भर्खरै :

शनिबार साहित्य-किन हामीभित्र अरू देशको दास बन्न यतिबिघ्न रहर र छटपटी छ ?

रामप्रसाद ज्ञवालीको परिचयका धेरै आयाम छन् । उहाँ एक जना कवि, समालोचक, साहित्यअभियन्ता, गीतकार, बालसाहित्यकार, शिक्षक, प्राज्ञिक, प्रष्ट र धाराप्रवाह वक्ता, महाकाव्य विधाका विद्यावारिधि र अरु धेरै हुनुहन्छ । उहाँको लेखन र चिन्तन अतितीब्र गतिमा चल्ने गर्दछ । यति तीब्र कि धेरैलाई अचम्भित बनाइदिने गर्दछ । उहाँ आफू ‘थाङ्ने’ काममा अल्झिनु परेको र त्यसकारण आफूले सोचे जति साहित्य सृजनामा योगदान गर्न नसकेको आत्ममूल्याङ्कन गर्नुहुन्छ । तर पाठ्यपुस्तकलाई नगन्ने हो भने उहाँले झण्डै ४० वटा गुणवान साहित्यिक कृति प्रकाशित गरिसक्नुभएको छ । उहाँको सृजना गति अझै तीब्र र गुणवान बन्ने जाने पक्का छ ।
हालै डा.ज्ञवालीको दोस्रो महाकाव्य ‘स्वप्नदृष्टि’ सार्वजनिक भएको छ । प्रजग कोरिया र चीनको १४ दिनको भ्रमणमा आधारित यो महाकाव्यले पूँजीवादी सञ्चार जगतले अनेकन झुठ्ठा प्रचार गरिएको प्रजग कोरियाका विषयमा सत्यासत्य कुरा काव्यात्मक सुरुचिका साथ प्रस्तुत गरिएको छ ।
‘स्वप्नदृष्टि’ महाकाव्यको विषयमा उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।


नमस्कार, सबैभन्दा पहिले नेपाली साहित्यमा अर्को एउटा कृतिको योगदानका लागि तपाईंलाई बधाई छ ।
-धन्यवाद ।
‘स्वप्नदृष्टि’ महाकाव्यको जन्म कसरी भयो ?
-विदेशयात्रा र त्यसको प्रभावका कारण यसको जन्म भएको हो । गएको वर्ष (२०७३ साल भदौ महिनामा) म विश्वसाम्राज्यवाद र जुछे विचारधाराका सम्बन्धमा सम्पन्न भएकोे अन्तर्राष्ट्रिय समारोहमा भाग लिनका लागि चीनको बाटो हुँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को भ्रमणमा गएको थिएँ । त्यस भ्रमणमा मैले भूगोल, प्राकृतिक सौन्दर्य, विज्ञान, भौतिक विकास, साँस्कृतिक धरोहरको संरक्षण, शिक्षा, नयाँ प्रविधि, इतिहास, कला आदिका बारेमा नयाँ अनुभूति प्राप्त गरेँ । यस क्रममा केही रोचक, घोचक र द्वन्द्वमय अनुभूति पनि भए । मैले तिनै कुरालाई मेरो कल्पना र स्वप्नदृष्टिका साथ यस महाकाव्यमा प्रतिबिम्बन गरेको छु । यस महाकाव्यलाई मैले आफू विश्वको मानव र नेपालको सचेत नागरिक हुनुको दायित्वबोध गर्दै साम्राज्यवादका विरुद्ध र राष्ट्रिय स्वाधीनताका पक्षमा तयार पारेको हुँ ।

सामान्य पाठकमा लोकप्रिय हुनका लागि मात्र लेखिने वा प्रचारबाजीमा नै रमाउने साहित्यको आयु छोटो हुन्छ— परालको आगो जस्तो । म अग्राखको मुढाको आगो जस्तो दीर्घजीवी साहित्यको पक्षमा छु । 

 
‘मूलधार’ का सबैजसो मिडिया प्रजग कोरिया (उत्तर कोरिया) भने पछि नाक खुम्च्याउँछन् । धेरैले प्रायशः त्यस देशका बारेमा नकारात्मक टिप्पणी र विश्लेषण लेख्ने गरेका छन् । ‘मूलधार’ भन्दा पृथक् रूपमा तपाईले प्रजग कोरियाको प्रशंसामा महाकाव्य नै लेख्नुभयो । कथित मूलधारले मुख बङ्ग्याउला भनी सोच्नुभएन ?
-रमाइलो प्रश्न गर्नुभयो । नेपालमा उत्तर कोरियालाई लिएर हावादारी कुरा गर्ने व्यक्तिहरू र पुँजीवाद तथा साम्राज्यवादका हनुमान भएर समाचार प्रसारण गर्ने मिडियाहरू धेरै छन् । मूलधारका मिडिया भनेर तपाईंले सायद यस्तै व्यक्ति र यस्तै मिडियाका कुरा गर्नुभएको होला । हुन पनि यिनीहरू नेपाली समाजमा प्रभावशाली र अर्थसम्पन्न समेत भएकाले यिनीहरूको अनर्गल प्रचारलाई आम जनमानसले सही ठानेको पाइन्छ । तपाईंको यो प्रश्न पनि यसै भ्रमात्मकताबाट उत्पन्न भएको र वास्तविकताप्रतिको जिज्ञासाका कारण आएको ठान्छु म । जहाँसम्म मैले ‘स्वप्नदृष्टि’ महाकाव्य उत्तर कोरियाको प्रशंसामा लेखेको हुँ भन्ने तपाईंको बुझाइ छ, त्यसमा म के भन्न चाहन्छु भने म स्तुतिवादको विरोधी व्यक्ति हुँ । मैले यो महाकाव्य उत्तर कोरियाको स्तुति गर्ने उद्देश्यले र प्रशंसाका लागि लेखेको होइन, बरु नेपालको राष्ट्रिय स्वाधीनताका लागि उत्तर कोरिया एक प्रेरक राष्ट्र हुन सक्छ र नेपाली नेताहरूले त्यसबाट केही सिकेर नेपाललाई पनि आत्मनिर्भर र स्वाभिमानी बनाउन केही शिक्षा लिन सकून् भन्ने उद्देश्यका साथ विश्वमानवतावाद र श्रममूल्यको उदात्तीकरणका लागि लेखेको हुँ । नेपालले कठोर दुःख र सङ्घर्ष गरेरै भए पनि भारतीय विस्तारवाद (नेपालका सन्दर्भमा भारत विस्तारवादी मात्र नभएर साम्राज्यवादी पनि हो भन्ने मेरो बुझाइ छ) का विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा स्वाभिमानपूर्वक खडा हुनुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो महाकाव्य लेखेको हुँ । अब रह्यो तथाकथित ‘मूलधार’का मानिसले मुख बङ्ग्याउने कुरा । म ‘कसले मलाई धाप मार्छ, कसले मेरो आलोचना गर्छ, कसले मलाई पुरस्कार दिन्छ र कसले मुख बङ्ग्याउँछ वा मुख हँसिलो पार्छ’ जस्ता कुरा सोचेर साहित्य सिर्जना गर्ने मान्छे होइन । म सदैव नेपाली नागरिक हुनुुको जिम्मेवारीबोध गरेर नै सिर्जना गर्ने गर्छु । मुख बङ्ग्याउनेहरू भ्रममा परेका छन्; तिनीहरूको मुख बाङ्गिएको देख्दा मलाई मैले सही काम गरेछु भन्ने अनुभूति हुन्छ ।
‘स्वप्नदृष्टि’ महाकाव्य साहित्यिक अभिव्यक्ति मात्र हो कि राजनीतिक पक्षधरताको अभिव्यक्ति पनि हो ?
-यस प्रश्नका सन्दर्भमा तपाईंको प्रश्नमाथि नै मेरो प्रश्न छ । के तपाईंले साहित्यमा राजनीतिक चेतना वा वर्गीय पक्षधरता नै हुँदैन भन्न खोज्नुभएको हो ?निश्चय नै मेरो महाकाव्य ‘स्वप्नदृष्टि’ साहित्यको सर्वोच्च विधा मानिने कविताको पनि सर्वोच्च स्वरूप मानिने प्रबन्धकाव्य (महाकाव्य)भएकाले यसमा साहित्यिक अभिव्यक्ति नै मुख्य छ तर वर्गीय समाजमा बाँचिरहेको कुनै पनि साहित्यकार राजनीतिक चेतनाबाट मुक्त हुन्छ वा हुनुपर्छ भन्नु र उसको साहित्य पूर्णतः राजनीतिक चेतना र वर्गीय पक्षधरताबाट मुक्त हुन्छ वा हुनुपर्छ भन्नु आफैमा अवस्तुवादी सोच हुन जान्छ । यस महाकाव्यमा मात्र नभई मेरा सबै साहित्यिक रचनामा वर्गीय सचेतता र वर्गीय पक्षधरता हुन्छ । यस्तो हुनुलाई तपाईं राजनीतिक चेतना वा अरू के के भन्न रुचाउनुहुन्छ, भन्न सक्नुहुन्छ । तर म वर्गीय पक्षधरतालाई ठाडो राजनीति र कोरा नाराका रूपमा नभई कलाले ढाकेर प्रस्तुत गर्ने प्रयत्न गर्छु । यस महाकाव्यका सन्दर्भमा पनि यही गरेको छु ।
साहित्यको बजारमा उपन्यास र नियात्रा–साहित्यकै हाईहाई छ । कविता, अझ त्यसमा पनि महाकाव्य पढ्ने पाठकहरूको संख्या ओरालो लाग्दो छ । तर तपाईले भने यात्रा महाकाव्य पो लेख्नुभयो त ? नियात्रा लेख्ने सोच आएन कहिल्यै ? तपाईको कलम त कुनै पनि विधामा त्यत्तिकै सशक्त नै छ ।
-म कहिल्यै पनि बजारमा हाई हाई हुन पाए हुन्थ्यो भन्ने हल्लाबाजी र प्रचारबाजीका लागि साहित्यको सिर्जना गर्दिनँ । म के कुरामा विश्वास गर्छु भने सामान्य पाठकमा लोकप्रिय हुनका लागि मात्र लेखिने वा प्रचारबाजीमा नै रमाउने साहित्यको आयु छोटो हुन्छ— परालको आगो जस्तो । म अग्राखको मुढाको आगो जस्तो दीर्घजीवी साहित्यको पक्षमा छु । मलाई के कुरा थाहा छ भने पैसा र मिडियाका बलमा प्रचारित र प्रसारित त हुन सकिन्छ तर स्थापित हुन सकिन्न । स्थापित हुनका लागि गम्भीर, मूल्यबोधयुक्त, जीवनदायक, उच्च वैचारिक र कलात्मक साहित्यको सिर्जना गर्नुपर्छ । दोस्रो कुरा, महाकाव्य साहित्यकै सर्वोच्च अभिव्यक्ति हो । महाकाव्यका नाममा कामै नलाग्ने नामधारी किताब भएमा मात्र पाठकले त्यसलाई पढ्दैनन् । नामको मात्र नभएर कामको र उत्कृष्ट महाकाव्य लेखिएको छ भने साहित्यका गम्भीर, बौद्धिक, प्राज्ञिक र प्रौढ पाठकले अवश्य पढ्छन् । मेरो विश्वास के कुरामा पनि छ भने आफूलाई साहित्यका गम्भीर पाठक ठान्ने–मान्ने सच्चा नेपाली पाठकहरूले मेरो यो महाकाव्य अवश्य पढ्ने छन् । तपाईंले ‘नियात्रा लेख्ने सोच कहिल्यै आएन ?’ भन्ने प्रश्न गर्नुभयो तर यो महाकाव्य पनि नियात्रा–महाकाव्य नै हो नि !
नाम कहलिएका समालोचकहरूले तपाईंको ‘स्वप्नदृष्टि’ महाकाव्य उत्तम दर्जाको छ भनी मूल्याङ्कन गरेको पाइयो । तपाई स्वंयलाई कस्तो महाकाव्य बनेको अनुभव भएको छ ?
-संस्कृतमा एक भनाइ छ — कवि करोति काव्यानि रसं जानन्ति पण्डिताः । (अर्थात् कविको काम कविताकाव्य लेख्ने हो, लेख्छ । त्यसको उच्चता वा मूल्य पहिल्याउने काम कविताकाव्यका मर्मज्ञ ज्ञाताहरूको हो ।) मैले पनि महाकाव्य लेख्ने काम गरेको छु, यो कस्तो भयो ? कुन स्तरको भयो भनी मूल्य निर्धारण गर्ने काम पाठक र समालोचकहरूको नै हो । जहाँसम्म मलाई कस्तो लाग्यो भन्ने प्रश्न छ— स्वाभाविक रूपमा मलाई आनन्द लागेको छ । करिब ३०÷३२ वर्षको मेरो काव्ययात्रामा यो महाकाव्य विचार र कलाको सबैभन्दा बढी सन्तुलित र संश्लेषित पछिल्लो कृति हो । यसले पूर्वाग्रह र अत्याग्रहबाट मुक्त प्रत्येक गम्भीर पाठकलाई प्रभावित पार्नेछ भन्ने कुरामा म ढुक्क छु ।

 झन्डै १०० वटा राष्ट्रहरूले करिब ४० वर्षदेखि उत्तर कोरियामाथि नाकाबन्दी गरेका ग¥यै छन् र पनि त्यो देश स्वाभिमान गुमाउन र शिर झुकाउन तयार छैन, बरु आफ्नै बाहुबल, आफ्नै बुद्धिबल र आफ्नै कर्मबलले स्वतन्त्रतापूर्वक बाँच्न सकेको छ । जनताहरू त्यसमा गर्व गरिरहेका छन् । नेपालका हुतिहाराहरू झैँ अमेरिकी वा अन्य देशका दास बन्नका लागि डिभी भर्दै राष्ट्रिय सम्पत्ति ध्वस्त पार्नेतिर उनीहरूको कुनै रुचि छैन । 

 
प्रजग कोरियाको सबभन्दा ताज्जुब पार्ने कुरा के रह्यो ?
-अनुशासन, राष्ट्रिय स्वाभिमान, आत्मनिर्भरताका लागि त्याग, देशभक्ति, समर्पण, आत्मविश्वास, सामूहिक भावना, सिर्जनशीलता आदि नै मलाई ताज्जुब पार्ने कुरा रहे । उत्तर कोरियामा तपाईंलाई ताज्जुब पार्न सक्ने कुरा अनेक छन् जसमा त्यहाँको कला पनि हो । त्यस्तै गरिएका योजना र तोकिएका काम योजनाअनुरूप र तोकिएकै समयमा सम्पन्न गर्ने पद्धतिले पनि मलाई प्रभावित पारे । सबैभन्दा बढी ताज्जुब त के कुराले भएँ भने आफूलाई नेपालको असल छिमेकी भन्ने तर व्यवहारमा नेपाल र नेपालीलाई सदैव हेप्ने र दुःख दिने विस्तारवादी भारतले केवल ५–६ महिना मात्र इन्धन नदिएर नाकाबन्दी गर्दा त हामी नेपालीको के हालत भयो, तर झन्डै १०० वटा राष्ट्रहरूले करिब ४० वर्षदेखि उत्तर कोरियामाथि नाकाबन्दी गरेका ग¥यै छन् र पनि त्यो देश स्वाभिमान गुमाउन र शिर झुकाउन तयार छैन, बरु आफ्नै बाहुबल, आफ्नै बुद्धिबल र आफ्नै कर्मबलले स्वतन्त्रतापूर्वक बाँच्न सकेको छ । जनताहरू त्यसमा गर्व गरिरहेका छन् । नेपालका हुतिहाराहरू झैँ अमेरिकी वा अन्य देशका दास बन्नका लागि डिभी भर्दै राष्ट्रिय सम्पत्ति ध्वस्त पार्नेतिर उनीहरूको कुनै रुचि छैन । यो हामी नेपालीले सिक्नुपर्ने कुरा हो ।
 महाकाव्यमा तपाईंले प्रजग कोरियाजस्तो अनुशासित समाज र कर्मठ नागरिक भए ५–६ वर्षभित्र नेपालको चमत्कारपूर्ण विकास हुने कुरा उल्लेख गर्नुभएको रहेछ । के तपाई प्रजग कोरियाजस्तो ‘बन्द समाज’को पक्षमा उभिनुभएको हो ?
-होइन, बिल्कुलै होइन । म स्वतन्त्रता र सभ्य–खुला समाजका पक्षमा क्रान्ति गर्दै र पुलिसका डन्ठाहरू खाँदै खुला सडक र साँगुरा गल्लीहरूमा लड्दै आएको नागरिक हुँ । त्यसैले म बन्द समाजको पक्षमा हुने कुरै हुन्न । तर म खुल्ला समाजको नाममा भाँडतन्त्रको पक्षमा पनि छैनँ । म सदैव आत्मनिर्भरता र स्वाभिमानको पक्षमा छु; राष्ट्रिय स्वाधीनताका पक्षमा छु, न्यायपूर्ण कानुनको पक्षमा छु, समावेशी लोकतन्त्रको पक्षमा छु । म भुस्याहा कुकुरले झैँ भुक्न र त्रिशूल डामेर छाडेको साँढेले झैँ जथाभावी हिँड्न पाउने तथाकथित लोकतन्त्रका विरुद्धमा छु भने अनुशासित लोकतन्त्र, भेदभावरहित समाजतन्त्र र समावेशी गणतन्त्रको पक्षमा छु । त्यसैले मैले यस महाकाव्यमा ठाउँ–ठाउँमा तानाशाही, बन्धन र बन्द समाजको विरोध पनि गरेको छु । महाकाव्यको अन्तिम सर्ग यससम्बन्धमा मेरो आधिकारिक धारणा व्यक्त गर्ने सर्ग हो जसमा मैले स्वाभिमानी उत्तर कोरियाको प्रशंसा गर्नुका साथै त्यस देशको बन्द समाजप्रति गम्भीर प्रश्नहरू पनि उठाएको छु । सोह्रौँ सर्ग ‘चिडियाघर’मा चरा र जनावरलाई माध्यम बनाएर मैले जे विचार प्रस्तुत गरेको छु त्यसबाट पनि तपाईंले मेरो धारणा थाहा पाउनुपर्ने हो ।
‘स्वप्नदृष्टि’ महाकाव्यको पहिलो खण्डमा तपाईंले आफूले उत्तम काव्य लेख्न नसकेको आत्मगुनासो पोख्नुभएको छ । यो महाकाव्य प्रकाशन भएपछि त्यस्तो गुनासो केही मत्थर भएको छ कि छैन ?
-तपाईंले भन्नुभएको ‘आत्मगुनासो’ मैले गरेको आत्मगुनासो मात्र होइन,पहिलो सर्गमा प्रस्तुत उक्त किसिमको अभिव्यक्ति मैले आफैमाथि गरेको आत्ममूल्याङ्कन र आत्मालोचना पनि हो । मेरो मनमा सदैव एउटा जटिल प्रश्न उठिरहन्छ र त्यसले मलाई घोचिरहन्छ । त्यो के हो भने मोतीराम भट्टले जम्मा ३० वर्षकै उमेरमा त्यस्तो पछौटे, स्रोत–सामग्री र वातावरणको अभाव तथा सामन्ती तानाशाही भएको बेलामा पनि कति धेरै काम गरे । महाकवि देवकोटाले राणाशासनको समयमा पनि र जम्मा ५० वर्षको उमेरमै नेपाली साहित्यको श्रीवृद्धि गर्न त्यति धेरै गुणात्मक तथा मात्रात्मक योगदान दिनुभयो तर यो रामप्रसाद ज्ञवाली, जसले ५० वर्षको उमेर बिताइसकेको छ— ले खै कुन उल्लेखनीय योगदान दिन सक्यो ? आज स्वतन्त्रता छ, स्रोत–साधनको अभाव पनि छैन, सिक्नका लागि चाहिने साहित्यिक सामग्रीको कमी पनि छैन, विज्ञान–प्रविधिको कमी छैन तर पनि खै त मैले उहाँहरूको जस्तो काम गर्न सकेको ? खै त मैले उहाँहरूले जस्तै नयाँ मोड ल्याउने र ऐतिहासिक मूल्य स्थापना गर्ने किसिमको योगदान दिन सकेको ? मेरा अधिकांश दिनहरू त काम न काजका थाङ्ने कुराहरूमा नै बितिरहेका छन्— जागिर खाऊ, पैसा कमाऊ, श्रीमती र छोरा–छोरीको पालनपोषण गर, अर्काका कृतिमाथि सामान्य टीका–टिप्पणी गर, आफन्तका बिहेभोज र संस्कारगत कार्यक्रमहरूमा पुग, आदि आदि आदि !! मेरो असन्तुष्टि यहाँनिर हो । जिन्दगीको के पो भर छ र ?कुन दिन म पनि पुक्लुक्क मर्छु र ऐतिहासिक योगदान दिने किसिमका साहित्यिक सिर्जना गर्नुपर्छ भन्ने मेरो कल्पना पनि मैसँगै पुक्लुक्कै हुन्छ । त्यसैले पनि म तृप्त हुन सकेको छैनँ । पक्कै हो, यस महाकाव्यका सन्दर्भमा म सन्तुष्ट नै छु तर कुनै पनि असन्तुष्टि नराखी आनन्दको लामो सास फेर्न सकेको अवस्था भने होइन नै ।

यस्ता धेरै काम बाँकी नै छन् तर के गर्ने, म भने दैनन्दिनीका थाङ्ने कामहरूमा नै अल्झिरहेको छु । 

 
अर्को नयाँ कुन वा कस्तो कृतिको तयारीमा हुनुहुन्छ ?
-तयारी त धेरै कुराको छ । जस्तो मेरा राष्ट्रिय गीतहरू अनेक छन् । तीमध्ये केही गीतलाई सङ्गीतकार तथा गायक दामोदर अधिकारीले सङ्गीत तथा स्वरबद्ध गरी एल्बम तयार पार्दै हुनुहुन्छ । आउँदो दसैँभित्रै त्यसको सार्वजनीकरण गर्ने तयारी हुँदै छ । मैले बालकविता, बालगीत, बालनाटकहरू पनि लेखेको छु । तिनको सङ्कलन, सम्पादन र प्रकाशन गर्ने काम बाँकी नै छ । विद्यावारिधि गर्ने क्रममा मैले वर्गीय साहित्यको नेपाली साहित्य सिद्धान्त बनाउने परिकल्पना गरी केही थप काम पनि गरेको थिएँ । त्यसलाई पुनः सुरु गरी नेपाली साहित्यका क्षेत्रमा मात्रै नभई विश्व साहित्यका लागि पनि कामलाग्दो र विदेशी साहित्यकारले पनि स्रोतका रूपमा प्रयोग गर्न सक्ने किसिमको सैद्धान्तिक ग्रन्थ निर्माण गर्ने योजना त्यसै थाती राखेको अवस्थामा छ । मैले १६० वटा नेपाली महाकाव्यको अध्ययन गरेर ‘नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा पीएच.डी.गरेको हुँ । त्यस समय मेरो मनमा नेपाली महाकाव्यको आधिकारिक इतिहास लेख्ने रहर पलाएको थियो; त्यो अझै मरेको छैन । म त्यो काम पनि सम्पन्न गर्न चाहन्छु । केही वर्ष पहिले मैले ‘बीसौँ शताब्दीको नेपाली कविता ः विषयक्षेत्र र मुख्य प्रवृत्ति’ शीर्षकमा १०० वर्षका नेपाली कविताका आधारभूत प्राप्ति र प्रवृत्तिको परिचय दिने ग्रन्थ तयार पार्ने अठोट गरी काम पनि सुरु गरेको थिएँ । करिब ७५ पृष्ठजति सकेपछि अन्य काममा अल्मलिएँ र त्यो काम पनि थाती नै छ । २०७० सालमा नेपाली समालोचनामा मैले एकैपटक कविता, कथा, उपन्यास, निबन्ध, भूमिकालगायत विभिन्न विधाका १० वटा समालोचनात्मक पुस्तकहरू प्रकाशित गरेको त तपाईंलाई थाहै छ । त्यसपछि पनि मैले फुटकर समालोचना र भूमिका तथा कार्यपत्रमूलक लेखरचनाहरू प्रशस्त लेखेको छु र करिब ४ वटा पुस्तकबराबरका रचनाहरू साहित्यिक पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । तिनलाई पुस्तकका रूपमा प्रकाशन गर्न बाँकी छ । पारिजातको समग्र कवित्वलाई लिएर पनि मैले ७५ पृष्ठजतिका लेख्य सामग्री तयार पारिसकेको छु जसलाई पूरा गर्न बाँकी छ । मैले २०४९ सालदेखि शास्त्रीय छन्दको पुनर्जागरणका लागि काम सुरु गरेँ । अहिले त्यस अभियानले विकास प्राप्त गरेको अवस्था छ । शास्त्रीय छन्दका कवितालखनको अभियानले विकास त प्राप्त ग¥यो तर यस अभियानलाई निरन्तरता दिन र स्थायित्व दिनका लागि थप कामहरू गर्नुपर्ने छ । मेरो जीवन अत्यन्त जटिल र आरोह–अवरोहको यात्रा पार गरेर यहाँसम्म आएको छ । त्यसलाई लिएर आत्मसंस्मरणको पुस्तक लेख्ने योजना पनि गरेको छु । यस्ता धेरै काम बाँकी नै छन् तर के गर्ने, म भने दैनन्दिनीका थाङ्ने कामहरूमा नै अल्झिरहेको छु ।
अन्त्यमा केही थप भन्नुपर्ने कुरा छन् कि ?
-अवश्य छन् । खास गरी नयाँ पुस्तालाई भन्न मन लागेका कुरा छन् । नयाँ पुस्ताका हामी नेपालीहरू अमेरिका, बेलायत, अस्टे«लिया र जापान जस्ता विदेशी भूमिमा जाने र त्यहीँ बस्ने सपना बुनेको बुन्यै छौँ । यो देखेर मलाई धेरै दुःख लाग्छ । सपनामा अमेरिका सजाउनुको सट्टा हामीले नेपाललाई नै अमेरिका, जापान जस्तो सम्पन्न बनाउने र समाजवादी न्यायव्यवस्थाले सभ्य बनाउने सपना सजाउन किन सक्दैनौँ ? किन हामीभित्र अरू देशको दास बन्नका लागि यतिबिघ्न रहर र छटपटी छ ? किन हामीलाई देशप्रतिको प्रेमले जागृत पार्दैन ?किन हामी आफ्नो गौरव र स्वाभिमानका लागि बलिदान हुन तयार छैनौँ ? गरिब नेपाली आमाबा र गरिब नेपालले हामीलाई सबै दिए । यस देशले हामीलाई सास फेर्न हावा दियो, तिर्खा मेट्न पानी दियो, यात्रा गर्न बाटो दियो, पाइला टेक्न माटो दियो, मान्छे बन्न शिक्षा दियो, पहिचानका लागि नागरिकता दियो तर यस देशको सेवा गर्न छाडेर, यस देशको विकासका लागि निर्माण गर्न छाडेर हामी हाम्रा लागि एक पैसा खर्च नगर्ने र हाम्रो अस्तित्वलाई खुट्टामा कुल्चेर रमाउन चाहने विदेशीको दास बन्दा गर्व गरिरहेछौँ । उफ् ! यस वीभत्स, निरीह, हुतिहारा, लोतिखोरे, स्वाभिमानहीन वर्तमानको अन्त्य कहिले होला ? कसले गर्ला ? यी प्रश्नले म रातोदिन आहत छु । नयाँ पुस्तासँग मेरो विनम्र अनुरोध छ— अमेरिका संसारका लागि सपना आफै बनेको होइन, त्यहाँका जनताले बनाएका हुन् । अस्टे«लिया र जापानहरू पनि अरूले बनाइदिएर बनेका होइनन्, त्यहीँका जनताले बनाएका हुन् । नेपाल पनि बन्न सक्छ हामीले बनाएमा । नेपाल पनि विकसित हुन सक्छ हामीले सङ्कल्प लिएमा । नेपाल पनि अरू देशको सपनाको देश बन्न सक्छ, हामीले कर्म गरेमा । नेपाल पनि आर्थिक तथा अन्य कुरामा पूर्ण आत्मनिर्भर बन्न सक्छ, हामीले बलिदान गरेमा । के तपाईंहरू यसका लागि तयार हुनुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *