नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
दालमा जिरा र मेथी फुराएर खाने नेपालीको बानी छ । मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । धेरैजसोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौँ ।
तर, गुणहरू थाहा पाइयो भने त सायद मेथीलाई भोजनको एक अभिन्न अङ्ग नै बनाउँछौँ होला ।
हामी सानो छँदा पेट दुख्दा वा पखाला लाग्दा बज्यैले मेथी जाउलो पकाएर दिनुहुन्थ्यो । एक मुठी चामल, दुई मुठी दाल कसौंडीमा पकाएपछि पाक्ने बेला मेथी र लसुनलाई घिउमा फुराएर जाउलोमा हाल्नुहुन्थ्यो र केही छिन छोपेर अलिकता गाईको घिउ हालेर पस्किनुहुन्थ्यो । त्यो मेथी जाउलोले पेट निको गथ्र्याे । त्यति बेलाको मेथी जाउलोको स्वाद अझै राम्रोसँग याद छ । बज्यैलाई मेथी फुराएर खाँदा पेट दुखेको बेला कसरी मद्दत पुग्छ भन्ने वैज्ञानिक तथ्य सायद थाहा थिएन । तर, उहाँले थाहा पाएको रैथाने ज्ञानले नै हामीलाई ठीक पार्नुहुन्थ्यो ।
मेथीमा धेरै प्रकारका गुण हुन्छन् भन्ने त अहिले सिद्ध भइसकेको छ । मेथीमा रहेको रेशादार पदार्थले कब्जियत घटाउन मद्दत गर्छ । चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । औषधि छोडेर मेथी सेवन गरेरमात्रै चिनी रोग कमचाहिँ हुँदैन भनेर हेक्का भने राख्नुपर्छ । सुत्केरी आमालाई मेथीको दानाको खिर बनाएर दिने चलन पनि छ । कतिपय चाहिँ मेथीको खिर पनि कसरी खाने होला र, तीतो पो हुन्छ भन्ठान्छन् । तर मेथीलाई भिजाई त्यसको पानी निचोरेर दूधमा पकाएर खाँदा त्यसको तीतोपन धेरै कम हुन्छ र फेरि बानी लागिसकेपछि त त्यही तीतोपन नै मिठोपनमा बदलिन्छ ।
मेथी सेवनबाट सुत्केरी आमाको स्तनबाट दूध बढी आउँछ । गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्न अनेक किसिमको महँगो र बाहिरी खानेकुरा किन्नै पर्दैन, घरमै भएका खानेकुराले महिला स्वस्थ रहन सकिन्छ । तीमध्ये मेथीको प्रयोग पनि गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्ने एक तरिका हो । गर्भवती महिलालाई कब्जियत हुनु साधारण समस्या हो । बाहिरका अनेकथरी औषधि किनेर कब्जियत हटाउनुको सट्टा भिजाएर टुसा उमारेको मेथीको सलाद बनाएर खानुपर्छ । मेथीमा रहेको लौह तत्वले रगत बढाउन पनि मद्दत गर्छ । सलादमा कागती हालेपछि मेथीमा रहेको लौह तत्व राम्रोसँग शोषण हुन्छ ।
भिटामिन एले भरिएको मेथीको साग बालबालिकालाई दिंँदा उनीहरूको आँखा र छाला राम्रो हुनुका साथै रोगसँग लड्ने शक्ति पनि त बढ्छ भन्ने कुरा आमा र बाबाले याद गरे हुन्छ । मेथीको सागलाई मसिनो पारी पिठो मुछ्दै हालेर पराठा पकाउन सकिन्छ । स्कूल जाने नानीलाई बिस्कुट, चाउचाउजस्ता अस्वस्थकर खाजाको सट्टा यस्तो साग मिलाएर बनाएको रोटी र तरकारी दिँदा बढी फाइदा हुन्छ ।
स्रोत : लेखकको फेसबुक
Leave a Reply