भर्खरै :

निकारागुवाका राष्ट्रपतिद्वारा अर्को कार्यकालका लागि शपथग्रहण

मानागुआ २७ पुस (टेलिसुर/सिन्ह्वा) । निकारागुवाका वामपन्थी राष्ट्रपति ड्यानियल ओर्टेगाले नयाँ कार्यकालका लागि शपथग्रहण गर्नुभएको छ । राजधानी मानागुवामा सम्पन्न भव्य समारोहबीच उहाँसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि शपथग्रहण गर्नुभएको छ । उहाँहरू गत नोभेम्बरमा भएको निर्वाचनबाट अर्को कार्यकालका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँहरूको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ ।
शपथग्रहणपछि जनतालाई सम्बोधन गर्दै राष्ट्रपति ओर्टेगाले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गर्नुभएको छ । उहाँले कोरोना भाइरसको महामारीविरुद्ध लड्न ठूलो सहयोग गरेको भन्दै चीनलाई पनि धन्यवाद दिनुभएको छ । आफ्नो आगामी कार्यकालमा देशको गरिबी र भोकमरी अन्त्य गर्ने प्रतिबद्धता पूरा गर्ने अठोट पनि उहाँले व्यक्त गर्नुभएको छ । त्यसैगरी निकारागुवाका जनताको जीवनस्तर वृद्धि गर्ने अठोट पनि उहाँले शपथग्रहण समारोहमा गर्नुभएको छ ।
निकारागुवामा निकै लोकप्रिय रहेका नेता ओर्टेगाले ७५ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले घोषणा गरेको थियो । राष्ट्रपति ओर्टेगाले पाँचौँ कार्यकालका निम्ति राष्ट्रपतीय निर्वाचनमा जीत हासिल गर्नुभएको हो । उहाँ पहिलो पटक १९८५ मा राष्ट्रपतिमा निर्वाचित हुुनुभएको थियो ।
शपथग्रहण समारोहमा विशिष्ट अतिथिका रूपमा क्युवाली राष्ट्रपति एवम् क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिग्वेल डायज कानेल, भेनेजुयलाका राष्ट्रपति एवम् भेनेजुयाली एकीकृत समाजवादी पार्टीका अध्यक्ष निकोलस माडुरो, चिनियाँ जन काङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष एवम् राष्ट्रपति सी चिनफिङका विशेष दूत काओ चियानमिङ, होन्डुरसका राष्ट्रपति ह्वान ओर्लान्डो हर्नान्डेजलगायत विश्वका २० भन्दा बढी देशका सरकारी प्रमण्डलको उपस्थिति रहेको थियो ।
त्यस्तै ग्वाटेमालाका पूर्वराष्ट्रपति भिनिसियो कोरेज, एल साल्भाडोरका पूर्वराष्ट्रपतिद्वय माउरिसियो फ्युनस कार्टाजेना र साल्भाडोर साँचेज, इक्वेडरका पूर्वविदेशमन्त्री तथा पूर्वराष्ट्रपति राफेल कोरेयाका दूत रिकार्डो पाटिनो र अल्बा–टीसीपीका महासचिव साचा लोरेटी पनि विशेष अतिथि रहनुभएको थियो ।
निकारागुवाको स्वाधीनताका लागि संरा अमेरिकी साम्राज्यवादसित सशस्त्र सङ्घर्षको नेतृत्व गरेका राष्ट्रनायक अगुस्टो सेजार सान्डिनोको नाममा गठन भएको सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा (एफएसएलएन) ले त्यहाँ जननिर्वाचित सरकारमार्फत समाजवादउन्मुख क्रान्तिकारी प्रक्रिया अगाडि बढाउँदै आएको छ । एफएसएलएनले नै निकारागुवालाई अमेरिकी कठपुतली रहेको सोमोजा वंशको तानाशाहीबाट मुक्त गर्न एक दशक लामो सशस्त्र सङ्घर्ष गरेको थियो र १९७९ पछिको क्रान्तिकारी प्रक्रियाको नेतृत्व गरेको थियो ।
१९८५ देखि १९९० सम्म वर्तमान राष्ट्रपति ओर्टेगाले नै देशको राष्ट्रपतिको भूमिका निभाउनुभएको थियो तर नयाँ संविधानअनुसार १९९०, १९९६ र २००१ मा भएका राष्ट्रपति निर्वाचनहरूमा त्यहाँका दक्षिणपन्थी नेताहरू निर्वाचित भएका थिए । निकारागुवाली जनतामाझ अत्यन्त लोकप्रिय नेता ओर्टेगा फेरि २००६, २०११, २०१६ र २०२१ मा सम्पन्न निर्वाचनहरू राष्ट्रपतिका रूपमा निर्वाचित हुँदै आउनुभएको छ । ओर्टेगा नेतृत्वको प्रगतिशील सरकारलाई फाल्न अमेरिकी विदेश मन्त्रालय र सीआईएको खुला निर्देशनमा २०१९ मा दक्षिणपन्थी समूहहरूले हप्तौँसम्म सडकमा हिंसा मच्चाएका थिए । संरा अमेरिकी सरकारका अनेकौँ प्रतिबन्धहरूको सामना गर्दै सान्डिनिस्टा सरकारले क्रान्तिका उपलब्धिहरू जोगाउँदै निकारागुआको औद्योगीकरणलाई तिव्रता दिएको छ । शतप्रतिशत जनतालाई साक्षर पारेको, बिजुली र स्वच्छ खानेपानी पु¥याएको र निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त भएको जनस्वास्थ्य उपचार प्रणालीको विकास गरेको छ । त्यस्तै २००६ सम्म ४० प्रतिशत जनता गरिबीको रेखामुनि रहेकोमा २०२१ सम्ममा २–३ प्रतिशतमा झारेको छ । आदिवासी जनसमुदायको जीवन व्यवस्थित बनाएर गरिबी उन्मूलन गर्ने लक्ष्यमा सान्डिनिस्टा सरकार सक्रिय रहेको छ । निकारागुवा समाजवादी देश क्युवा र भेनेजुयलाको अगुवाइ रहेका ल्याटिन अमेरिकी क्षेत्रीय सङ्गठनहरू अल्बा–टीसीपी, सेलाक र मर्कोसुरको सदस्य रहँदै आएको छ । त्यस्तै आन्ध्र र प्रशान्त महासागर वारपारका लागि निकारागुवाले चीनको सहयोगमा निकारागुवा नहर निर्माणलाई तिव्रता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *