मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भारतको स्वाधीनताका लागि हजारौँ सहिदहरूले जीवन बलिदान गरेका थिए । तीमध्ये एक रामप्रसाद बिस्मिल पनि अविस्मरणीय मानिन्छन् । एक कवि, साहित्यकार र लेखकका रूपमा चर्चित बिस्मिल त्यसैमा सीमित भएर रहेनन् । उनले क्रान्तिको लागि आफ्नो किताबहरूको बिक्रीबाट आएको सबै रकम हतियार खरिद गर्नका लागि लगाएका थिए ।
कवि तथा सहिद रामप्रसाद बिस्मिललाई तत्कालीन अङ्ग्रेज उपनिवेशवादी शासकहरूले ऐतिहासिक काकोरी काण्डको मुद्दाको नाटकपछि १९ डिसेम्बर १९२७ का दिन गोरखपुर जेलमा फासीमा झुन्डयाएका थिए । त्यतिबेला बिस्मिल ३० वर्षका थिए । बिस्मिलको जन्म सन् १८९७ जून ११ को दिन भारतको उत्तर प्रदेशको शाहजहाँपुर जिल्लामा आमा मूलारानी र बाबु मुरलीधर पण्डितको छोराको रूपमा भएको थियो । यी बलिदानी भावनाका सहिद बिस्मिलको बहुआयामिक व्यक्तित्व थियो । उनी संवेदनशील कवि, शायर , साहित्यकार, इतिहासकार तथा बहुभाषाभाषी अनुवादक थिए । लेखन र कवि कार्यका लागि उनका बिस्मिलको अतिरिक्त दुई अरू उपनाम ‘राम’ र ‘अज्ञात’ पनि उपयोग गरेका थिए ।
तीस वर्षको उमेरमै सहिद बनेका बिस्मिलको जीवनकालमा ११ वटा पुस्तकहरू प्रकाशित भएका थिए । तर, कुनै पनि किताब अङ्ग्रेज सत्ताको कोपभाजनबाट सुरक्षित भएन र सबै पुस्तकहरू जफत गरेर जलाइएको थियो ।
जानकारहरूका अनुसार बाल्यकालदेखि न्यायप्रेमी स्वभाव रहेका बिस्मिलको क्रान्तिकारी जीवनको सुरुआत १९१३ मा उनका एक दाजु नाताका परमानन्दलाई प्रसिद्ध गदर षड्यन्त्र मुद्दामा फाँसीको सजाय सुनाइएपछि भएको थियो । परमानन्द सुरुमा आर्य समाज र वैदिक धर्मका एक प्रखर प्रचारक थिए । आर्य समाजको प्रचारककै लागि उनी अमेरिका पुगेका थिए । अमेरिकाको क्यालिफोर्नियामा परमानन्दको आफ्नो बाल्यकालका एक मित्र लाला हरदयालसित भेट भएको थियो । हरदयालले भारतलाई अङ्ग्रेजहरूको उपनिवेशबाट मुक्त गर्न ऐतिहासिक गदर पार्टी स्थापना गरेका थिए । परमानन्द हरदयालको विचारमा सहमत भएपछि पार्टीमा सक्रिय भएका थिए र क्रान्ति गर्ने उद्देश्यले स्वदेश फर्केका थिए ।
परमानन्दलाई सुनाइएको फाँसीको क्रूर सजाय सुनेर उद्वेलित भएका रामप्रसाद बिस्मिलले तत्कालै ‘मेरो जन्म’ शीर्षक प्रसिद्ध कविता लेखे । साथै ब्रिटिश साम्राज्यको समूल विनाशको प्रतिज्ञा गरी क्रान्तिकारी बन्ने विचार गरे । उनले क्रान्तिका लागि हतियार किन्नका लागि आफूसित भएका सबै सम्पत्तिमात्र नभई आफ्नो पुस्तकको बिक्रीबाट आएका सबै पैसा पनि लगाएका थिए ।
पछि परमानन्दको फाँसीको सजायलाई अङ्ग्रेज भायसरायले कालापानीको सजायमा बदलिदिए र त्यसको लागि उनलाई अन्डमान र निकोबार टापुमा पठाए । तर, पछि १९२० मा अङ्ग्रेज भएर पनि भारतीयहरूको बीचमा ‘दिनबन्धु’ नामले प्रसिद्ध सीएफ एन्डूजको दबाबले परमानन्दलाई जेलबाट रिहा गरियो र उनी त्यसपछि राजनीति त्यागेर पूरै आर्य समाजी बनेर जीवन बिताए । त्यसो भए तापनि बिस्मिलले सशस्त्र क्रान्तिको आफ्नो बाटो बदलेनन् र त्यसैको लागि लाग्दालाग्दै पक्राउ परी सहिद भए ।
१९२५ सम्ममा राम्रै विस्तार भइसकेको सशस्त्र क्रान्तिकारी आन्दोलनको लागि धन जुटाउने कोसिसअनुसार लखनउको काकोरी स्टेसन नजिक सरकारी खजाना लुट्ने घटनाको क्रममा बिस्मिल पक्राउ परेका थिए । उनीमाथि यसअघि नै मैनपुरी षड्यन्त्रमा भूमिका रहेको भन्दै रेड कर्नर वारेन्ट जारी भइसकेको थियो ।
बिस्मिलले आफ्नो समूह र औरैयाका प्रसिद्ध क्रान्तिकारी पण्डित गेंदालाल दीक्षितको समूहसित मिलेर पैदल सेनाको साथै घुडसवार सेनासमेत भएको ‘मातृदेवी सङ्गठन’ को नाममा अङ्ग्रेजहरूको विरुद्ध मैनपुरी क्षेत्रमा सशस्त्र सङ्घर्ष चलाएका थिए । त्यस क्रममा ५० जनाभन्दा बढी अङ्ग्रेज सेना मारिएका थिए । बिस्मिल र दीक्षितको नेतृत्वमा उत्तर प्रदेशको मैनपुरी, इटावा, आगरा, शाहजहाँपुर आदि जिल्लामा गुप्त अभियान चलाएर जनतालाई अझ विशेषगरी युवाहरूलाई देशको स्वाधीनताको लागि बलिदानी भावनाले सङ्घर्ष गर्नका लागि सङ्गठित गरिएको थियो ।
ती दिनहरूमै बिस्मिलले ‘देशवासीहरूको नाममा सन्देश’ नामको एक लामो पर्चा प्रकाशित गरेका थिए र त्यसलाई ‘मैनपुरीको प्रतिज्ञा’ शीर्षक कवितासँगै युवकहरूलाई गुप्तरूपमा वितरण गरिएको थियो । त्यसै क्रममा एक सदस्य देशघाती बनेर अङ्ग्रेजहरूको मुखबिर (सुराकी) भएर निस्के, त्यही सुराकीले दिएको गुप्त सूचनाका आधारमा अङ्ग्रेजहरूले ३५ जना क्रान्तिकारीहरूलाई समातेर ज्यान सजाय दिए र बिस्मिललगायत बाँकी क्रान्तिकारीहरू भूमिगत हुन बाध्य भए ।
भूमिगत जीवनकालमा बिस्मिलले कैयौँ पटक भेष बदलेर अङ्ग्रेज पुलिसबाट पक्राउ गरिने कोशिशलाई विफल पारिदएका थिए । त्यसै क्रममा १९१८ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको अधिवेशनस्थलमा क्रान्तिकारी साहित्य बेच्न पुगेका थिए । त्यहाँ अचानक पुलिसको छापा परेपछि उनले पहिले भाग्ने कोशिश गरे तर पुलिसले चारैतिरबाट घेरेपछि त्यहाँ मुठभेद अपरिहार्य भयो । चार–पाँचजना अङ्ग्रेज पुलिसलाई पछारेर उनी घेरा तोडी भागे र बचाउको अर्को उपाय नदेखेपछि यमुना नदीमा हाम फालेका थिए । नदीमा डुब्दै निस्कँदै पुलिसको आँखा छली घना जङ्गल र पहाड भएको ठाउँमा पुगे । जानकारहरूका अनुसार त्यस क्षेत्रमा अहिले ग्रेटर नोयडा सहर बसालिएको छ । त्यहाँ उनले रामपुर जागिर नामको एउटा स–सानो गाउँमा शरण लिए र केही समय लेखन कार्य गरेर बिताए ।
यसैबीच अङ्ग्रेज अदालतले बिस्मिल र दीक्षितलाई मैनपुरी षडयन्त्रको भगौडा घोषित गरिदियो र त्यस मुद्दामा पक्राउ गरिएका अन्य क्रान्तिकारीहरूलाई जेल सजाय सुनायो । पछि गएर उनीहरू सबैलाई फेब्रुअरी १९२० मा रिहा गरिदियो । बिस्मिल पनि शाहजहाँपुर फर्के र त्यसपछि भारतीय राष्ट्रिय काङ्ग्रेसको सदस्यता लिएर काङ्ग्रेसको १९२० को कलकता र १९२१ मा अहमदावादमा भएको अधिवेशनहरूमा भाग लिए ।
अहमदावाद अधिवेशनमा बिस्मिलले मौलाना हसरत मोहानीसित मिलेर काङ्ग्रेसको साधारणसभाबाट पूर्ण स्वराज माग गर्ने प्रस्ताव पारित गराउन महत्वपूर्ण भूमिका निभाए र उत्तर प्रदेशमा फर्केर शाहजहाँपुर र वरपरका सहरहरूमा ‘असहयोग आन्दोलन’ सफल बनाउनमा जुटे । तर, चौरीचौरा काण्डपछि काङ्ग्रेसले अभानक असहयोग आन्दोलन फिर्ता लिएपछि देशको स्वाधीनता आन्दोलनमा व्यापक निराशा फैलियो । काङ्ग्रेसका धेरै युवा सदस्यहरूको झैँ बिस्मिलको पनि काङ्ग्रेसको स्वतन्त्रताको अहिंसावादी प्रयत्नहरूदेखि मोहभङ्ग हुन गयो ।
चौरीचौरा नगर तत्कालीन ब्रिटिश इन्डियाको संयुक्त प्रदेशको गोरखपुर जिल्लामा रहेको एक नगर हो । असहयोग आन्दोलनको क्रममा ४ फेब्रुअरी १९२२ मा भएको स्वाधीनताप्रेमीहरूको जुलुसमाथि पुलिसले बिनाचेनावनी अचानक गोली चलाइएको थियो । त्यसमा दर्जनौँको ज्यान गयो र अरू दर्जनौँ घाइते भए । प्रतिकारमा युवाहरूले पुलिसलाई लखेटे र पुलिसहरू पुलिस स्टेसनभित्र लुकेर गोली चलाउन थाले । आक्रोशित युवाहरूले पुलिस स्टेसनलाई नै आगो लगाइदिए र त्यसमा परी २२ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । त्यसपछि महात्मा गान्धी र काङ्ग्रेस केन्द्रीय कार्यकारिणी समितिले असहयोग आन्दोलन फिर्ता लिएको थियो । गान्धीले आन्दोलन फिर्ताको निर्णय गरे पनि अङ्ग्रेज सरकारले त्यस क्रममा पक्राउ परेकामध्ये १९ जना प्रदर्शनकारीलाई ज्यान सजाय र १४ जनालाई आजीवन कारावासको सजाय गरेको थियो । त्यसले गदाए भारतीय युवाहरूमा शान्तिपूर्ण आन्दोलनप्रतिको विश्वास कमजोर हुन पुगेको थियो ।
त्यसपछि नवयुवकहरूको क्रान्तिकारी पार्टीको सपना साकार पार्ने क्रममा बिस्मिलले चन्द्रशेखर आजादको नेतृत्व रहेको हिन्दुस्तान रिपब्लिकन एसोसियसनमा सामेल भएर अङ्ग्रेज शासनको सशस्त्र प्रतिरोधको नयाँ अभियान सुरुआत गरे । त्यतिबेला तड्कारो प्रश्न थियो – त्यस प्रतिरोधका लागि हतियार किन्नका लागि धन कहाँबाट आउँछ ?
यही प्रश्नको जवाफ दिँदै उनले ९ अगस्त १९२५ मा आफ्ना साथीहरूका साथ अङ्ग्रेज सरकारले रेलमा राखी दिल्ली लैजान लागेको सरकारी खजाना काकोरीमा लुटे । त्यसको केही समयपछि २६ सेप्टेम्बर १९२५ का दिन भूमिगत बसेको घरलाई नै घेरेर बिस्मिल र उनका साथीहरूलाई पक्राउ गरियो । उनीहरूलाई लखनउको सेन्ट्रल जेलमा कडा सुरक्षा घेरामा कैद गरियो र राजद्रोहको मुद्दा चलाइयो । बिस्मिलले अदालतमा आफूहरूले ब्रिटिश शासनलाई आफ्नो राज्य नमानेको र ब्रिटिश सरकारको खजाना लुटनु आफूहरूको राजद्रोह नभएको जवाफ दिएका थिए । मुद्दाको नाटकपछि अरूफाक उल्लाह खान, राजेन्द्रनाथ लाहिडी र रौशन सिंहसँगै रामप्रसाद बिस्मिललाई पनि फाँसीको सजाय सुनाइयो ।
१९२७ डिसेम्बर १९ को दिन आफूहरूमाथिको सजाय कार्यान्वयन गरिने दिन जीवन बलिदानको उद्देश्य राखेका बिस्मिलले अजीमावाद (अहिलेको पटना) का प्रसिद्ध शायर (कवि) बिस्मिल अजीमावादीले लेखेको गजल ‘सरफरोशीका तमन्ना अब हमारे दिल मँे है, देखना है जोर कितना बाजु–ए– कातिलोमेँ है – एकदम राम्रोसँग र जोशजाँगरपूर्वक गाए । त्यसले फाँसी चढ्न गइरहेका सबै साथीहरू र अन्य कैदीहरूमा समेत देशभक्तिको लहर उठाइदिएको थियो । बिस्मिलले गाएर प्रसिद्ध भएको हुनाले त्यस गजललाई कतिपयले उनकै रचना मानेका थिए । वास्तवमा बिस्मिल अजीमावादीका शायरी (कविता) हरूबाट प्रभावित भएरै हिन्दू ब्राह्मण परिवारमा जन्मेका रामप्रसाद पण्डितले आफ्नो उपनाम बिस्मिल राखेका थिए ।
बिस्मिल आफैले ‘मनकी लहर’, ‘स्वदेशी रङ्ग’ कवितासङ्ग्रह, स्वाधीनताकी देवी महाकाव्य लेखन तथा बङ्गाली भाषाबाट हिन्दीमा ‘बोल्सेभिकहरूको कार्यक्रम’ र ‘यौगिक सन्धान’ आदि पुस्तक अनुवाद गरेका छन् । फाँसीको सजाय पर्खँदै गोरखपुरको जेलमा रहँदा बिस्मिलले ‘काकोरीको सहिद’ शीर्षकमा आफ्नो आत्मकथा पनि लेखेका थिए । बिस्मिलका रचना थोरै भए पनि तिनले भारतका युवाहरूमा क्रान्तिकारी ज्वारभाटा उठाइदिएका थिए र तत्कालीन ब्रिटिश भारत सरकारलाई हल्लाइदिएका थिए । त्यसैले, अङ्ग्रेजहरूले बिस्मिलका रचनाहरूको अस्तित्व नै मेटिदिने कोशिश गरेका थिए ।
रामप्रसाद बिस्मिलको बारेमा चर्चा गर्दा उनकी आमा मूलारानीको उल्लेख नगरी क्रान्तिकारी चरित्रचित्रण पूरा हुँदैन । बिस्मिलको शहादतभन्दा एक दिनअघि उनीसित अन्तिम भेट गर्न उनकी आमा गोरखपुर जेल पुगेकी थिइन् । आमालाई देखेर बिस्मिलको आँखा रसायो तर आमा मूलारानीले भने कति पनि धैर्य गुमाइनन्, न तिनको आँखा रसाएका थिए ।
तिनले आफ्नो कलेजोमा सायद ढुङ्गा राखेकी थिइन् र बिस्मिललाई हप्काउँदै भनिन्, “अरे, मैले त सोचेको थिएँ मेरो छोरा एकदम बहादुर छ र उसको नामदेखि अङ्ग्रेज सरकार पनि थरथर काँपेको छ । मलाई थाहा थिएन कि तिमी मृत्युदेखि यति डराएका छौ । तिमीलाई रोएर नै फाँसी चढ्नु छ भने क्रान्तिको बाटो किन रोज्यौ ? तिमी यति डरपोक छौ भने क्रान्तिको बाटोमा पाइलै नराख्नुपर्ने थियो ।”
बिस्मिलले आँखा पुछेर भन्नुपरेको थियो, “यो आँसु मृत्युदेखि डर लागेर निस्केको आँसु होइन, यो त तिमीजस्तै बहादुर आमासित विछोडिनुपर्नेे शोकमा त्यसै निस्केको हो ।”
त्यतिबेला बिस्मिलकी आमासँगै क्रान्तिकारी शिव वर्मा पनि थिए । उनलाई मूलारानीले आफ्नो भान्जा बताएर त्यहाँ लगेकी थिइन् ।
भेटको समय नसिधिँदै आमाले शिव वर्मालाई अगाडि सारेर भनिन्–यो तिम्रै पार्टीको मानिस हो । पार्टीको लागि केही सन्देश दिनु छ भने यसलाई भन्न सक्छौ ।
बिस्मिलको शहादतपछि त्यस्ती क्रान्तिकारी आमाको जीवन भने अत्यन्त कष्टप्रद रह्यो । छोरालाई फाँसी भएको केही महिनापछि नै पण्डित मुरलीधरको देहावसान भयो । बिस्मिलकी आमा र हजुरआमालाई कमाएर खुवाउने कोही भएनन् । त्यसबेलाको भारतमा ब्राह्मण परिवारका स्त्रीहरू भएकोले कसैले कुनै काम दिएर पाप गर्न पनि चाहँदैनथे । जीवनयापनकै लागि उनीहरूले शाहजहाँपुरस्थित आफ्नो घर र सबै मालवस्तु बेच्नुपरेको थियो । सहन गर्न कठिन निर्धनताको जीवनमा उनीहरू मठमा शरण लिएर धार्मिक आस्था भएकाहरूले एकादशी र सङ्क्रान्तिमा दिन ल्याइने दानमा निर्भर भएर गुजारा चलाउनु परेको थियो । सहिदको बलिदानको ठुलो कदर गरेको दाबी गर्ने भारतीय राष्ट्रिय काङ्ग्रेसलगायत स्वाधीनता सङ्ग्राममा लागेका राजनीतिक पार्टी र स्वतन्त्रतापछिको सरकारले सहिदका परिवारको हेरचाहमा भने ध्यान दिएको अनुभूति गरिँदैन ।
Leave a Reply