भर्खरै :

काठमाडौँमा क्रान्तिकारी किसान भेला

काठमाडौँ, २८ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा काठमाडौँ जिल्लाको टोखामा किसानहरूको भेला भयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको भेलामा सङ्घका केन्द्रीय अध्यक्ष काफ्लेले सबै नीतिहरूको राजा राजनीति भएकोले देशको सम्पूर्ण क्षेत्रमा राजनीतिक नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सत्तामा गलत मानिसहरू गएको र जनताले पनि गलत मानिसलाई चुनेको कारण देश झन्झन् गरिब हुँदै गएको उहाँले बताउनुभयो ।
मानिसहरूमा राजनीतिक संस्कार विकास नभएको कारण समाजका सबै क्षेत्रमा विचलन आएको चर्चा गर्दै उहाँले देशको विकासको लागि सही राजनीतिक संस्कार आवश्यक भएको बताउनुभयो । नेपाललाई अमेरिकाले स्वतन्त्र राष्ट्र नमानी भारतको अधीनमा रहेकोले नेपाली जनता एमसीसी सम्झौताविरुद्ध सडकमा ओर्लनुपर्ने उहाँले बताउनुभयो ।
नेपालका शासक दलहरू विदेशीहरूका दलाल भएकाले आफ्ना मालिकलाई खुसी बनाउनको लागि एमसीसी सम्झौता पास गर्न खोजेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले राजनीतिक कार्यकर्ताहरूको स्कुलिङ राम्रो नभएको खण्डमा देशलाई नै हानि हुने चर्चा गर्दै शासक दलका राजनीतिक कार्यकर्ताहरूको स्कुलिङ नै गलत भएको विचार व्यक्त गर्नुभयो । हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकोले देश झन्झन् गरिब हुँदै गएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य गुणदास महर्जनले शासक दलहरूले नेता र कार्यकर्ताहरूको स्वार्थपूर्ति गर्न लागिरहेको बताउनुभयो ।
कार्यक्रम नेपाल क्रान्तिकारी किसान सङ्घ, काठमाडौँका अध्यक्ष वीरबहादुर डंगोलको सभापतित्वमा भएको थियो । स्वागत मन्तव्य काशीलाल डङ्गोलले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *