भर्खरै :

‘घर ठूलो र सम्पत्ति धेरै हुँदैमा सुसंस्कृत भइँदैन’

भक्तपुर, ६ साउन । पारागण सेकेन्डरी बोर्डिङ स्कूलले लेखक नारायणमान बिजुक्छें (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकबारे शुक्रबार विद्यालयका शिक्षक–शिक्षिकाहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
शिक्षक–शिक्षिकाहरुको जिज्ञासाको जवाफ दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुरमा विगतमा बनेका मापदण्डविपरीतका संरचनाहरुलाई आवश्यकताअनुसार संशोधन गर्न दिने र ऐन नियमअनुसार गरिने बताउनुभयो । उहाँले भक्तपुरमा अब ढल–निकास तथा उपचारपोखरीको कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जनतामा सांस्कृतिक समस्या भएको बताउँदै घर ठूलो हुँदैमा वा धन–सम्पत्ति र पैसाले व्यक्तिको सांस्कृतिक स्तर मापण नहुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भक्तपुरलाई सांस्कृतिक नगरको रुपमा स्थापना गर्ने परिकल्पना रहे पनि संसदका सबै माननीयहरुले सांस्कृतिक नगरको महत्वबारे प्रष्ट नहुँदा सांस्कृतिक नगरको विधेयक वर्षौंदेखि छलफल हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो ‘नेपालजस्तो सानो देशमा भुगोलअनुसार साना–साना सहरको बन्दोबस्त गर्नु उपयुक्त हुन्छ । भक्तपुरमा पुरानो सहरको मौलिकतालाई संरक्षण गर्ने हेतुले निर्माण कार्यहरु भइरहेको छ । यसमा जनसहभागिता महत्वपूर्ण विषय हो ।’
विद्यार्थीको भावनालाई व्यवस्थित रुपमा अगाडि लाने शिक्षाको विकासमा नगरपालिकाले भन्दा पनि विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने बताउनुहुँदै अब बन्ने नयाँ पाठ्यक्रममा पुरातात्विक वस्तु संरक्षण, स्वास्थ्य शिक्षा र ऐनकानुनको जानकारीयुक्त पाठ्यपुस्तक बनाउनुपर्ने विचार अध्यक्ष बिजुक्छेंले राख्नुभयो । अहिले विद्यार्थीहरुमा सामान्यज्ञान कमजोर देखिएको हुँदा विद्यार्थीले सामान्य ज्ञानमा बढी जोड दिनुपर्ने धारणा उहाँले राख्नुभयो ।
बेलायतको बाथ सिटी र चीनको लिच्याङ सहरजस्ता अरु देशमा पनि यस्ता मौलिक सहरको संरक्षण गरेको छ । काठमाडौं उपत्यकालाई पनि पुरानो सभ्यता कायम गर्ने किसिमले जगेर्ना गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । उहाँले देशको सन्तुलित विकास गर्न भूगोल र ठाउँअनुसारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
‘भक्तपुर नगरका हरेक ठाउँमा एम्बुलेन्स र दमकल पुग्न सक्ने किसिमले सडकहरु चौडा बनाउँदै छ । अहिले प्रविधिको विकाससँगै साना–साना दमकल र एम्बुलेन्स बनेका हुँदा टोल–टोलको बीचमा दमकलको निम्ति पाइप जडान गरिनु आवश्यक छ ।’– अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।
नयाँ पुस्ताहरुमा कम्तीमा ४ वटासम्मको भाषाबारे जानकारी भएको सुखद् कुरा भएको बताउँदै अरु विदेशी भाषाहरु सिकाउन सके पर्यटकहरुलाई सेवा गर्ने र स्थानीयलाई रोजगारीको राम्रो अवसर हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघका अध्यक्ष सुरेन्द्रराज गोसार्इंले विभिन्न पुस्तक अध्ययनले शिक्षक–शिक्षिकाहरुले समाजप्रतिको जिम्मेवारी कुशल रुपमा निर्वाह गर्न मद्दत पुग्ने बताउँदै आफ्नो पेशाको गरिमा बचाउन अन्तरक्रिया, छलफल कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सय वर्षपछिको भक्तपुरले समाजवादको अर्थ, आवश्यकता र अपरिहार्यताबार चर्चा गरेको बताउँदै उहाँले पुस्तकले समाजवादको परिकल्पना गरिएको बताउनुभयो ।
पारागण एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले पुस्तकको ‘नाचगानको राजधानी भक्तपुर’ बारे बोल्दै यस पुस्तकले पाठकको बौद्धिक क्षमता तिखार्न मद्दत पुग्ने र संस्कृतिकप्रेमीहरुको लागि पुस्तक मार्गनिर्देशक हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक राजेन्द्र फोंजू, सागर पराजुली, शिक्षिकाहरु विन्दु घिमिरे, सुजाता अवाल, ज्ञानुदेवी मानन्धर, शर्मिला अवाल आदिले पुस्तकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *