भर्खरै :

ख्वप अस्पतालमा एन्टिजेन परीक्षण गर्नेको भिड

‘स्वास्थ्यकर्मी धमाधम सङ्क्रमित’, ‘त्रिवि शिक्षण अस्पतालको मेडिकल आईसीयूका सबै कर्मचारी सङ्क्रमित भएपछि वार्ड बन्द’, ‘राजधानीका केन्द्रीय स्तरका ६ अस्पतालमा मात्रै २ सत्र्न्दा बढीमा कोरोना’, ‘अस्पताल भरिभराउ, होल्डिङ सेन्टर खाली’, ‘सुदूरपश्चिममा ५० प्रतिशत बढीमा सङ्क्रमण’, ‘कर्णालीमा नाकामै अस्पताल, सङ्क्रमण फैलिन नदिन सतर्कता’, ‘भक्तपुरमा सङ्क्रमण बढ्दो’, ‘ख्वप अस्पतालले सात शय्याको आइसीयू सञ्चालन गर्दै’ जस्ता समाचार शीर्षकहरूबाट नेपालमा पनि कोभिड सङ्क्रमण तीव्र बन्दै गएको अनुमान गर्न सकिन्छ ।
पुस २५ देखि माघ १ सम्मको कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिकरूपमा बढेको तथ्याङ्क छ । पुस २५ गते १,१६७ जना सङ्क्रमित भयो भने पुुुुस २६, २७, २८, २९ र ३० गते क्रमशः १४४६, २४४४, ३०७५, ३५५३, ५०८७ जना सङ्क्रमित भए । यस्तैगरी माघ १ गते शनिबार र सङ्क्रान्तिको दिन एन्टिजेन परीक्षण बन्द र पीसीआर परीक्षण गर्ने सङ्ख्या कम भएर पनि ४,६३६ जना सङ्क्रमित थपिएका हुन् । माघ २ गते आइतबारको परीक्षणमा देशभरमा ४,९६१ सङ्क्रमित थपिएको पुष्टि भयो ।
भक्तपुर नगरपलिकाद्वारा सञ्चालित ख्वप अस्पतालले पनि एन्टिजेन परीक्षण गरी जनतालाई सेवा प्रदान गरिरहेको छ । आइतबार म पनि एक आफन्तको एन्टिजेन परीक्षणको लागि च्याम्हासिंहस्थित ख्वप अस्पताल प्राङ्गणमा पुगेँ । ख्वप अस्पतालले दिनको १ देखि २ बजेसम्म स्वाब सङ्कलन गरी कोभिड पोजिटिभ भए नभएको परीक्षण गरी पोजिटिभ भएमा दिइएको नम्बरमा सम्पर्क गरी जानकारी दिनेरहेछ । साथै आवश्यक सुरक्षा र उपचारका लागि सुझावसमेत दिनेरहेछ । यो प्रशंसनीय कार्य हो । शनिबार परीक्षण बन्द भएर हो कि देशैभरि कोभिड–१९ तीव्र वृद्धि भएर हो एन्टिजेन (स्वाब÷खकार) परीक्षणको लागि लाइन बस्नेको सङ्ख्या निकै बढेको मैले देखेँ । ख्वप अस्पतालमा दिनको २ बजिसकेको अवस्थामा पनि करिब २५ जनाको लाइन बाँकी थियो । समय अवधि सकिसकेकोले परीक्षण नगरिने हो कि भनी लाइनमा बसिरहेका बिरामीहरू पिर लिएर बसेका थिए । तर, ख्वप अस्पतालका व्यवस्थापकहरूको सक्रियतामा लाइनमा रहेका सबैको एन्टिजेन परीक्षण गराइयो । सबैको स्वाब लिइसक्दा २ः५० बजे भइसकेको थियो । ख्वप अस्पतालमा सेवा राम्रो भएको चर्चा पनि भयो । ख्वप अस्पतालमा मात्र ८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमा ४२ जना (५१ प्रतिशत) कोरोना पोजेटिभ देखाइएको खबर छ । शनिबार १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको एन्टिजेन परीक्षण गर्दा ६ जनाको पोजिटिभ भएको खबर थाहा भयो ।
हुन त ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरू पनि कोरोना सङ्क्रमित भएको खबर छ । तथापि, स्वास्थ्य सेवामा कमी नगरी पहिलेकै अवस्थामा अस्पताल सञ्चालित छ । सङ्क्रमित थपिँदै गएको अवस्थामा स्वास्थ्य सेवामा समस्या आउन सक्ने सम्भावना छ । अतः सामाजिक कार्यकर्ता तथा सर्वसाधारण जनता स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित हुनुपर्ने अहिलेको आवश्यकता हो । सेवारत स्वास्थ्यकर्मीहरूले पनि धैर्यका साथ बढीभन्दा बढी बिरामीलाई सेवा दिनु आफ्नो कर्तव्य हो भन्ने भावनाले कार्य गर्नु आवश्यक छ ।
विसं २०३९ सालमा १ जना नर्स राखी जन स्वास्थ्य केन्द्र सुरु गरिएको थियो । घाउचोट लागेकालाई मलमपट्टी लगाउने कार्यबाट जन स्वास्थ्य केन्द्र सुरु भएको थियो । त्यसबेला बिरामी पर्दा स्वास्थ्य परीक्षणभन्दा वैद्य, झाक्री देखाउने र भूत पन्छाउने, दोष पन्छाउने, देउता खुसी पार्ने भनी दोबाटो, ‘भुलाँ’, देवस्थलमा अक्षता चढाउने, ‘बौ’ चढाउने काम हुन्थ्यो । यही जन स्वास्थ्य र भक्तपुरका राजनैतिक कर्मीहरूले अन्धविश्वासबाट टाढा रहनुपर्ने शिक्षा दिए । प्रौढ कक्षा, रात्री कक्षा, विद्यालय कक्षा, राजनैतिक कक्षा आदिबाट शिक्षित गर्ने कार्य भयो । फलस्वरूप, भक्तपुर नगरका सचेत जनताले किसान, मजदुर, राजनैतिक कार्यकर्ताहरूलाई जन प्रतिनिधिको रूपमा भक्तपुर नगरपालिकामा चुनेर पठाए । अनि शिक्षा क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले सेवा ग¥यो । आज भनपाले ख्वप अस्पताल स्थापना गरी जनताको सेवा गर्न सकेको अवस्था छ । अन्य नगरपालिकाका पदाधिकारीहरूले यहाँको शैक्षिक संस्था, कला संस्कृति संरक्षण, व्यवस्थित आवास क्षेत्र निर्माण, पारदर्शिता, कार्यशैली आदिको अध्ययन र अवलोकन गरिरहेका छन् । भनपाले स्वास्थ्य क्षेत्रमा पनि अझ राम्रो सेवा गर्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *