भर्खरै :

खानेपानी मुहानको संरक्षण गरौँ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ अन्तर्गत उटिसघारीमा खानेपानीको मुल रहेको छ । यो खानेपानी मुहानबाट पानी ट्याङ्की बनाई पाइप बिछ्याई खानेपानी तथा सरसफाइ सेवा सञ्चालन हुँदै आएको छ । सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले साविक सिपाडोल वडा नं. ७, ८ र ९, बिबिचा, ननाबु र जगाती क्षेत्र, महानगरीय प्रहरी वृत्त जगाती, आन्तरिक राजस्व कार्यालयलगायतका उपभोक्ताहरूलाई यही स्रोतबाट खानेपानी वितरण गर्दै आएको हो ।
उपभोक्ता समितिले सञ्चालन गर्दै आएको सिपाडोल ८ स्थित सो खानेपानी मुहान विभिन्न व्यक्तिहरूले भत्काई खानेपानी ट्याङ्कीमा समेत क्षति पु¥याएका छन् । ननाबु राजकुलो, बिबिचा ननाबु, चखु खोलासमेत कुनै स्वीकृति नलिई गैरकानुनीरूपमा विभिन्न व्यक्तिहरूले प्लानिङ गरी खानेपानीको मुल मुहानमा क्षति पु¥याएका हुन् । डोजर चलाई खानेपानीको मुहान तथा पानी ट्याङ्कीमा क्षति पु¥याउने व्यक्तिहरूलाई उपभोक्ताहरूले कारबाहीको माग गरेका छन् ।
सूर्यविनायक नगरपालिकाअन्तर्गत रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको जग्गाको कित्ता नं. ७०४ को ०–७–०–० क्षेत्रफल भएको सिमानामा समितिलाई जानकारी नै नदिई खानेपानीको मुहान बन्द हुने तरिकाले पर्खाल लगाएको हुँदा सम्बन्धित व्यक्तिहरूलाई उपभोक्ता समितिले सूर्यविनायक कार्यालयमा झिकाई पानीको मुहानको मुल जग्गाको सिमाङ्कन गर्न माग गरेको छ । समितिले नापी शाखा भक्तपुरमा पर्ती जग्गा, राजकुलो तथा चखु खोलाको संरक्षण गर्न सूर्यविनायक नगरपालिका वडा नं ८ को कार्यालय सिपाडोलमा निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *