भर्खरै :

भक्तपुर नगरपालिकामा स्थानीय स्काउटको दीक्षान्त समारोह

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
उक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दीक्षित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक सुनिल प्रजापतिले सङ्कटको समयमा निःस्वार्थरूपमा देश र जनताको सेवा गर्नु नै स्वयम्सेवा भएको बताउँदै सङ्कटको समयमा नेपाल स्काउटका गतिविधिले अझ व्यापकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
देशको अस्तित्व र सार्वभौमसत्तासँग जोडिएको सन्धिसम्झौताको विषयमा स्काउटरहरूले जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नगरपालिका स्थानीय स्काउट तदर्थ समितिलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशको भविष्य युवा पुस्ताको हातमा हुने बताउँदै प्रमुख प्रजापतिले सङ्कटको समयमा साहसिक कामको लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले कोभिड महामारी नियन्त्रणमा भक्तपुर नपाले स्काउट परिचालन गरी विविध गतिविधिहरूलाई जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले स्काउट परिचालन गरी पाक्षिक सरसफाइको अभियान सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट एउटा स्वयम्सेवी संस्था भएको बताउँदै नेपालको ७५३ वटै स्थानीय तहमा नेपाल स्काउट गठन भइसकेको जानकारी गराउनुभयो । स्थानीय तहका बालबालिकाको संरक्षण गर्न र स्काउटिङ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले यसले विद्यार्थीहरूलाई समुदायमा गएर काम गर्न प्रेरित गर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख तथा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख स्काउट रजनी जोशीले अनुशासन र इमानदारिता असल विद्यार्थीको पहिचान भएको बताउँदै सभ्य समाज निर्माण गर्न र इमानदार नागरिक तयार गर्न नेपाल स्काउटको भूमिका प्रशंसनीय छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् स्थानीय स्काउट सदस्य सचिव कृष्णप्रसाद कर्माचायले नेपाल स्काउटबाट दीक्षित हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै नेपाल स्काउटले विद्यार्थीहरूलाई मन, वचन र कर्मले निःस्वार्थरूपमा जनता र समुदायको सेवा गर्न उत्प्रेरित गरिरहेको बताउनुभयो ।
नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संयोजक कृष्णसुन्दर प्रजापतिले नेपाल स्काउटले शैक्षिक अभियानको रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै युवाहरूलाई कुलतबाट जोगाउन स्काउटले भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा स्काउटमास्टर मतिना त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *