भर्खरै :

त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा नसुध्रिएको कर्मचारीतन्त्र

काठमाडौँ, ४ माघ । देशकै सबभन्दा जेठो त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) को ढिलासुस्ती र कर्मचारीहरूको परम्परागत कार्यशैलीको जति आलोचना भए पनि त्यहाँको काम गर्ने शैलीमा कुनै सुधार देखिएको छैन । लाखौँ विद्यार्थीले त्रिविका विभिन्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसबाट प्राप्त उच्च शिक्षाको औपचारिक प्रमाण पत्र दिने निकायको कार्यशैली अझै पञ्चायतकालीन खालको छ ।
सानोतिनो कामको लागि पनि विद्यार्थीले निकै झर्कोलाग्दो प्रक्रिया पार गर्नुपर्ने अवस्थाले धेरै विद्यार्थीको लागि पनिका धाउनु झिंझोलाग्दो काम बन्दै आएको छ । मङ्गलबार दिउँसो २ बजे पनिकाको ट्रान्सिक्रिप्ट वितरण गर्ने शाखाअघि खाजा खान गएका कर्मचारी आउने प्रतिक्षामा उभिएका एक विद्यार्थीले दिक्क मान्दै भने, “आलोपालो गरेर खाजा खान गए हुन्थ्यो । कार्यालयको काम नै बन्द गरेर बाहिर जाँदा विद्यार्थीको समय खेर जाने गरेको छ ।”
दिउँसो १ः३० देखि २ः३० बजेसम्म खाजा समय भन्दै कर्मचारी कार्यालयको कुनै पनि कोठामा थिएनन् । कार्यालयका अधिकांश शाखामा ताला लगाइएको थियो । कर्मचारीको प्रतिक्षामा ढोका छेउ उभिएका विद्यार्थीहरू २ः४० बजेसम्म कोही पनि कर्मचारी नआएपछि रिसाउँदै भने, “जाने बेला घडी थपेर १ः३० मा ढोका बन्द गर्छन् । आउँदा २०–२५ मिनेटपछि फर्किन्छन् ।”
पनिकाको दर्ता चलानी शाखाको जिम्मेवारी पाएको कर्मचारी कोभिड सङ्क्रमित भएकोले सो शाखा बन्द हुँदा धेरै विद्यार्थी काम अधकल्चै छोडेर फर्किनुप¥यो ।
पनिकामा अझै पनि एउटा कामको लागि धेरै वटा कोठा धाउनुपर्ने परम्परागत शैली छ । विद्यार्थीहरूले कुनै पनि प्रक्रिया पूरा गर्न कम्तीमा चार–पाँच वटा धाउनुपर्ने अवस्था छ । कम्तीमा तीन–चार पटक पनिका नधाई सामान्त्र्न्दा सामान्य काम पनि नहुने अवस्था छ ।
“दुनियाँ कहाँ पुगिसक्यो । देशको भविष्यका कर्णाधार बनाउने विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको अवस्था यस्तो छ”, ट्रान्सक्रिप्ट लिन दुई तीन पटक आएर पनि काम नबनेकोमा दिक्क मान्दै एक विद्यार्थीले भने ।
पनिकाको अधिकांश कोठाको बनोट पनि पञ्चायतकालीन कार्यालयकै छनक दिने खालको छ । अधिकांश भवनको कोरिडोरमा भाँचिएका फर्निचर र पुराना दराज तथा पुराना कागजको थुप्रोले भरिएको छ । दराजका लहर र टेबुलले साँघुरो बनेका कोठामा कर्मचारीहरू पुराना फाइल र ढड्डाको चाङबीचमा काम गरिरहेका हुन्छन् ।
पनिकाका कोठाहरू हेर्दा संसारको आधुनिक प्रविधिबारे बल्खुको त्यो कुना बेखबर भएको अनुभव हुन्छ ।
“यहाँका कर्मचारीहरूको बोली नै रिसउठ्दो खालको छ । नजानेको कुरा सोध्दा पनि उल्टोपाल्टो जवाफ दिन्छन्,” विद्यार्थीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *