भर्खरै :

समाज सुधारकको प्रतिमामा अपमानजनक व्यवहार

कोइम्बटुर, १९ जनवरी । भारतका समाज सुधारक पेरियार इभी रामास्वामीको प्रतिमामा अपमानजनक व्यवहार गरेको आरोपमा तामिलनाडु प्रहरीले हिन्दूवादी सङ्गठनका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । अभियुक्त दुवै जना कोइम्बटुरको भेलालोरीका बासिन्दा हुन् । उनीहरूले रामास्वामीको अनुहारमा गेरू रङको अबिर दलेर जुत्ताको माला लगाएका थिए ।
घटना जनवरी ८ मा भएको र अर्को दिन सार्वजनिक भएको बताइएको छ । पक्राउ गरिएका दुई जना दोषीलाई कोइम्बटुरको कारागारमा चलान गरिएको छ ।
समाज सुधारकको प्रतिमामाथि यस्तो अपमानजनक व्यवहारको तामिलनाडुका व्यापक विरोध भएको छ । द्रविदर कझागम र थनथानइ पेरियार द्रविदर कझागमलगायतका सङ्गठनहरूले सो घटनाप्रति विरोध जनाउँदै यस्तो काम गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
पेरियार रामास्वामीको प्रतिमामाथि विगतमा पनि तोडफोड हुने गरेको थियो । सन् २०२० को जुलाईमा पनि उनका दुई प्रतिमामाथि यसरी नै अपमानजनक व्यवहार गरिएको थियो । पेरियार भारतको द्रविडहरूको आन्दोलनका संस्थापक नेता हुन् । उनले लैङ्गिक र जातीय असमानताको विरोध गरेका थिए । उनको जन्म तामिलनाडुमा भएको थियो । उनको जन्म दिनलाई सन् २०२१ देखि सामाजिक न्याय दिवसको रूपमा मनाउन थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *