भर्खरै :

भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा छ–सात गुणा बढी : अध्ययन

नयाँ दिल्ली, १० जनवरी (टेलिसुर) । भारतमा गत वर्षको सेप्टेम्बर महिनासम्ममा कोभिड–१९ बाट करिब ३२ लाख मानिसको मृत्यु भएको निष्कर्ष एक अध्ययनले देखाएको छ । उक्त निष्कर्ष भारतीय प्रबन्धन संस्थान अहमदावाद, क्यानाडाको टोरन्टो विश्वविद्यालयलगायतका अनुसन्धानकर्ताहरूले गरेको एक विस्तृत अध्ययनबाट निक्लेको हो । जुन कोभिडबाट मृत्यु भएकाहरूको आधिकारिक भनी सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा छ–सात गुणा बढी हो । अध्ययन टोलीमा भारतीय प्रबन्धन संस्थान अहमदावाद, क्यानाडाको टोरन्टो विश्वविद्यालयका अतिरिक्त सेन्टर फर भोटिङ ओपिनियन्स एन्ड ट्रेन्डस नोयडा, डेभलपमेन्ट डेटा ल्याब वासिङटन र अर्थशास्त्र विभाग डार्टमाउथ कलेजका अनुसन्धानकर्ताहरूको संलग्नता रहेको थियो । अनुसन्धानकर्ताहरूले उक्त अध्ययन एक स्वतन्त्र तथा दुई सरकारी तथ्याङ्कहरूमा आधारित भएर गरेका बताइएका छन् ।
टोरन्टो विश्वविद्यालयका प्राध्यापक प्रभात झाको नेतृत्वमा अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले जून २०२० देखि जुलाई २०२१ बीच भारतमा भएका मृत्युहरूको तथ्याङ्कमा सर्वेक्षणको नतिजाको रूपमा आएको कोभिडबाट मृत्यु भएकाहरूको प्रतिशत अनुसार हिसाब निकाल्दा ३२ लाख हुन आएको थियो । साइन्स नामक पत्रिकाले भारतका सबै राज्य र केन्द्रशासित प्रदेशहरूमा मार्च २०२० देखि जुलाई २०२१ सम्म गरिएको एक सर्वेक्षणमा मृत्यु भएकाहरूमध्ये २९ प्रतिशतको मृत्यु कोभिड–१९ बाट भएको नतिजा देखाएको थियो । सर्वेक्षणमा १,३७,२८९ जना स्वास्थ्यकर्मी र जिम्मेवार अधिकारीहरूसित प्रश्न सोधिएका थिए ।
त्यस्तै पछि ५७ हजार जनासित प्रश्न सोधेर गरिएको अर्को सर्वेक्षणमा पनि कोभिडबाट र गैरकोभिडबाट भएका मृत्युको दर उस्तै देखाएको थियो । कोभिडले मृत्यु भएका ३२ लाखमध्ये २७ लाखको मृत्यु अप्रिल, जून, जुलाई २०२१ तीन महिनाभित्र भएको थियो ।
सरकारी तथ्याङ्कहरूअनुसार महामारीभन्दा पहिलेको अवधिमा भन्दा महामारीको अवधिमा भारतका दुई लाख स्वास्थ्य उपचार केन्द्र (अस्पताल, स्वास्थ्य केन्द्र, नर्सिङ होम आदि) मा कुनै पनि कारणबाट मृत्यु २७ प्रतिशतले बढेको थियो । त्यस्तै कोरोना महामारी धेरै फैलेका १० राज्यमा मृत्युदर्ता २६ प्रतिशतले वृद्धि भएको थियो ।
अनुसन्धानकर्ताहरूले भने, तथ्याङ्कहरूको विश्लेषणबाट हामीले पायौँ कि भारतमा जुलाई २०२१ भित्र कोभिडबाट मृत्यु भएकाको सङ्ख्या ३२ लाख र सेप्टेम्बरसम्ममा मृत्यु भएकाहरूको तथ्याङ्क जोड्दा ३४ लाखसम्म पुगेको छ । यसरी कोभिडबाट मृत्यु भएका मानिसहरूको सङ्ख्या सरकारले आधिकारिक भनी सार्वजनिक गरेको सङ्ख्याको ६–७ गुणा बढी रहेको देखियो ।
अनुसन्धानकर्ताहरूका अनुसार सर्वेक्षणहरूमा जिम्मेवारहरूले बताएअनुसार कोभिडको स्पष्ट लक्षणबाट मृत्यु भएको थाहा हुँदाहुँदै पनि मान्यताप्राप्त प्रमाणको अभावमा धेरैको मृत्युलाई कोभिड –१९ बाट मृत्यु भएकाहरूको आधिकारिक तथ्याङ्कमा समावेश गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *