भर्खरै :

लकडाउनमा रात्रिभोज गर्दा बेलायतका प्रमको पद धरापमा

लन्डन, १९ जनवरी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई यतिबेला आफ्नो पद जोगाउन सकस भइरहेको छ ।
कोरोनाको बढ्दो सङ्क्रमणसँग बेलायत सरकारले जारी गरेको लकडाउनबीच उनले आफ्नो घरमा रात्रिभोज आयोजना गरेको भन्दै उनको चर्को आलोचना र पदबाट राजीनामा दिन माग बढिरहेको छ ।
निषेध गरिएको समयमा रात्रिभोज भएको भन्दै संसद्मा बोरिसका एक जना पूर्वसल्लाहकारले आलोचना गरेपछि प्रधानमन्त्रीले सो आरोप झूटो भएको जवाफ दिएका थिए । विभिन्न स्रोतका अनुसार बोरिसमाथिको अविश्वासको प्रस्तावको लागि आवश्यक संसद् सङ्ख्या जुट्ने अवस्था बन्दै छ ।
सन् २०१९ को पछिल्लो चुनावमा निर्वाचित अनुदारपन्थी २० जना सांसदहरूले जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिरहेको द टेलिग्राफ पत्रिकाले जनाएको छ ।
जोनसनको कार्यालयले यस्तो तयारीबारे कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।
दुई वर्षअघि जोनसन अनुदारपन्थी दलको प्रिय नेता थिए । सन् १९८७ मा मार्गरेट थ्याचरले संसद्मा सबभन्दा ठुलो बहुमत दिए यता जोनसनले सन् २०१९ मा अनुदारपन्थीको पक्षमा अर्को ठूलो बहुमत हासिल गरेको थियो । त्यही बहुमतको आडमा जोनसनले बेलायतलाई युरोपेली सङ्घबाट बाहिर निकालेका थिए ।
तर, प्रधानमन्त्री कार्यालयले बेलायतमा लागु गरिएको कडा लकडाउनको नियम उल्लङ्घन गरेको कुरा बाहिर आए पनि आफ्नै दलभित्र जोनसनको सम्बन्ध निकै बिग्रेको छ ।
जोनसनको पद धरापमा पार्न संसद्मा रहेका ३६० जना अनुदार सांसदहरूमध्ये ५४ जनाले उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुपर्छ ।
यस्तो निवेदन भने गोप्य राखिन्छ । संसदका अध्यक्षले मात्र कतिजना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् भन्ने कुरा थाहा पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *