भर्खरै :

नेमकिपाप्रति जनताको विश्वास बढ्दै छ

वर्गसङ्घर्षले मात्रै देशमा आमूल परिवर्तन हुन्छ । यो विश्व इतिहासले देखाएको घटना हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा पथ पदर्शक मान्ने कम्युनिस्ट पार्टीहरू वर्गसङ्घर्षलाई विश्वास गर्छन्, त्यही विश्वासअनुसार कम्युनिस्ट पार्टीले राजनीति गरिरहेको हुन्छ । नेमकिपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । त्यसकारण, नेमकिपा वर्गसङ्घर्षमा विश्वास राख्छ । वर्गसङ्घर्षको निम्ति नेमकिपाले जनतालाई राजनीतिकरूपले सुसूचित पार्दै छ । शान्तिपूर्ण या संसदीय मान्यताबाट देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने मान्यता नेमकिपाको हो । तर, सत्तामा गएका, सरकारमा जान पल्केका कम्युनिस्ट पार्टीहरू संसद्मा गएरै देशमा आमूल परिवर्तन या गणतान्त्रिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गर्छन् र वर्गसङ्घर्षको बाटो भुल्छन्, भुलिरहेका छन् । माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्ने सत्तारुढ कम्युनिस्ट पार्टीहरू किन वर्गसङ्घर्षको बाटो भुल्छन् भन्ने प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
आफूलाई कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, राजनीतिज्ञ र लेखक भन्ने बुद्धिजीवी भनाउँदा कति नेताहरू त वर्गसङ्घर्षको बाटो रोज्ने पार्टी कुनै हालतमा कम्युनिस्ट हुँदैन भनी फुक्छन् । पुँजीवादी संसद्मा गएरै सबै सुधार्न सकिन्छ, सङ्घर्षको जरुरी छैन भनी उनीहरू फलाक्छन् । यसैले यस्ता सत्तासीन दलका नेताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् । सिद्धान्त र विचारलाई बन्धक राखेर ती दलका नेताहरू कार्यकर्ता तान्न, जनमत बटुल्न या निर्वाचनमा जित्न पैसाको खोलो बगाउँछन्, लोभलालच देखाउँछन्, धाक धम्की दिन्छन्, भोज खुवाउँछन्, माल सामान बाँड्छन् । नेमकिपा यस्तो राजनीतिको विरोध गर्छ ।
दुई देशबीच हुने कुनै पनि असमान सन्धि र सम्झौताको नेमकिपा समर्थन गर्दैन । नेमकिपा साम्प्रदायिक भावना फैलाएर जातिवादी राजनीति गर्दैन । नेमकिपा उच्छृङ्खल राजनीति गर्दैन । नेमकिपा खोटो विचारको खण्डन गर्छ । नेमकिपा झूटको खेती गर्दैन । नेमकिपा अन्य दल र सरकारको कमी कमजोरी औँल्याउँछ, आलोचना गरेर अरूलाई सुधार्ने काम गर्छ । नेमकिपा विदेशमा सम्पत्ति राख्न नपाउने मान्यता राख्छ, व्यक्तिको सम्पत्ति सीमाङ्कन हुनुपर्छ भन्ने स्पष्ट विचार अगाडि सार्छ । नेमकिपा विदेशी पलायनको विरोध गर्छ । माविसम्म निःशुल्क र अनिवार्य तथा उच्च शिक्षा निःशुल्क हुनुपर्छ भन्ने धारणा नेमकिपाको हो । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने व्यक्तिहरूको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नुपर्छ भन्ने विचार नेमकिपाले अघि सारेको हो ।
सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक राजनीति गर्ने दल नेमकिपा हो । दलगत र व्यक्तिगत स्वार्थमा नअल्झी देश र जनताको निम्ति राजनीति गरिरहेको नेमकिपा भ्रष्टाचार, अनियमितता र कमिसनविरुद्ध आन्दोलनरत छ । सरकारले उद्योग, कारखाना खोलेर देशका युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्न र गराउन सङ्घर्षरत नेमकिपा देश र जनताप्रति समर्पित छ । हत्या, लुट, बलात्कार, मानव बेचबिखन, नेपालका चेलीबेटी वेश्यालय पु¥याएर धन्धा गर्ने अपराधीहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने मत नेमकिपाको हो ।
विदेशी हरूतक्षेप, विदेशी आक्रमणको विरोध गर्न कहिल्यै पछि नपर्ने नेमकिपा देशभक्त पार्टी हो । नेमकिपाले सदन र सडकमा उठाएका हरेक विषय देश र जनताको समस्यासित सम्बन्धित हुन्छ । ठूला शक्ति राष्ट्रले कुनै पनि स्वाधीन र सार्वभौम मुलुकमाथि भएको हसतक्षेपको नेमकिपा विरोध गर्छ । नेमकिपा अन्तर्राष्ट्रवादी दल हो । नेमकिपा निजीकरणको विरोधमा छ । जनताका आधारभूत आवश्यकता पूर्ति गर्न देशमै उद्योग, कलकारखाना खोल्नुपर्ने पक्षमा नेमकिपा छ । विदेशी सहयोगले कुनै पनि मुलुक विकास हुन्छ र आत्मनिर्भर हुनुपर्छ भन्नेमा नेमकिपा विश्वास गर्दैन । नेमकिपाको यस्तै चर्चा परिचर्चा अहिले गाउँ–ठाउँ तथा कुना कन्दरामा भइरहेको छ । नेमकिपाप्रति जनताको विश्वास बढ्दै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *