस्ट नेताहरू उद्घोष गर्दै छन् । हुन पनि साम्राज्यवादी देशहरू एक्लिँदै छन् । ती देशका शासकहरू विश्वसामु बदनाम हुँदै छन् । संरा अमेरिका संसारका स्वाधीन र सार्वभौम देशलाई तर्साउने, थर्काउने, सेना तैनाथ गर्ने, आक्रमण गरेर धनजन संहार गर्ने मुलुकको रूपमा चिनिएको छ । साम्राज्यवादी देश अमेरिकासामु नझुक्ने, साम्राज्यवादविरोधी देशलाई अमेरिकी प्रशासनले कहिले आर्थिक नाकाबन्दी गर्ने त कहिले आक्रमण गरेर सत्ताच्युत गराउने, फाँसी दिलाउने र तेल कब्जा गर्ने काम गरिरहेको छ । तिनै साम्राज्यवादी देशका शासकहरू अरू देशको सत्ता हत्याउन, आन्तरिक विवाद चर्काउनमात्र होइन देश विभाजन गर्नेतर्फ लागिरहेका छन् । तिनीहरूले विभाजित देशलाई सधैँ विभाजनमा राख्ने, विभाजन गर्न चाहने स्वदेश र विदेशका मानिसहरूमा तगारो हाल्ने चालबाजीहरू चलाइरहेका छन् । तिनै शासकहरू स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारको निम्ति सेना परिचालन गरिएको भन्दै चिच्याइरहेका छन् । वास्तवमा यो साम्राज्यवादी शासकहरूको छल हो, षड्यन्त्र हो । यो जनविरोधी र प्रजातन्त्रविरोधी कदम हो ।
साम्राज्यवादी देशका शासकहरू सर्वसाधारण नागरिकलाई पैसाको दास सम्झन्छन् र पैसा या आर्थिक सहयोगले फसाउन सक्छन् भन्ने मान्यता राख्छन् । यस्ता साम्राज्यवादी देशहरूसामु आफूलाई प्रजातन्त्रवादी र कम्युनिस्ट भनिने नेताहरू पनि फसिरहेका छन् । तिनीहरू विकास र पैसा पाउने प्रलोभनमा देशको स्वाधीनता र सार्वभौमिकताको ख्याल गर्दैनन् । देउवा नेतृत्वको गठबन्धन सरकार नै फसिरहेको छ । यसको विरोध देशभक्त दल र जनताले गरिरहेका छन् । संरा अमेरिकाले संसारका देशलाई जुधाएर कमजोर पार्ने र युद्धमा आफ्नो हतियार बेचेर नाफा कुम्ल्याइरहेको छ । अहिले अमेरिकाले एसियाली देशहरूलाई जुधाउने षड्यन्त्र गरिरहेको छ, फाटो ल्याएर अरू देशलाई कमजोर पार्ने गरिरहेको छ । अरू देशले गरिरहेको विकासमा बाधा पु¥याउने काममा अमेरिका लागिपरेको छ । यी सबै घट्नाक्रमले अमेरिका संसारकै आतङ्काकारी देश साबित भइरहेको छ ।
नेपाल सङ्घीय गणतन्त्रात्मक देश हो । गणतान्त्रिक सरकार जनताको सेवा गर्ने राज्यसत्ता हो । यो सरकारले देश र जनताको निम्ति सम्मानपूर्ण अभिभारा पूरा गर्ने हो । समाजवादउन्मुख देश बनाउन सोहीअनुसार नीति निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्ने हो । देश र जनताको यो जिम्मेवारी छोडेर, बेवास्ता गरेर वर्तमान सरकार विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको पछि लागिरहेको छ । सरकार समाजवादी आर्थिक निर्माण गर्न लाग्नुपर्ने हो । प्रविधि र ज्ञानको विकासलाई प्राथमिकता नदिइकन राष्ट्रिय अर्थतन्त्रको स्वाधीनता अझ अघि बढाउन र राष्ट्रिय अर्थतन्त्र छिटोछिटो विकास सम्भव हुँदैन । तर, विडम्बना ! नेपाल अहिले पनि समाजवादउन्मुख देश बनेको छैन, बनाउनेतिर लागेको छैन । सत्तारुढ दल केबल सत्ताको आयु लम्ब्याउने र भागबन्डामा अल्झिएको छ । यसले देश आत्मनिर्भर बन्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *