भर्खरै :

नवलपरासीमा नयाँ प्रजातिको चरा भेटियो

नवलपुर, २६ पुस । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यी दुई प्रजातिका चराहरू गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन् । तर, यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो ।” चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ ।
गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उहाँले बताउनुभयो । संयोजक चौधरीले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए । यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दूरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे«, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।” नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।
गत वर्षभन्दाको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ । साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उहाँले बताउनुभयो । गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो ।
कुनै प्रजातिका चरा गतभन्दा बढी र कुनै प्रजातिका चरा गतवर्षको तुलनामा न्यून देखिएको चौधरीले बताउनुभयो । चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुईमात्र गणना गरिएको थियो ।
निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *