एकपक्षीय दबाबमूलक उपाय हटाउन २८ देशको आग्रह
- आश्विन १६, २०८३
यी हरफहरू लेखिरहँदा यिनलाई धेरै पढिन्न वा साझा गरिन्न भन्ने कुराको मलाई हेक्का छ । मलाई यो कुरा किन पनि थाहा छ भने मैले हजारौँ हजारले पढ्ने र साझा गर्ने हरफहरू पनि लेखेको छु । त्यसैले मैले लेखनीमा उच्च लोकप्रियता कमाउने सूत्र सिकिसकेको छु । हुलको पछाडि दौडिने गरी लेख्नाले लोकप्रियता पाउन सकिन्छ । यसको अर्थ बुर्जुआ सेलिब्रिटी, राजनीतिज्ञ आदिले के गरिरहेका छन् भनी लेख्नु हो । यिनीहरू पुँजीवादी व्यवस्थाले भाउ दिने व्यक्तिहरू हुन् । हामी सबैजना जानेर वा नजानेर, मानेर वा नमानेर त्यस्तै प्रतिक्रिया दिन्छौँ जस्तो पुँजीवादले हामीलाई दिने गरी तयार पारेको छ । त्यसैले सेलिब्रिटीहरू र तिनीहरूसँग सम्बन्धित विषयहरूमा हामीले चासो दिइहाल्छौँ । यस्ता कुराहरूलाई चलनचल्तीको संस्कृतिमा घोलेर लेखिएको लेखनीले धेरैको आँखा तान्ने सम्भावना हुन्छ ।
यिनै कारणले गर्दा समस्त मानव जातिको भोगाइबारे लेख्ने जमर्को गर्ने धेरैजनाले दबाब महसुस गर्छन् । उनीहरूले पुँजीवादले हामीलाई उपलब्ध गराएको सतही भाषाबाट गुज्रिनुपर्ने दबाब झेल्नुपर्ने हुन्छ । लेख्न थालेको एक दशक बितिसक्दा मैले सधैँ यो दबाबको प्रतिकार गर्ने सक्दो प्रयास गरेको छु । मेरो लागि सत्य बताउने विश्लेषण र दृष्टिकोण पस्किनु सबैभन्दा महत्वपूर्ण हो । म मानवको रूपमा हाम्रो भौतिक यथार्थसँग सत्यलाई दाँज्न खोजिरहेको हुन्छु । यति गर्न सक्षम हुनलाई मैले सामान्यजनको तालमा ताल मिल्ने शैलीमा लेख्ने गर्छु । खासमा तिनीहरू नै आज यो संसारमा पाइने सबथोकका आधारशिला हुन् । साथै म मार्कस गार्भेका शब्दहरू पनि सम्झिरहेको छु । उहाँ भन्नुहुन्थ्यो, “आज तिमीले जे गर्छौ, त्यसले भोलि कसैलाई असर गर्नसक्छ !” मैले एकचोटि केही चीज लेखेँ भने त्यो संसारभरि जान्छ । आज त्यसलाई धेरैले नपढ्ने हुनसक्छ । तर, त्यसले भोलिका असाटा शाकुर्स, टेओडोरा गोमेस, मेलकम एक्स वा क्वामे टुरेसको ध्यान तान्न सक्छ । तिनीहरू अझै नजन्मेका पनि हुनसक्छन् ।
यही मर्म बोकेर मैले यो विश्लेषण दिँदै छु । हामी सबैको दैनिक जीवनलाई असर गर्ने तत्वहरूलाई यहाँ केलाइनेछ । हामीमध्ये धेरैजना यी विषयहरूबारे सचेत नहुन सक्छौँ । यो अन्योलको प्रमुख कारण पुँजीवादी व्यवस्था हो ।

पुँजीवाद आजको विश्वको प्रभुत्वशाली आर्थिक व्यवस्था हो । यसले मान्छेलाई भन्दा नाफालाई प्राथमिकता दिन्छ । यो व्यवस्थाले विश्वभरिका मानिसलाई भौतिक, मानसिक र आध्यात्मिकरूपमा दबाएर बलियो पकड जमाउँछ । आफ्नो पकड कायम राख्न पुँजीवादले अपनाउने रणनीति भनेको जनतालाई कुहिरोको काग बनाइराख्नु हो । आज विश्वका अधिकांश पिरव्यथाको लागि पुँजीवादी व्यवस्था नै जिम्मेवार छ । तैपनि, जनताले पुँजीवादलाई शान्ति र मुक्ति दिलाउनसक्ने एकमात्र व्यवस्थाको रूपमा हेर्नु अचम्मै छ । पुँजीवादले मानिसलाई यो कुरामा विश्वास दिलाइरहन्छ र यसमा प्रश्न उठाउन नसक्ने बनाइरहन्छ । यही कसरतले नै पुँजीवादलाई जोगाइरहेको हुन्छ । फलस्वरूप पुँजीवादले आफ्नो उद्भव र दैनिक अस्तित्वबारे झूटैझूट फलाकेर पछिल्लो पाँच शताब्दी बिताइसकेको छ । यी झूटहरू कसैका निजी फलाकाहरू होइनन् । यिनीहरू त व्यवस्थाजन्य झूटहरू हुन् । यसमा गोरो छालाको सर्वोच्चता, पितृसत्ता, समलिङ्गीप्रतिको भय, व्यक्तिवाद, कुलीनतन्त्र, आदर्शवाद आदि पर्छन् । यिनलाई बाह्रै मास, हरेक दिन, चौबिसै घण्टा प्रसारित गरिन्छ । अर्को शब्दमा संसारभरि नै दमन, मृत्यु र विनाश पुँजीवादको यथार्थ रूप बन्दै आएको छ । जनताले यसबारे थाहा पाउनु पुँजीवादका निम्ति जोखिमपूर्ण हुन्छ । त्यसैले पुँजीवादले भ्रमहरू जन्माउँछ र त्यसलाई लगातार र व्यवस्थितरूपमा प्रसार गर्छ । त्यही भएर धेरै मानिसहरूले भ्रमहरू पर्गेल्न वा केलाउन सक्दैनन् ।
उसको यो रणनीति सफल हुनुको प्रमुख कारण अर्कै छ । पुँजीवादले विचारहरूको अध्ययनलाई अवमूल्यन गर्छ । विचारहरू बुझ्न खोज्ने सङ्घर्षले नै मानिसलाई पुँजीवादीहरूको दाउपेच कसरी पहिल्याउने भनी सिकाउँछ । यो कुरा पुँजीवादीहरूलाई राम्ररी थाहा हुन्छ । त्यसले गर्दा उनीहरूले कहिल्यै पनि जनतालाई त्यस्तोखाले सीप सिकाउने छैनन् वा सिक्न दिने छैनन् । कसैले त्यस्तो गर्न खोजे तिनलाई उनीहरूले तिरस्कार गर्नेछन् । यसको लागि उनीहरूले सञ्चार जगत, शैक्षिक संस्था, चर्च, मदरसाजस्ता आफ्ना शक्तिशाली प्रचारतन्त्रहरू प्रयोग गर्छन् । यति गर्न पुँजीवादी आमसञ्चारले लाखौँ व्यक्तिहरूलाई हातमा लिएको हुन्छ । ती व्यक्तिहरूले आफूले संसारभरिका घटनाबारे मानिसहरूलाई सन्तुलित दृष्टिकोण दिइरहेको ठान्छन् । तिनीहरूले तपाईँलाई यही कुरा मनाउन खोज्छन् र तपाईँले चिनेजानेका धेरै मानिसहरूले केही हदसम्म यो कुरा पत्याउँछन् पनि । यिनै कारणहरूले गर्दा ज्ञानको पुजा हुने माथिका स्थानहरूमा हाम्रो भौतिक परिस्थितिबारे वास्तविक अध्ययन हुन्न । उपासकहरू जागरुक बनेर पुरेतहरूका गल्ती सच्याइदिने वातावरण नै हुन्न । सामूहिक अध्ययन नै हुन्न । खालि धर्मग्रन्थहरूको एकोहोरो रटान हुन्छ । त्यसैले मानिसहरूले धर्मग्रन्थका मन्त्रहरू दोहो¥याउन सक्छन्, तर कमैले मात्र तिनको ऐतिहासिक पृष्ठभूमि बताउन सक्छन् । त्यही भएर सिनेमा, समाचार, टेलिभिजन कार्यक्रमहरू आदिले एउटै कथ्य दोहो¥याइरहेका हुन्छन् । यसको अर्थ तपाईँले यस्ता चीजहरू हेरिरहँदा प्रायः जसो अन्त्यमा के होला पनि पहिल्यै अनुमान लगाउन सक्नुहुन्छ ।
पुँजीवादी व्यवस्थाले वास्तवमै तपाईँलाई दुई तीन विषयबारे मात्र बताउँछ । तिनीहरू तपाईँलाई सकेसम्म दुई तीन कुरामा सीमित बनाउन चाहन्छन् । सन् २०२० बारे सोच्ने हो भने सबै बुर्जुवा सञ्चार माध्यमले तपाईँलाई अमेरिकी राष्ट्रपति निर्वाचन र कोरोना भाइरसकै सेरोफेरोमा भुलाउन खोज्छन् । तपाईँले सन् २०२० मा अफ्रिका, एसिया, ल्याटिन अमेरिका वा क्यारिबियाको राजनीतिक, आर्थिक र सामाजिक यथार्थ कस्तो थियो भनी केही पनि सिक्नुहुन्न । निर्वाचन र कोभिडको बेला तिनीहरूले तपाईँलाई आलोचनात्मक सूचनासहितको व्यापक दृष्टिकोणबारे बताएनन् । तपाईँलाई भुइँ स्तरमा भइरहेका परस्पर सहयोगको कुनै झलक देखाइएन । सरकारले भन्दा पनि विभिन्न जनसङ्गठनहरूले यस्ता सरसहयोग गरिरहेका थिए । पछिल्लो २ वर्षमा यिनै सहयोगी हातहरूले धेरै मानिसहरूको ज्यान जोगाएका थिए । तिनीहरूले यस्ता सहयोगहरूलाई बेवास्ता गरे किनभने यस्ता सूचनाहरू दिएको खण्डमा जनताले यति धनी देशमा पनि किन यस्ता सहयोगहरूको खाँचो परेको होला भनी प्रश्न गर्नेछन् । तिनीहरूले तपाईँलाई गरिब औपनिवेशिक समाजहरूमा कोभिडले कति कहालीलाग्दो असर पा¥यो भनी ठोस र भरपर्दो खबर देखाएनन् किनभने यस्तो खबरले तपाइँलाई त्यस्ता समाजमा उत्पीडन कति असह्य हुन्छ भनी बुझ्न सघाउने थियो । साथै तिनीहरूले अरूले कोभिडलाई निस्तेज पार्न गरेका प्रयत्नहरूबारे कहिल्यै बताएनन् । उदाहरणका लागि तिनीहरूले शत्रु ठान्ने समाजवादी क्युवाका प्रयत्नहरूबारे चुँ बोलेनन् । यी विरोधाभाषहरू हुँदाहुँदै पनि तिनीहरू हरदिन तपाईँकहाँ आउँछन् र सपाट अनुहार लगाएर व्यवहारमा प्रजातन्त्र भनेको यही हो भन्छन् । यही प्रजातन्त्र नोभेम्बर २०२० को अमेरिकी राष्ट्रपति निर्वाचन ‘व्यवहारमा प्रजातन्त्र’ थियो भन्दै घरिघरि रोइलो गर्छ । अनौठो विरोधाभाष के छ भने तिनीहरूले लाखौँ मानिसहरूलाई यो कुरामा सहमत बनाएका छन् । जब कि त्यति नै बेला संरा अमेरिकाले बोलिभिया र भेनेजुयलाका निर्वाचनहरूमा प्रजातन्त्र तहसनहस पार्न नेतृत्वकारी भूमिका खेलेको थियो भन्ने उदाङ्गिसकेको छ । यी विरोधाभाषहरू दिउँसोको घामझैँ छर्लङ्ग छन् । तर, कथित आम सञ्चारमाध्यमले लाञ्छना लगाउने बेलाबाहेक कहिल्यै भेनेजुएला, बोलिभिया, क्युवाजस्ता देशहरूको नाम लिँदैनन् । तिनीहरूले कस्तो यथार्थ रचेका छन् भने लाखौँ लाख मानिसहरूले तिनले देखाएको एकतर्फी र बेइमान चित्रलाई सन्तुलित दृश्य भनी पत्याउँछन् । यसलाई यसरी सोचौँँ– तपाईँका अभिभावक वा तपाईँको जोडीले तपाईँलाई लगातार तपाईँ काम नलाग्ने हुनुहुन्छ भनिरहेको खण्डमा अन्ततः तपाईँले आफूबारे यो विश्लेषण केही हदसम्म सही र सत्य हो भनी पत्याउँदै जानुहुनेछ । दुर्भाग्य, अमेरिकी समाजमा यस्तो प्रवृत्ति धेरै देखिन्छ ।
यी पुँजीपतिहरूका घिनलाग्दा दाउपेच निरन्तर सफल हुँदै आएका छन् । यस्तो किन पनि हुन्छ भने तिनीहरूले हामीमध्ये धेरैलाई सूचनाहरू पढ्नु समय खेर फाल्नु हो र यसो गर्नु मानव चरित्रको गलत उदाहरण हो भनी विश्वास दिलाएका छन् । मानिसहरूले विस्तृत अध्ययन गरेको त्यति देखिँदैन । यसमा ध्यान दिनुस् । हामी इन्टरनेटमा आउने पप कल्चरसँग सम्बन्धित चलनचल्तीका लेख, पत्रपत्रिका र यस्तैखाले सामग्रीको कुरा गरिरहेका छैनौँ । मानिसहरूले दर्शन, सिद्धान्त, इतिहासजस्ता विषयका पुस्तकहरू पढेको कति देख्नुभएको छ ? कुरा यो हो । तपाईँले देखेको छु नै भन्नुभयो भने पनि त्यो खालि केही व्यक्तिको तहमा देख्नुभएको होला । सामूहिकरूपमा निरन्तर यसो गरिरहने मानिसहरूलाई चिन्छु भनी थोरैले मात्र दाबी गर्नसक्छन् । सबैको त्यसै भन्लान् भन्ने छैन । यी हरफहरू पढिरहेका धेरैजसो पाठकहरूले त्यसरी अध्ययन नगर्ने स्पष्ट छ । यथार्थ यही हो किनभने हामीले यो कुरा आवश्यक छैन भनी आफैलाई मनाउन तिनीहरूलाई अनुमति दिएका छौँ । हाम्रो जीवन चलाउन थाहा पाउनुपर्ने सबथोक हामीलाई पहिल्यै थाहा छ भनी चित्त बुझाउन दिएका छौँ । हामी यो कुरामा विश्वास पनि गर्छौँ किनभने तिनीहरूले संसारलाई आदर्शवादी र निजी दृष्टिकोणबाट हेर्न हामीलाई रटाएका छन् । यसको अर्थ हामीलाई जे कुरा थाहा छ भन्ने लाग्छ, त्यत्ति भए पुग्छ, अर्थोक बाल मतलब भन्नु हो । निजी अनुभवभन्दा बाहिर अर्थात् आफूलाई सीधै असर गर्ने जस्तो लाग्ने कुरामा बाहेक हामीले कुनै पनि चीजमा चासो दिनुपर्दैन भन्नु हो । यो कुतर्कमा तिनीहरूले एकचोटि हामीलाई विश्वास दिलाएपछि हामीले जीवनसँग जोडिएका विषयहरूप्रति आँखा चिम्लिदिन्छौँ । हामीलाई ती विषयले व्यक्तिगत जीवनमा हामीले जे गरिरहेका हुन्छौँ त्यसलाई सीधै असर गरेजस्तो लाग्दैन । कसरी घर वा कार किन्ने, धेरैभन्दा धेरै पैसा कसरी कमाउने भन्नेबारे नसिकाउने विषयलाई हामीले सान्दर्भिक ठान्दैनौँ । सन् १९३० को दशकको एडोल्फ हिटलरको नाजीवादी जर्मनीपछि यो नै सबैभन्दा प्रभावशाली बौद्धिकताविरोधी अभियान हो ।
त्यसैले सामान्य सोचका मानिसहरूलाई कुरा बुझाउने काम झन्झन् गाह्रो बन्दै गएको छ । तपाईँसँग सम्पूर्ण सूचना र प्रमाणहरू भए पनि उनीहरूले तपाईँका कुरा पत्याउन अस्वीकार गर्छन् किनभने त्यो उनीहरूको सोचको चौघेराभित्र अटाउन्न । त्यो कुरा उनीहरूको सोच र काममा सान्दर्भिक देखिन्न । त्यो भन्दा पनि माथि पुँजीवादसँग उत्पीडनको अर्को बन्दोबस्त हुन्छ । यो बन्दोबस्तले रातदिन काम गरिरहेको हुन्छ । यसले मानिसहरू जति नै उत्पीडित भए पनि एक दिन उनीहरू करोडपति बन्न सक्छन्, उनीहरूले चिट्ठा जित्न सक्छन् वा अरबपतिसँग बिहे गर्न सक्छन् है भनी विश्वास दिलाएको हुन्छ । त्यसैले पनि उनीहरूले सधैँ पुँजीवादी व्यवस्थामा आस्था राख्नुपर्छ किनभने त्यसो नगरे उनीहरूले त्यो अवसर पनि गुमाउनुपर्ने हुन्छ भनी पुँजीवादले घोटाइरहेको हुन्छ । २५ वर्षसम्म घरविहीन भए पनि, गोरो छालाको हैकम वा पितृसत्ताबाट पीडित भए पनि आस्था कायम राख है भनी सिकाएको हुन्छ । साथमा पुँजीवादले अर्को यथार्थ पनि सम्भव छ भनी देखाउन सक्ने कुनै पनि वैकल्पिक विचारलाई ठाडै अस्वीकार गर्न लगाएको हुन्छ । यो भग्न परिस्थितिमा एउटा घरबारविहीन व्यक्तिले पुँजीवादको प्रतिरक्षा गर्न पुग्छ । तपाईँले उसलार्ई उसको दुःखको कारण लोभ र उत्पीडन हो भनी जतिसुकै प्रमाण दिए पनि उसले आफ्नो लत्तो छोड्दैन । योभन्दा गतिलो बुद्धि विरोधको उदाहरण अर्को हुनसक्दैन भन्ने लाग्छ ।
धेरै मानिसहरू कुहिराका काग बनेका छन् । यो र यस्ता छलफललाई आ–आफ्ना निजी चस्माबाट मात्र हेर्नसक्छन् । त्यही भएर बुद्धि विरोध समस्या हो भनी हामीले छलफल गरिरहेको देख्दा हामीले नपढ्ने वा अध्ययन नगर्ने मानिसहरूको आलोचना गरिरहेका छौँ भन्ठान्छन् । तपाईँसँग साधन र क्षमता हुँदाहुँदै पनि अध्ययन गर्नुहुन्न भने तपाईँको आलोचना गर्नैपर्छ । तर त्यो बहसको मूल विषय होइन । गाँठी कुरा के हो भने पुँजीवादले अध्ययन गर्नु खराब हो भनी हामीलाई मनाएको छ । ‘सूचना नै शक्ति हो’ भन्ने विचार कता गयो ? मेलकम एक्सजस्ता दिग्गजले हामीलाई ‘इतिहासले हाम्रो अध्ययनको निम्ति पुरस्कार दिनेछ’ भनी सिकाएको सन्दर्भ कता हरायो ?
हामीलाई गलत नठान्नुहोला । हामी मानव जातिमाथि विश्वास गर्छौँ । तर, हामी भ्रममा पनि छैनौँ । सुव्यवस्थित शिक्षामा पहुँच पाउने आफ्नो अधिकार लिन खोज्दा हाम्रा मान्छेहरूलाई बर्बरतापूर्वक कुटिएको थियो । संरा अमेरिकामा मात्र होइन, संसारभरि नै त्यसै गरिएको थियो । जनतामाथिको आस्थाको अर्थ तपाईँ एक्लैमाथि आस्था होइन । तपाईँले त्यो सम्मान पाउने गरी काम गर्नुभएको छैन भने तपाईँमाथि त्यस्तो आस्था राख्न सकिन्न । जनतामाथि आस्थाको अर्थ ती व्यक्तिहरूलाई सम्मान गर्न थाल्नु हो जसले सामूहिकरूपमा सुन्दर जीवनका निम्ति लडे, बलिदान र योगदान गरे । हाम्रा मान्छेहरू आफूले मात्र शिक्षा पाउनका लागि लडेका थिएनन् । आफूले शिक्षा नपाएको भए पनि तिनीहरू लडे, आफूपछिको पुस्ताकै लागि भए पनि लड्नुपर्छ भनेर लडे । हामीलाई शिक्षा चाहिन्छ भन्ने उनीहरूले बुझे किनभने सुव्यवस्थित शिक्षालाई प्रभावकारीरूपमा प्रयोग गरेर हामीले आफ्ना जनतालाई उत्पीडनबाट मुक्त गर्नसक्छौँ भन्ने उनीहरूले बुझेका थिए । पुँजीवादी व्यवस्थाले अझै पनि हामीमाथि त्यो उत्पीडन चालू राखेको छ । तर आज हामीले हाम्रा अग्रजहरूको बुझाइ गुमाउन पुगेका छौँ ।
पढाइविरोधी हुनु गजब होइन, मूर्खता हो । मानिसलाई अध्ययन गर्न असम्भव तुल्याउने वा गाह्रो बनाउने कुनै भौतिक वा मनोवैज्ञानिक छेकबार छ भने हामीले त्यसलाई भत्काउने विधिहरूको विकास गर्नुपर्छ । तर, कुनै पनि हालतमा पढ्नु भनेको पुँजीवादी वा बुर्जुआ अवधारणा हो भन्ने पिछडिएको सोचको पछाडि हामी लाग्नु हुन्न । तपाईँले अध्ययन गरेको देख्न नचाहने पुँजीपतिहरू नै हुन् किनभने तपाईँले त्यसो गरेमा आफ्नो पत्ता साफ हुन्छ भन्ने कुरा तिनलाई राम्ररी थाहा छ । कस्तो विरोधाभाष छ है ! तिनीहरू विरोधीहरूलाई खिसी गर्छन् । त्यसैले विरोध गर्नेहरू आफूलाई खिसीट्युरी गरिन्छ कि भनी डराउने गर्छन् । यही डरको प्रयोग गरेर तिनीहरूले हामीमध्ये धेरैलाई तिनको जरो उखेल्ने कामबाट पर भगाउँछन् । तपाईँले क्रान्तिकारी राजनीतिक शिक्षा र बुर्जुवा अभिजात्य बौद्धिकताबीच स्पष्ट भेद छुट्याउन सक्नुहुन्न भने हामी त्यसबारे बताउन तयार छौँ । हामी क्रान्तिकारी राजनीतिक शिक्षा चाहन्छौँ, पुँजीवादी बुद्धिविलास होइन । हामीले यो यथार्थ सबैले बुझेको र पत्याएको देख्न चाहन्छौँ । यति गरेपछि मात्र हामी काम थाल्न सक्छौँ । यो संसारका समस्याहरूले शिक्षा खोजिरहेका छन् । केही चुनिएका व्यक्तिहरूले शिक्षा लिने र अरूको लागि समस्या हल गर्ने होइन । बरु बहुसङ्ख्यक जनसमूहले शिक्षालाई साधन बनाएर सामूहिक तहमा हाम्रा समस्याहरूको एकमुष्ट समाधान निकाल्नुपर्छ । त्यो नै हामीले दिनसक्ने क्रान्तिकारी प्रक्रियाको सबैभन्दा तर्कपूर्ण र स्पष्ट परिभाषा हो ।
(Bourgeois Idealism & The Promotion of Anti–Intellectualism)
–MR online
December 16, 2021
अनुवादः आनन्द
Leave a Reply