भर्खरै :

“सामाजिक–राजनीतिक परिवर्तन फेसन बदले जस्तो सजिलै परिवर्तन हुँदैन”

काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिक–सामाजिक परिवर्तन व्यक्तिले चाहँदैमा छिटोछिटो नआउने, त्यसको लागि ऐतिहासिक अवधि लाग्ने र वैचारिक सङ्घर्ष जरुरी हुने औँल्याउनुभएको छ ।
नेमकिपाको ४८ औंँ स्थापना दिवसको अवसरमा जुम मिटिङमार्फत सम्पन्न अनलाइन प्रवचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “सामाजिक–राजनीतिक परिवर्तन मानिसले फेर्ने फेसनजस्तो छिटोछिटो परिवर्तन हुँदैन, समाज विकासको नियमअनुसार र विश्वको राजनीतिक परिस्थितिअनुसार समाजमा परिवर्तन आउँछ ।
पद र पैसाको लागि राजनीति गर्न नहुने कुरा उल्लेख गर्दै उहाँले योग्यले ढिलोचाँडो पद पाउने र योग्य तथा असल नियतका मानिसहरू राजनीतिमा आए मात्र राजनीतिले देश र जनताको सेवा हुने प्रस्ट पार्नुभयो ।
आफूलाई कम्युनिस्ट र समाजवादी दाबी गर्नेहरू सरकारमा गएर पनि जनताको हितमा कुनै काम गर्न नगरेको उल्लेख गर्दै उहाँले तिनीहरूकै व्यवहारले तिनीहरूको नाम ‘ट्रेडमार्क’मात्र साबित भएको बताउनुभयो ।
अध्यक्ष रोहितले अगाडि भन्नुभयो, “केही हप्ताअगाडि शासक दलहरूको महाधिवेशन भयो । तर, ती महाधिवेशनहरूमा देश र जनताको हितमा कुनै नीति तथा कार्यक्रमबारे छलफल भएको समाचार सुन्न पाएनौँ । को कुन पदमा पुग्ने भन्नेमै लज्जास्पद झैझगडा र खेल भएको मात्र देख्यौँ । नयाँ पुस्तामा त्यस्तो प्रवृत्ति नहोस् भनी विभिन्न देशका राजनीतिक तथा कम्युनिस्ट आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिएर सचेत पार्न जरुरी छ । असल नयाँ पुस्ता तयार गर्न सकेमा हाम्रो मेहनतको फल हामीले भोग्न र देख्न नपाए पनि देश र जनताले प्राप्त गर्नेछन् ।”
नयाँ पुस्तालाई प्रेरणा दिन विभिन्न देशका दार्शनिक, राजनीतिक सिद्धान्तकार, राजनीतिशास्त्री र नेताहरूको जीवनीबारे अध्ययन र छलफल अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसले मात्र देशको राजनीतिमा सकारात्मक परिवर्तन आउने औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभा सदस्य प्रेम सुवालले माक्र्सवाद–लेनिनवादको अध्ययन नगर्ने र त्यसलाई देशको परिवेशअनुसार लागु नगर्ने पार्टी सच्चा कम्युनिस्ट पार्टी नहुने औँल्याउँदै कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट घोषणा पत्रलगायत आफ्ना रचनाहरूमार्फत संसारका मजदुर वर्गलाई बाँधिराखेको शोषणको सिक्री चुँडाल्न र नयाँ संसारको लागि लड्न शिक्षा दिनुभएको बताउनुभयो ।
नेपाली जनताको बीचमा माक्र्सवाद–लेनिनवादबारे छलफल अगाडि बढाउनुपर्नेमा जोड दिँदै सचिव सुवालले अगाडि भन्नुभयो, “माक्र्सको जीवनी अध्ययन गर्दा उहाँमा विधिशास्त्र, इतिहास, दर्शनशास्त्र, राजनीतिशास्त्रमा गहिरो अध्ययन भएको पाउँछौँ । नेमकिपाका हामी सबै कार्यकर्ताहरूले इतिहास, दर्शनशास्त्र, राजनीतिशास्त्र, भूगोलसहित जानकारी राखेर देश र जनताको सेवामा प्रेरणा प्राप्त गर्न सकिन्छ । हाम्रो पार्टी प्रकाशन ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुुर’ मा प्रकाशित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखरचना अध्ययन गर्दा हामीले पनि ती समाचार र लेखसँग सम्बन्धित भूगोल, इतिहाससमेत अध्ययन गर्नुपर्ने हुन्छ । माक्र्स आफ्नो समयमा जर्मन दार्शनिक हेगेलको दर्शनबारे छलफल हुने ‘स्नातक क्लव’ मा सहभागी हुनुभएको थियो । हामीले यहाँ पनि स्नातक अध्ययनरत विद्यार्थीको क्लव गठन गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल चलाउन सकिन्छ ।”
पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रा अग्रजहरूले भूमिगत जीवन, निर्वासन र जेल जीवन बिताएर पनि पार्टीलाई आजको अवस्थामा ल्याइपु¥याएको हुनाले अग्रजहरू आदर र सम्मानका हकदार भएको बताउनुभयो ।
उहाँले नेमकिपाले कामदार जनताको सेवा गर्ने आफ्नो आदर्श र सिद्धान्तलाई व्यवहारमा उतार्न कानुनी र गैरकानुनी सङ्घर्ष निरन्तर गर्दै आएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपालका पढेलेखेका केही बुद्धिजीवीहरू अवसरवादको भासमा फस्दा सिङ्गो कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको विचार राख्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पुँजीवादी सत्तामा गएर दलाल पुँजीपति वर्गको सेवा गर्ने तथाकथित कम्युनिस्ट पार्टीहरू नक्कली र नाममात्रका कम्युनिस्ट भएको समयले पुष्टि गरेको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य जग्यबहादुर शाहीले चीनको समाजवादी व्यवस्था विघटन गर्न पश्चिमा साम्राज्यवादी शक्तिहरू लागिरहेको चर्चा गर्दै कोभिड–१९ को महामारीले पनि पुँजीवादभन्दा समाजवाद सही भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले भारतमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले फासीवादी शासन अगाडि बढाइरहेको चर्चा गर्दै त्यसले नेपाल र नेपाली जनतामाथि नकारात्मक असर पु¥याउनेमा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू नारायण महर्जन, कृष्णकुमार वैद्य, रवीन्द्र ज्याख्व, हरिसुन्दर वासी, सृजना सैजू, सरोजकुमार साह तथा वैकल्पिक केन्द्रीय सदस्यहरू कृष्णबहादुर तामाङ र राजेन्द्र चवालले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीको स्थापना २०३१ साल माघ १० गते भएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा आइतबार चन्द्रागिरीमा भएको अनलाइन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापना दिवसको अवसरमा कार्यकर्ताहरूमा समाजवादी क्रान्तिको नयाँ ऊर्जा थप्ने बताउनुभयो ।
नेमकिपाले नेपालको राजनीतिलाई प्रकाशस्तम्भको रूपमा दिशानिर्देश गरिरहेको धारणा राख्दै उहाँले भन्नुभयो, “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्न र गरिब जनताको मुक्तिमा हुने लडाइँमा नेमकिपा सधैँ अग्रमोर्चामा रहनेछ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टीको ३२ औँ केन्द्रीय परिषद्बाट पारित अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे जानकारी दिनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पार्टी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै राजनीतिक कार्यकर्ताहरू इस्पातसरह सङ्गठनमा दृढ भएर लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा हरिशरण श्रेष्ठ, जितबहादुर महर्जन, बन्दना महर्जन, रवीन्द्र महर्जनलगायतले पार्टीको योगदानबारे बोल्नुभएको थियो ।
त्यसैगरी शनिबार तारकेश्वर नगर समितिको आयोजनामा अनलाइनमार्फत पार्टी स्थापना दिवस मनाइयो । कार्यक्रममा केन्द्रीय सदस्यहरू सनकमान महर्जनले पार्टी स्थापनाको इतिहास, नारायण महर्जनले पार्टीको ३२ औँ परिषद्को प्रतिवेदन, नारायणबहादुर दुवालले राष्ट्रिय प्रस्ताववारे स्पष्ट पार्नुभयो ।
नगर समितिका अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सविन महर्जनलगायतले बोल्नुभएको थियो ।
ललितपुर
पार्टी स्थापना दिवसकै अवसरमा नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले समाजमा आमूल परिवर्तनका लागि बहुसङ्ख्यक कामदार जनता राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले स्थापनाकालदेखि माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराबारे जनतालाई प्रशिक्षित गर्दै साम्राज्यवाद र भारतीय विस्तारविरूद्ध सङ्घर्ष गर्दै आएको छ ।”
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपा देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने पार्टीको रूपमा परिचित हुँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतीय विस्तारवादी शक्तिले नेपाली भूमिमाथि गरेको अतिक्रमण, सार्वभौमिकतामाथिको हस्तक्षेप, नेपालमाथिको नाकाबन्दीविरूद्ध सडक र सदनमा नेमकिपाको सङ्घर्ष उदाहरणीय छ ।”
आयोजक समितिका अध्यक्ष राजवीर डंगोलले सभापतिको सभापतित्वमा भएको कार्यक्रममा प्रज्वल महर्जन, नमन महर्जन, सुवर्ण शाक्य, इन्द्र डंगोल, तुयुकाजी महर्जनलगायतले बोल्नुभएको थियो ।
अछाम
अछाम । पार्टी स्थापना दिवसकै अवसरमा नेमकिपा अछामको आयोजनामा सोमबार कमलबजारमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
सभामा पार्टी जिल्ला अध्यक्ष झङ्करबहादुर शाहीले नेमकिपा स्थापनाको आधारहरुबारे स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ ।”
रामबहादुर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा हस्तना शाही, जनक विष्ट, जानकी शाही, खम्मबहादुर विष्टलगायतले बोल्नुभएको थियो ।

                  (नेमकिपा ४८ औँ स्थापना दिवस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *