भर्खरै :

प्रजातन्त्र अहिले अधिकांश त कर्मकाण्ड सरह हो– ४

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले सुरुदेखि नै अन्तर्राष्ट्रिय आर्थिक मामिलामा महत्वपूर्ण भूमिका खेलेका छन् । तपाईँ यी दुवै संस्थानका आलोचक हुनुहुन्छ । तिनका क्रियाकलापलाई कसरी हेर्नुहुन्छ ?
यी दुवै संस्था पश्चिमा शक्तिहरूले बाँकी विश्वमा थोपरेको पुँजीवादी अर्थ व्यवस्थाको निम्ति महत्वपूर्ण छन् । यी दुवैको आलोचना गर्नुको एउटा गतिलो कारण यही हो । तिनीहरूका सबै प्रचारबाजी र वक्तव्यहरूलाई एकातिर राखेर हेर्दा यी संस्थाहरू विश्वका धनाढ्य र तिनका आसेपासेहरूलाई सघाउन क्रियाशील छन् । कहिलेकाहीँ विश्व बैङ्कले गरिबहरूलाई सघाउने परियोजनाहरूमा पैसा हाल्छ । तर, यो अक्सफामको जस्तो सहयोग हो । अलिकति यता, अलिकति उता । यी सङ्गठनहरूले अन्य देशहरूलाई अगाडि बढाउन कुनै संस्थागत वा संरचनागत काम गरेका छैनन् । वास्तवमा यिनीहरू गरिबलाई सजाय दिएर पुँजीवादको स्थिरता कायम गर्ने औजार हुन् । तिनीहरू आपसमा लड्दा मलाई खुब रमाइलो लाग्छ । कोभिड–१९ र लकडाउनहरूले गर्दा अहिले व्यवस्था अस्तव्यस्त छ, त्यसैले यतिखेर तिनीहरू तर्कवितर्क गर्दै छन्, लड्दै छन् । यिनीहरू तटस्थ संस्था होइनन् । तिनले पश्चिमा विश्व र खासगरी संरा अमेरिकाको सेवा गर्छन् । संरा अमेरिकाले विश्व बैङ्क चलाउँछ र आइएमएफलाई उसले युरोपेलीहरूसँग मिलेर चलाउँछ । हामीलाई गरिबहरूको हित गर्ने उपयुक्त र साँच्चैको विश्वव्यापी संस्था चाहिन्छ भने त्यसलाई न्युयोर्कमा राख्नुहुँदैन । त्यसलाई एसिया वा अफ्रिकामा राख्नुपर्छ ।
आप्रवासनको समस्या युरोपमा तातो विषय बनेको छ । ब्रेक्जिटको चुनावमा कसरी प्रवासीहरूविरोधी कडा भावनाले काम गरेको थियो भनी धेरैले व्याख्या गरेका छन् । यसलाई तपाईँ कसरी हेर्नुहुन्छ ? पत्रकार प्याट्रिक ककबर्नले युरोपेलीहरू आफ्नो विदेश नीतिले ल्याएका परिणामहरूलाई अस्वीकार गर्ने स्थितिमा छन् भने ।
कुरा सही हो, बेलायत ईयूमा छँदा उसको भागको सस्तो श्रमले त्यहाँ विदेशीहरूप्रति कडा भावनाको जग बसेको थियो खासगरी बेलायतको उत्तरी भागमा । विदेशी श्रमिकहरूकै कारण उनीहरू जागिरबाट वञ्चित हुनुपरेको थियो । खास कुरा चाहिँ यो हैन । यो आंशिक सत्यमात्र हो । उनीहरू जागिरबाट वञ्चित भए किनभने उनीहरूले मारग्रेट थ्याचरलाई तीनचोटि सत्तामा ल्याए र उनले देशलाई औद्योगिकीकरणबाट पछि फर्काइन् । गाँठी समस्या त्यो थियो ।
सस्तो श्रमको खाँचोले गर्दा पोल्यान्ड, रोमानिया र युरोपका अन्य भागबाट आप्रवासीहरू बेलायत पसे । बेलायती पुँजीपतिहरू तिनलाई तनखा दिन तयार भएर बसेका थिए । पुँजीवादमा यो परिघटना हुन्छ नै, किनभने स्थानीय जनता युनियनको ढाँचाभन्दा बाहिर रहेर काम गर्न तयार हुँदैनन् । विदेशी श्रमिकहरूप्रतिको आक्रोश पूर्णतः नश्लीय होइन । भन्नुको मतलब, पोल्यान्डबासीहरू गोरा नै हुन्छन्, अझ बेलायतीभन्दा पनि गोरा हुन्छन् । तर, धेरै घटनामा उनीहरू नै मुख्य तारो बनेका थिए । अनि अन्य पूर्वी युरोपेली आप्रवासी र रोमनहरूलाई पनि तारो बनाइएको थियो । यसरी आप्रवासनप्रतिको त्यो भिन्दै किसिमको आक्रोश थियो ।
त्यसपछि आउँछ इस्लामोफोबिया (मुसलमानहरूप्रतिको द्वेष) र मध्यपूर्व (पश्चिम एसिया) का शरणार्थीहरूप्रतिको आक्रोश । यी बसाइसराइहरू बेलायत, संरा अमेरिका र उसका सहयोगी देशहरूले ९÷११ को घटनापछि चलाएका ६ वटा युद्धहरूसँग जोडिएका थिए । यिनै युद्धहरूले गर्दा शरणार्थीहरू आएका थिए । अफगानिस्तानमा के भइरहेको छ, हेरौँ । २० वर्षसम्म कब्जामा राखेपछि अन्त्यमा कब्जामा सघाउने सहयोगी अफगानीहरू अहिले शरणार्थी बने । अहिले पश्चिम बसाइसराइ गर्न खोजिरहेका यी मानिसहरूलाई कसले दोष देला ? पश्चिमाहरूले देशलाई ध्वस्त पार्छन्, त्यसैले उनीहरूले देश छोडे । अमेरिकी कब्जाले सामाजिक पूर्वाधारहरू ध्वस्त पा¥यो र धनीमानी समूहको सेवासुविधा नष्ट ग¥यो । यी मानिसहरू शरणार्थी बन्न चाहन्छन् । त्यसैले समस्या पश्चिमा शक्तिहरूले चलाउने युद्धहरूमा छ । १० लाख सिरियाली शरणार्थीलाई देश भित्र्याउने एन्जेला मार्केलको निर्णय उल्लेखनीय थियो तर त्यो नाटकीय थियो किनभने त्यसले जर्मनीमा फेरि घोर दक्षिणपन्थी पार्टीहरूलाई जन्म दियो । अनि सबै मुकुण्डो उघारियो । युद्ध लड्न बन्द गरे र अन्य देशहरू कब्जा गर्न छोडे समस्या समाधान हुन्छ । कब्जा गरिएका यी देशका मान्छेहरू आफ्नो देशमाथि आक्रमण गर्ने देशहरूमा बाहेक अन्त कता जाने, कहाँ शरण खोज्ने ? यसलाई यसरी भन्न सकिन्छ – पश्चिमाहरू सधैँ एउटा युद्ध गर्ने सुरमा हुन्छन्, यी देशका जनतालाई सरकारले ती युद्धले गर्दा कम्तीमा २० देखि ३० लाख शरणार्थीहरू भित्रिनेछन् भनी बताउनुपर्छ । त्यसैले युद्ध गर्ने देशहरूबीच शरणार्थीहरूलाई भाग लगाउनुपर्छ है भन्नुपर्छ । शक्ति राष्ट्रहरूले यस्तो घोषणा गरेको खण्डमा बल्ल उनीहरूले कति जनसमर्थन जुटाउन सक्दारहेछन् भनी हेर्न सकिनेछ । तर, उनीहरूले कहिल्यै त्यसो गर्नेछैनन् ।
राज्यको हतियारको रूपमा मिडिया
विश्वमा मिडियाको बदलिँदो स्वरूपलाई, खासगरी पश्चिमा मिडियाको दबदबाको सापेक्षमा कसरी विश्लेषण गर्नुहुन्छ ?
जब हामी मिडियाको कुरा गर्छौँ, टेलिभिजन र रेडियो २० औँ शताब्दीका मिडिया थिए । १९ औँ शताब्दीको पत्रकारिता अखबारी पत्रकारिता थियो, पत्रपत्रिकाहरूको बोलवाला थियो । साँच्चै भनेको, धेरै पत्रपत्रिकाहरू बिक्री गर्न पत्रिका मालिकहरूले आफूले सीमित सूचना दिनुपर्ने र टेलिभिजन संस्कृतिका भड्किला कुराहरूको नक्कल गर्नुपर्ने महसुस गरे । भारतमा १९६० र १९७० को दशकमा द टाइम्स अफ इन्डिया राम्रो पत्रिका थियो । त्यसमा योग्य पत्रकारहरू थिए । त्यसको स्वर आलोचनात्मक थियो । त्यो पत्रिका पछि एकदम खस्कियो । यो कुरा जताततै लागू हुन्छ । यस्तो कसरी भयो भन्ने प्रक्रिया बुझ्न आवश्यक छ । दृश्यको उद्यम शक्ति त्यस प्रक्रियाको चुरो थियो । पुरानो पश्चिमा मिडियाको दबदबा र विदेशमा उसको नक्कल गरी निकालिएका पत्रिकाहरू २० औँ शताब्दीका पछिल्ला दुई दशकमा एकदम प्रभावशाली बने ।
तर खासगरी ९/११ को घटनापछि यसलाई अन्य आवाजहरूले चुनौती दिन थाले । पश्चिमा च्यानलहरूले जन्माएका दृश्यहरूको उद्यम शक्तिलाई अल जजीरा र पछि टेलिसुरले चुनौती दिए । यी टेलिभिजन च्यानलहरूले जनताको लागि वैकल्पिक दृश्यहरू पैदा गरे । संरा अमेरिकालाई यो हजम भएन । अल जजीरामाथि अत्यन्त ठूलो दबाब प¥यो । यसमा अर्को कुरा थप्न सकिन्छ । वेब र आफूलाई लागेका कुरा लेख्ने जनताको क्षमता पश्चिमा दबदबाको लागि अर्को चुनौती थियो । ‘जनमत पैदा गर्ने’ युगदेखि हामी विमति राख्ने युगसम्म आएका छौँ । जनमत पैदा गर्ने जत्तिको लोकप्रिय र सफल नभए पनि कम्तीमा यो स्थिति अस्तित्वमा आएको छ ।
प्रायः युद्ध र विद्रोहजस्ता ठूला सङ्कटहरू पर्दा बीबीसी र सीएनएनजस्ता मिडियाहरू हेर्नु व्यर्थ छ । गतिलो विश्लेषण पाउने आसले मानिसहरू आफूले सम्मान गर्ने संस्था वा पत्रिकाका वेबसाइटहरू नियाल्छन् । जनमत पैदा गर्ने कुरा राज्यको आवश्यकतासँग जोडिएको छ र त्यो शक्तिहीनहरूको विपक्षी आन्दोलनविरुद्ध गरिने बल प्रयोगसँग पनि जोडिएको छ । डेली मेलमा काम गर्ने एक दक्षिणपन्थी पत्रकारले बीबीसीमा प्रसारित एउटा रिपोर्ट एकतर्फी र फर्जी भएको बताए । लामो अनुसन्धानपछि बीबीसीले ती पत्रकारको आलोचना सही रहेको र रिपोर्ट अमान्य भएको बतायो । यो दक्षिणपन्थी पत्रकारप्रतिको तिनीहरूको रवैया हो । बीबीसी दुष्प्रचारको माध्यम बनेकोमा दक्षिणपन्थीहरू पनि यसरी र यो हदसम्म लजाउनुपर्ने स्थिति छ । यो कुरा विश्वमा भइरहेको फेरबदलसँग सम्बन्धित छ ।
सोभियत सङ्घ वा क्रान्तिकारी चीनको जमानामा पश्चिमाहरू आफूकहाँ प्रेस स्वतन्त्रता हुनाले आफू शक्तिशाली भएको दाबी गर्थे । त्यसैले छलफल गर्ने र विमति राख्नलाई ठाउँ थियो । शत्रुलाई बढारेपछि तिनीहरूले त्यसो गर्नु परेन । त्यसैले तिनीहरूले कि त झूट बोल्छन्, कि विपक्षी स्वरहरू थोरैमात्र छाप्छन् । यसको राम्रो उदाहरण द गार्जियनमा आएको स्खलन हो । द गार्जियनको अङ्ग्रेजी संस्करणमा छापिने रिपोर्टहरू, लेखरचनाहरू र रिपोर्ट गरिने र नगरिने कुराहरू हेर्दा त्यसको गुणस्तरमा ठूलो ह्रास आएको छ । यो कुरा सबै उदारवादी पत्रिकाहरूमा सर्न सक्छ । यसले अनौठा दृश्यहरू निम्त्याउन सक्छ । जस्तो फक्स टीभीमा राष्ट्रपति ट्रम्पको अन्तर्वार्ता उनका एक मन पर्ने पत्रकारले लिएका थिए । पत्रकारले पुटिनको बारेमा के भन्नुहुन्छ भनी सोध्यो । ट्रम्पले कुरा चपाए । अनि पत्रकारले भन्यो, “उनी हत्यारा हुन् ।” यसको उत्तरमा ट्रम्पले भने, “हत्यारा थरीथरीका हुन्छन् । के तपाईँ हाम्रो देश निर्दोष होला भन्ठान्नुहुन्छ ?” यो उत्तरले उदारवादी अमेरिकालाई झट्का दियो । हे भगवान, उनले हामीलाई रुसीहरूसँग दाँजे !
इराक युद्ध सुरु हुनुभन्दा ठीक अगाडि क्यानडाका एक वृत्तचित्र निर्माताले एउटा अत्यन्त खोजमूलक वृत्तचित्र बनाएका थिए । मिडियाले कसरी युद्धको समाचार दिन्छ भन्ने त्यसले खुलासा गरेको थियो । त्यसमा कतारमा बस्ने पश्चिमा पत्रकारहरूको एउटा फुटेज (श्रव्यदृश्य) थियो । उनीहरू इराकमा बम खसाल्ने विमान उडेको स्थाननजिकै थिए । ठूलो स्क्रीनमा बम खसेको, इराकी सेना ध्वस्त भएको र बगदाद कब्जा भएको समाचार आउँदा यी सबैजसो पत्रकारहरू ज¥याकजुरुक उठे र ताली बजाउन थाले । यो दृश्यले मूलधारे मिडिया कहाँ छ भनी प्रस्ट्याउँछ ।
मूलधारे मिडियाले विश्वभरि प्रायः राज्यको प्रचार अस्त्रको रूपमा काम गर्छ । नोम चोम्स्की र एडवर्ड हेरमनले यथास्थिति कायम गर्न कसरी मूलधारे मिडियाले जनमत पैदा गर्छ भनी छलफल गरेका थिए । मूलधारे मिडियाको यो भूमिकाबारे बोलिदिनुहुन्थ्यो कि ?
तिनीहरूले त्यसो गरेकोमा मलाई अचम्म लाग्दैन । एक दक्षिण एसियाली पत्रकारले मलाई कुनै बेला भनेका थिए, बेलायतीहरूले समाचार सम्प्रेषणमाथिको नियन्त्रण र समाचारको प्रस्तुतिलाई कलामा फेरिदिएका छन् । तेस्रो राइखको बेला जर्मन प्रचारमन्त्री गोयबल्सलाई उनले यो ‘कला’ कहाँबाट सिके भनी सोध्दा उनले प्रथम विश्वयुद्धको क्रममा बेलायती प्रचारमाध्यमले जर्मनहरूलाई दुष्ट, बालबालिकाको मासु खाने र संसारकै घिनलाग्दा जनता भनेर चित्रण गर्नु प्रभावकारी थियो भनेका थिए । उनले हामीले बेलायतीहरूबाट धेरैथोक सिक्यौँ भने । वस्तुपरक बेलायती प्रेस भन्ने विचार त्यही प्रेस र बेलायतीहरूले जन्माएको बिम्ब थियो । अहिले यो बिम्ब के थियो भनी उदाङ्गो भइसकेको छ ।
स्थिति पाइलापाइला गर्दै फेरिएको छ । समाचारको सूचनामात्र होइन । अर्को उदाहरण दिन्छु । बीबीसीका लागि हास्यव्यङ्ग्य टीभी कार्यक्रम मोन्टी पाइथन्स फ्लाइङ सर्कस बनाउने केही युवाहरू मेरा साथी थिए । उनीहरूले भनेअनुसार उनीहरू बीबीसीको हलुका मनोरञ्जन हेर्ने प्रमुखलाई भेट्न गएछन् र हामीसँग एउटा कार्यक्रमको योजना छ भनेछन् । त्यसपछि उनीहरूले कार्यक्रमको दुई तीन झलक देखाएछन् । जोन क्लीजे, टेरी जोन्स र पालिनले अभिनय गरेछन् । अनि त्यो मान्छेले हाँस्दै भनेछ, “खासमा मलाई यो मन परेन, तर यो फिल्म बनाउन मैले पैसा दिन्छु ।” त्यो कार्यक्रमले बीबीसीमा तहल्का पिट्यो । फरक सिर्जनालाई प्रोत्साहन गर्ने कुराले अहिले हावा खाएको छ । स्वच्छन्द निस्किने सबै सिर्जनाहरू हराइसके । यो विश्वव्यापी परिघटना हो । स्वतन्त्र प्रेसबारेका सबै गफले अर्थ गुमाएका छन् । अर्थ यत्ति छ, तपाईँ मेरो अन्तर्वार्ता लिन सक्नुहुन्छ र मैले जानेको उत्तर दिनसक्छु । म अर्कै देशमा हुन्थेँ भने यो कुराकानी हुनसक्दैनथ्यो । तर संस्थागतरूपमा जनमत पैदा गर्नेले अहिले राज्यसत्ताको लागि प्रचारबाजी पैदा गर्दै छ ।
सोसल मिडियाको आगमनसँगै मिडियाको परिभाषा एकाएक फेरिएको छ । सारा सोसल मिडिया कम्पनीहरू अपार डिजिटल डाटा हातमा लिएका अति धनाढ्य बहुराष्ट्रिय कर्पोरेसन बनेका छन् । तिनलाई सिमाना, दर्शक र विषयवस्तुले छेक्न सक्दैनन् । त्यसैले तिनीहरू प्रभावशाली छन् । यसका सम्भावना र चुनौतीहरू के छन् ?
यसलाई असमान र असङ्गतमात्र भन्न सकिन्छ । वास्तवमा यसको सम्भावना धेरै ठूलो छ । तर, यो जता जाँदै छ त्यो निराशाजनक छ । सरकारहरू यसलाई खुम्च्याउन खोज्छन् र वल्र्ड वाइड वेबका संस्थापकहरू र यी नेटवर्कलाई हाम्रा कम्प्युटरहरूमा आउन दिनेहरूले अनेक तरीकाले हस्तक्षेप गर्छन् । फेसबुकमा मैले धेरै सूचनाहरू पाउँछु । त्यसले इजरायली दबाबका कारण हामीले यो कुरा यहाँ राख्न सकेनौँ भन्छ । यसरी कुनै न कुनै रूपमा सेन्सरसिपले सोसल मिडियालाई असर गर्न थालेको छ । यस्तो भएन भने अनौठो हुनेछ । सोसल मिडिया विश्वव्यापी भए पनि यसले सीमाभित्र रहेर काम गर्छ । चीन, पाकिस्तान वा अन्य कुनै देशले यी चीजलाई कसैलाई हेर्न नदिन बन्द गर्नसक्छन् । यीलगायत धेरै देशहरूले यसो गरेका छन् । यसको विश्वव्यापी प्रसारको सीमा छ । तर, धेरैथोरै यो राम्रो कुरा हो । मूलतः यो एउटा साधन हो र यसलाई तपाईँ चाहेअनुसार प्रयोग गर्न सक्नुहुन्छ । म मानिसहरूलाई के सल्लाह दिन्छु भने आफूले यसमा पढेका सबै कुरामा विश्वास नगर्नुस् । ती कुराले तपाईँका राजनीतिक वा अन्य सोचलाई तुष्टि दिन्छन् भने पनि विश्वास नगर्नुस् । त्यसमा देखिने कुराहरू सही छन् कि छैनन् भनी जाँच्न तपाईँ आफ्नो बुद्धि प्रयोग गर्नसक्नुहुन्छ ।
५० वर्षयता म न्यू लेफ्ट रिभ्यू नाउँको पत्रिकामा आबद्ध छु । यो वर्ष अन्ततः हामीले साइडकार नामक हाम्रो ब्लग बनाउने निर्णय गरेका छौँ । न्यू लेफ्ट रिभ्यूको अर्को अङ्कको लागि जेजस्ता लेखले दुई महिना पर्खिन सक्दैनन्, तिनलाई यो ब्लगमा छाप्ने हामीले तय गरेका छौँ । यो निर्णयले बौद्धिक जगतमा ठुलो प्रभाव पारेको छ । विश्वका विभिन्न देशका युवाहरू नाटकीयरूपमा हामीकहाँ आएर हामीले पनि तपाईँको ब्लगमा यो वा त्यो लेख्न पाइन्छ कि भनी सोध्दै छन् । यस्तो किन भयो भने उनीहरू यो नयाँ क्षेत्रलाई चिन्छन् । अर्को असर के हो भने यसले खबर कागजलाई पुनःजीवन दियो । त्यसैले आज हामीसँग धेरै युवाहरू छन् र उनीहरूलाई साइडकारमा न्यू लेफ्ट रिभ्यूले लेख्ने र पढ्ने काम गर्छ भन्ने थाहा छैन ।
म भन्छु, वेबको बारेमा एकमत छैन । मेरो विचारमा सोसल मिडिया सम्भव बनाउने प्राविधिक क्रान्तिले सञ्चारको क्षेत्रमा ठुलो रूपान्तरण ल्याएको छ । हामीले याद राख्नुपर्छ यो क्रान्ति संरा अमेरिकाबाट आएको हो, युरोप वा चीनबाट होइन । एक दिन मेरो साढे पाँच वर्षे नाति मलाई भेट्न आयो । म अध्ययन कक्षमा थिएँ । उसले मेरो टेबलमा राखेको पुरानो मेसिन हे¥यो र यो के हो भनी सोध्यो । मैले यो टाइपराइटर हो भनेँ । अनि उसले यसले के गर्नुहुन्छ भनी सोध्यो । अनि मैले उसको नाम टाइप गरेँ र तिम्रो नाम पुरानो जमानामा यसरी लेख्नुपथ्र्यो भनेँ । ऊ कम्प्युटरभन्दा पहिले भन्दै दंगदास प¥यो । उसले भन्यो – तपाईँले जिस्काउनुभएको ? कुनै बेला कम्प्युटर भन्ने चीज थिएन भन्दा उसले विश्वासै गर्न सकेन । त्यसैले यो प्राविधिक प्रगतिले क्रान्ति ल्याएको छ ।
वल्र्ड वाइड वेबको जन्म पुँजीवादमा प्राविधिक क्रान्ति थियो । १९६० र १९७० को दशकमा माक्र्सवादी अर्थशास्त्री अर्नेष्ट मन्डेलले प्रविधिको आविष्कार हुँदा बित्तिकै एक देशको उद्योगमा काम गर्ने श्रमिकले उही देशका अन्य उद्योगहरूमा काम गर्ने कामदारहरूसँग वा त्यही खालको उद्योगमा काम गर्ने तेस्रो देशको श्रमिकसँग सम्पर्क राख्न सक्नेछ भनी तर्क गरेका थिए । उनी सही सावित भएका छन् । हामीले आलोचनात्मक दृष्टिकोण नराख्दासम्म आफै एजेन्डा जन्माउन सक्ने सोसल मिडियाको क्षमतालाई कम आँक्न सकिन्न ।
अनुवाद : संयम

Leave a Reply

Your email address will not be published. Required fields are marked *